
१३ असार, काठमाडौं । चीनका एक करोडपति व्यापारी विश्वविद्यालयले भर्नाका लागि लिने प्रवेश परीक्षामा २७औं पटक फेल भएका छन् ।
५६ वर्षका लियाङ शीले ७५० मा ४२४ अंक मात्र प्राप्त गरे । चीनको कुनै पनि विश्वविद्यालयमा भर्ना हुनका लागि न्युनतम ४५८ अंक ल्याउनु पर्छ ।
यो वर्ष चिनियाँ विश्वविद्यालयमा भर्नाका लागि १ करोड ३० लाख विद्यार्थी सहभागी थिए । जसमध्ये एक रहेका लियाङको असफलताको कहानी स्थानीय सञ्चार माध्यममा प्रकाशित छ ।
उनले सन् १९८३ देखि प्रवेश परीक्षा दिँदै आएका छन् । यो पटक पनि असफल भएपछि निराश भएका उनले विश्वविद्यालयमा अध्ययन गर्ने सपना पूरा नभएकोमा दुख व्यक्त गरे । सिचुअनमा लियाङले तियानमू न्यूजसँग भने, ‘मलाई लाग्थ्यो कि म गर्न सक्छु, तर अब म टुटेको छु ।’
उनले एउटा प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने र बुद्धिजीवी बन्ने सपना देखेका थिए ।
चीनमा विश्वविद्यालयमा लिइने प्रवेश परीक्षालाई कठिन मानिन्छ । सन् २०२१ मा लिइएको परीक्षामा ४१.६ प्रतिशत मात्र उत्तीर्ण भएका थिए ।
आफूले काम गर्दै आएको कम्पनी टाट पल्टेपछि २३ वर्षको उमेरमा उनले सन् १९९० मा दाउराको कारोबार सुरु गरेका थिए ।
त्यसबाट १० लाख युआन कमाएका उनले निर्माण सामग्रीको व्यापार सुरु गरेका थिए ।
प्रतिक्रिया 4