१४ असार, काठमाडौं । भारतमा भइरहेको साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।
दक्षिण एसियन पावर हाउस र सर्वाधिक ८ पटकको साफ विजेता भारतसहित आमन्त्रित दुई टिम लेनबान र कुवेतले अपेक्षा अनुसार नै सेमिफाइनलमा स्थान बनाए । ८ टोली सहभागी च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने चौथो टिम बंगलादेश बन्यो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो क्षेत्रको फुटबललाई अझ प्रतिस्पर्धात्मक बनाउन यसपटक साफ बाहिरका दुई टिम बोलाउने निर्णय गरेको थियो ।
जस अनुसार लेबनान र कुवेत आमन्त्रित टिमको रुपमा साफ खेल्न आए । विगतका प्रदर्शन र फिफा वरीयताका आधारमा लेबनान र कुवेतलाई सेमिफाइनलको दाबेदार मानिएको थियो ।
त्यसलाई उनीहरुले प्रमाणित गरे । कुवेत समूह ए को विजेता र लेबनान समूह बी को विजेताको रुपमा सेमिफाइनल पुग्यो ।
लेबनान त समूहको तीनवटै खेल जित्ने एक मात्र टिम बन्यो । लेवनानले बंगलादेशलाई २-० ले, भुटानलाई ४-१ र माल्दिभ्सलाई १-० ले हरायो । भुटानका चेन्चो ग्याल्त्सेन लेबनानलाई गोल गर्ने एक्लो खेलाडी बने ।
समूह ए मा कुवेत र भारतले समान ७ अंक जोड्दा गोलअन्तरमा कुवेत समूह विजेता बन्यो । दुवैले नेपाल र पाकिस्तानलाई हराएका थिए भने एकआपसमा १-१ को बराबरी खेले । भारत समूह उपविजेता बनेर सेमिफाइनल पुग्यो ।
भारतले अब सेमिफाइनलमै लेबनानसँग खेल्नुपर्नेछ । त्यो पनि भारतले तीन साता भित्र तेस्रो पटक लेबनानसँग खेल्न लागेको हो ।
साफअघि इन्टरकन्टिनेन्टल कपको फाइनलमा भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो । त्यसअघि लिग चरणमा यी दुईले बराबरी खेलेका थिए ।
पछिल्लो समय बंगलादेशको फुटबल राम्रो नभए पनि पुरुष टिमले १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनायो । अब फाइनल प्रवेशका लागि बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
साविकको उपविजेता नेपालसहित माल्दिभ्स, भुटान र पाकिस्तान समूह चरणबाटै घर फर्केका छन् ।
माल्दिभ्स र नेपालले एक-एक खेल जिते । संयोगवश दुवैको प्रशिक्षक इटालियन थिए । घरेलु प्रशिक्षक रहेका पाकिस्तान र भुटानले भने जितबिहीन रहे । दुवलै समान ९ गोल खाए भुटानले दुई गोल फर्कायो भने पाकिस्तानले गोल समेत गर्न सकेन ।
आमन्त्रित टिमविरुद्ध दक्षिण एसियाली टिमको प्रदर्शन
यसपटक साफको पहिलो खेल नै नेपाल र कुवेतबीच भयो । फुटबलको इतिहासमा कुवेतलाई नेपालले हराउन सकेको छैन । साफमा पनि त्यसले निरन्तरता पायो । नेपालले एक गोल गरे पनि ३-१ ले पराजित भयो । कुवेतले त्यसपछि पाकिस्तानलाई ४-० ले हरायो ।
समूहको अन्तिम खेलमा भारत विरुद्ध एक गोलले पछि परेको अवस्थामा आत्मघाती गोलको सहयोगमा कुवेतले इन्जुरी टाइममा खेल बराबरी गरेको थियो ।
साफ खेल्ने मध्ये वरियतामा सबैभन्दा अघि रहेको लेबनान (९९औं) ले पहिलो खेलमै बंगलादेशलाई २-० ले हरायो । त्यसपछि भुटान विरुद्ध ४-१ को सहज जित निकालेको लेबनानले अन्तिम खेलमा माल्दिभ्सलाई हराएर शतप्रतिशत नतिजा निकाल्यो ।
कुवेतसँग भारतले बराबरी खेल्नुबाहेक आमन्त्रित टिमसँग साफ क्षेत्रका सबै टिम पराजित भए ।
आमन्त्रित टिमलाई साफका कुनै पनि टिमले हराउन सकेनन् ।
सुनिल क्षेत्रीको गोलमा पहिलो हाफमा अग्रता लिँदै भारत जित नजिक पनि पुगेको थियो । तर इन्जुरी टाइममा आफ्नै गल्तीले गोल खाँदा जितबाट चुक्यो ।
कुवेतले तीन खेलमा ८ गोल गर्दा २ गोल बेहोर्यो । लेबनानले भने ७ गोल गर्दा १ गोल मात्र खायो ।
स्तर वृद्धिमा सहयोग
आन्त्रित दुवै टिम सेमिफाइनल पुग्दा साफ क्षेत्रका दुई टिमले अवसर गुमाए । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले साफ क्षेत्रको टिम समूह चरणबाट बाहिरिए पनि धेरै सिक्ने अवसर भएको बताए ।
‘साफमा जुन किसिमले प्रतिस्पर्धा भयो त्यसमा दुवै आमन्त्रित टिम सेमिफाइनल पुगे । उनीहरु नआएको भए नेपाल पनि फाइनलकै दाबेदार टिम थियो । तर कठिन समूहमा परे पनि नेपालले राम्रो खेल्यो’, राईले थपे, ‘समूह चरणबाटै बाहिरिए पनि यसबाट सिक्न सकिने कुराहरु धेरै छन् । साफ क्षेत्रको टिमको स्तर वृद्धिका लागि यसले सिकाउँछ ।’
दक्षिण एसियाली क्षेत्रका टिमको फुटबल सुधार्नका लागि नै लेबनान र कुवेतलाई बोलाएको राईले बताए । ‘साफको त्यो बैठकमा म पनि सहभागी थिएँ । हामीले साफको बैठकबाटै टिम थपेर अझ प्रतिस्पर्धात्मक बनाउनुपर्यो भनेर यो निर्णय गरेका थियौँ । स्वभाविक रुपमा भारतको अझ बढी जोड थियो ।’
साफ क्षेत्रमै पनि भारतको स्तर अन्य टिमको भन्दा केही माथि छ । त्यसैले बलिया टिम बोलाउन उसले नै जोड दिएको थियो ।
भारतले एसियन कपको लागि तयारी गर्न इन्टरकन्टिनेन्टल कपमा पनि लेबनालाई बोलाएर खेल्यो । साफमा पनि लेबनान र कुवेतसँग खेल्दा अझ राम्रो तयारी भएकाले भारतलाई यो प्रतियोगिताबाट धेरै फाइदा पुगेको छ ।
अन्य टिमलाई आमन्त्रित टिमसँग खेल्दा आफ्नो स्तर कहाँ रहेछ भन्ने थाहा भयो ।
‘यस पटक फाइनल नपुगे पनि हामीले भारत र कुवेतसँग राम्रो खेल्यौं । कुवेतसँग दोस्रो हाफमा डोमिनेट गरेर खेल्यौं । हामीले खाएको गोल पनि आफ्नै गल्तीले खाएका छौं,’ एन्फा महासचिव राईले भने, ‘त्यसैले हामीलाई यतिले मात्र पुग्दैन । हामीले अब हाम्रो स्तर विकास गर्नुपर्छ । खेल्ने मानसिकतामा परिवर्तन गर्नुपर्छ ।’
राईले नेपाल लगायत टिमले साफ क्षेत्रमै अरु टिमलाई टक्कर दिन अब आफ्नो सोचाइमा परिवर्तन गरेर योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
साफ खेल्ने अन्य टिम आउँदा चुनौती सँगै अवसर पनि हुने राईले बताए । ‘अहिले लेबनान र कुवेत आए । पछि अरु टिम पनि आउन सक्छन् । आमन्त्रित टिम हुँदा हामी जस्तो टिमलाई चुनौती त थपिन्छ नै राम्रो प्रदर्शन गर्नका लागि पनि मोटिभेट गर्ने काम गर्छ, ’ राईले थपे, ‘कुवेतसँगको खेलपछि हामीले पनि ठूला टिमसँग खेल्न सक्छौं भन्ने देखायो ।’
नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि कुवेतसँग सुरुमा खेल्दा नेपाली खेलाडी डराए जस्तो भएको, तर खेलपछि नेपाल कोहीसँग खेल्न डराउनु नपर्ने बनेको बताएका थिए ।
‘धेरै समर्थकले रिजल्टलाई ध्यान दिन्छन् । साफ जित्दैमा नेपालको फुटबल विकास हुँदैन । नेपाली फुटबलमा धेरै क्षमता र व्यक्तिगत क्षमता पनि छ । उनीहरुले विदेशमा गएर लिग खेर्ल्नु आवश्यक छ । ए डिभिजन लिग लामो समयको हुनुपर्छ । धेरै एकेडेमीहरु हुनुपर्छ । मुख्य कुरा फुटबलमा लगानी हुनुपर्छ । प्रायोजकहरु चाहिन्छ ।’
साफ खेलेर नेपाल फर्केका एनेसले अक्टोबरमा हुने विश्वकप छनोटको प्रारम्भिक चरणको प्लेअफको तयारी थाल्ने छन् । त्यसअघि फिफा विन्डोमा मैत्रीपूर्ण खेल खेलाउने योजना रहेको उनले बताएका छन् ।
प्रतिक्रिया 4