+
+

बार र बेञ्चको तहमा पुग्यो कर्मचारी कुटपिटको घटना

अमृत चिमरिया अमृत चिमरिया
२०८० असार १७ गते १९:५४
कुटपिटमा परेकी प्रेमिका तामाङ र उनको घाउचोट ।

१७ असार, काठमाडौं । चार दिनअघि जिल्ला अदालत ललितपुरमा कर्मचारी र कानुन व्यवसायीबीच कुटपिटको घटना बार र बेञ्च तहसम्म पुगेको छ । एक अर्कामाथि आरोप लगाएका उनीहरुले आ–आफ्नो तहबाट विरोधका कार्यक्रम चर्काउन थालेका छन् ।

अदालतका कर्मचारी ट्रेड युनियनहरुले आइतबार १ बजेसम्म कलम बन्द गरेर कतिपय अदालतमा मुद्दाको सुनुवाइ नै प्रभावित पारेका छन् । त्यसको प्रतिक्रियामा कानुन व्यवसायीहरुले आइतबार नै १ बजेपछि अदालतमा बहस पैरवी गरेनन् ।

कर्मचारीहरुले कारबाही रोक्न नहुने माग राखेका छन् भने बारले कर्मचारी कुटपिटको आरोपमा पक्राउ परेका लामिछानेलाई विना शर्त छाड्नुपर्ने माग राखेको छ ।

नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले सोमबार देशव्यापी विरोध गर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको छ ।

गत बुधबार जिल्ला अदालत ललितपुरमा नायब सुब्बा प्रेमिका तामाङलाई काम गरिरहेका बेला कानुन व्यवसायी अमिर लामिछानेले कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

कानुन व्यवसायीहरुले भने लामिछानेले मुद्दामा भएको आदेश हेर्न खोज्दा नासु तामाङले घुस मागेको र इन्कार गरेपछि आक्रामक भएर जथाभावी बोलेको र हातपात गर्न थालेपछि लामिछानेले पनि मुक्का हानेको दाबी गरेका छन् ।

घटनाको यथार्थ विवरण पत्ता लगाउन भरपर्दो मानिएको सीसीटीभीले काम नगरेकाले रेकर्ड भेटिएको छैन ।

कुटपिटको विवाद चर्किदै गएपछि सर्वोच्च अदालतबाट कर्मचारी नै खटाएर विवाद समाधानको प्रयास समेत भएको थियो, तर दुवै पक्ष लचिलो भएनन् ।

कुटपिटको घटनापछि अदालतकै कर्मचारीको जाहेरीमा कानुन व्यवसायी लामिछानेमाथि अदालतको अवहेलना मुद्दा अघि बढेको छ । प्रहरीले कानुन व्यवसायी अमिर लामिछानेलाई पक्राउ गरेको छ । त्यसको प्रतिवादमा कानुन व्यवसायीहरुले पनि जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी पेश गरेका छन्, तर प्रहरीले जाहेरी लिएको छैन ।

घटनापछि देशभरका न्यायालयका कर्मचारी आन्दोलनमा छन् । त्यसलगत्तै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले पनि आन्दोलनको घोषणा गरेको हो । सर्वोच्च अदालतका चार ठूला कर्मचारी संगठनको आह्वानमा भएको आन्दोलनका कारण शुक्रबार र आइतबार सेवा प्रभावित भयो । कर्मचारीहरुले साढे १ बजेसम्म मात्रै आन्दोलन घोषणा गरे पनि त्यसपछि बार एशोसिएसनहरुले इजलास बहिष्कार गर्दा सेवा ठप्प भएको हो ।

ललितपुर बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायी अमिर लामिछानेलाई एकतर्फी रुपमा दोषी देखाई अभद्र व्यवहारको कारबाही अघि बढाइएको आरोप लगाएको छ । उसले लामिछानेलाई विना शर्त रिहाइको माग गर्दै जिल्ला अदालतमा इजलास बहिष्कारको घोषणा गर्‍यो ।

नेपाल बार एसोसिएसनले आइतबार आकस्मिक बैठक गरी देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको छ । उसले लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग राखेको छ । बारले लामिछानेलाई तत्काल रिहा गर्न, सीसीटीभी फुटेज सार्वजनिक गर्न, लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ ।

सीसीटीभी फुटेज छैन, जाहेरी दर्ता भएन

बारभन्दा पहिले आन्दोलित भएका कर्मचारीका संघसंगठनले बारलाई घटनामा हस्तक्षेप नगर्न चेतावनी सहित विज्ञप्ति निकालेका थिए । कर्मचारी संगठनहरुले कार्यकक्षमा रहेकी कर्मचारीमाथि कानुन व्यवसायीहरुबाट आक्रमण भएको दाबी गरेका छन् ।

सर्वोच्चका कर्मचारी युनियनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न वारेसलाई हिरासतमा लिई अनुसन्धान गर्न म्याद थप समेत भइसकेको र ललितपुर जिल्ला अदालतमा अवहेलनामा कारवाहीसमेत अगाडि बढिसकेको हुँदा यसमा कसैबाट हस्तक्षेप र अवरुद्ध गर्ने प्रयास भएमा सशक्त आन्दोलनका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं ।’

नेपाल बार एसोसिएसनले कर्मचारी तामाङले घुस मागेकाले लामिछानेले त्यसको प्रतिवादका क्रममा घटना भएको दाबी गरेको छ । तर उसले कुटपिट भयो कि भएन भन्ने खुलाएको छैन । बरु कानुन व्यवसायीलाई झुटो आरोप लगाइएको दाबी गरेको छ । बारको विज्ञप्तिमा कर्मचारी नै आवेगमा आएर कानुन व्यवसायीमाथि हातपात गरेको उल्लेख छ ।

बार एशोसिएसनले जिल्ला अदालत ललितपुरमा भएको घटनाको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको छ । तर जिल्ला अदालतले घटनास्थलमा रहेको सीसीटीभीले काम नगरेकाले फुटेज पनि नरहेको दावी गरेको छ ।

‘सीसीटीभी बिग्रेको अवस्था रहेको छ, हामीले मर्मत गर्न भनेका छौं । अब बिग्रेको फुटेज ल्याउन सम्भव पनि नहोला’, उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले भने, ‘घरभित्रको झगडा मिलाउने पक्षमा थियौं तर व्यक्तिगत घटनाले संस्थागत लडाईँको रुपमा लिएपछि मिलाउन कठिनाइ भइरहेको छ ।’

अर्कोतर्फ घटनाको विरोधमा नेपाल बार एसोसिएसन र उसको जिल्ला समिति समेत कर्मचारी प्रेमिका तामाङ विरुद्ध जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेको थियो । तर प्रहरीले जाहेरी दर्ता नगरी त्यसबारे सरकारी वकिलको राय मागेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एवं एसएसपी सिद्धिविक्रम शाहले भने, ‘उहाँहरु जाहेरी लिएर आउनुभएको हो तर प्रेमिका तामाङको जाहेरीमाथि अनुसन्धान गरेर प्रतिवेदन तयार भइसकेको अवस्थामा फेरि त्यसको विपक्षमा अभद्र व्यवहारको विषयमा जाहेरी लिने कि नलिने भन्ने विषयमा अन्याेल सिर्जना भएर हामीले जाहेरी दर्ता गरेनौं ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?