+
+

मुग्लिनको पहिरोले काठमाडौंमा त्रास

तरकारी र खाद्यान्न आपूर्तिमा पर्न सक्छ असर

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार १७ गते २१:३५

१७ असार, काठमाडौं । पहिरो खसेका कारण शनिबार राति अवरुद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि मात्र सञ्चालनमा आयो ।

एक सातायता यो सडक लगातारजसो अवरुद्ध हुने र पुनः सञ्चालनम आउने भइरहेको छ । जसले गर्दा तराइ मधेश र भारतबाट ल्याइएको खाद्यान्न, तरकारी र पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा अवरोध सिर्जना भइरहेको छ ।

बजारमा अभाव नै हुनेगरी आपूर्ति शृंखला नबिग्रिए पनि काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढ्न सुरु भइसकेको छ । सम्भावित जोखिमलाई कम गर्न भन्दै खाद्यनन्न र पेट्रोलियम पदार्थको आपूर्तिमा समेत सजगता अपनाउन थालिएको जानकारहरुले बताएका छन् ।

घट्यो तरकारीको आयात

कालीमाटी तरकारी तथा फलफूल विकास समितिकाअनुसार काठमडाौंमा दैनिक ५ देखि ६ लाख किलो तरकारी भित्रिने गरेको छ । तर १४ असारदेखि आवागमनमा केही समस्या छ ।

१३ गते असारमा ५ लाख ८२ हजार किलो तरकारी भित्रिएकामा १४ गते ३ लाख ९० हजार किलो, १५ गते ३ लाख ४४ हजार किलो र १६ गते ५ लाख २९ हजार किलो भित्रिएको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । १७ गते बिहानसम्म बजारमा जम्मा एक लाख ९९ हजार तरकारी भित्रिएको छ । वर्षा र पहिरोका कारण हरियो तरकारी र आलु प्याज बजारमा केही कम देखिएको श्रेष्ठले बताए । ‘काठमाडौं वरपर फलेको तरकारी पनि राम्रोसंग बजार आउन सकेका छैनन् । मुग्लिनपारीको त समस्या भएकै छ’,  उनले भने, ‘आपूर्तिमा समस्या आएसंगै बजारमा थोरै मूल्य वृद्धि देखिएको छ ।’

इन्धन ट्यांकर रि–रुट

पहिरोका कारण हरेक दिनजसो सडक अबरुद्ध हुन थालेपछि नेपाल आयल निगमले काठमाडौं केन्द्रित वितरण प्रभावित हुन नदिन पहल थालेको छ । निगमको बागमती प्रादेशिक कार्यालय थानकोटका अनुसार इन्धन भरेको ट्यांकरहरु बाटोमा फसेपछि विकल्पमा काम थालिएको छ ।

हाललाई डिजेल, पेट्रोल र हवाइ इन्धनको मौज्दात ९ देखि ११ दिनलाई पुग्ने मात्रामा भए पनि आपूर्ति व्यवस्था खलबलिन नदिन खाली ट्यांकर रि–रुट गरिएको छ ।

थानकोट प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालका अनुसार कार्यलय र मातहतका पम्पहरुमा अहिले पनि पर्याप्त मात्रामा इन्धन छ । तर, पहिरो अनिश्चित भएका कारण खाली ट्यांकरहरु त्रिभुवन राजपथ भएर हेटौंडा हुँदै अमलेखगञ्ज पठाउन थालिएको उनले बताए ।

उपत्यकामा दैनिक ७ देखि ८ लाख लिटर पेट्रोल र ८ देखि ९ लाख लिटर डिजेलको खपत हुने गरेको र अहिले निगमसंग १० दिनलाई पुग्ने मौज्दात रहेको भुसालले बताए ।

‘पहिरोका कारण बाटोमा अवरोध सुरु भएको छ, तर हामीले पर्याप्त मात्रामा मौज्दात र नियमित आपूर्तिका लागि काम गरिरहेका छौं,’ भुसालले भने, ‘राजधानीमा मागेजति इन्धन आपुर्तिका लागि निगम तयार अवस्थामा छ ।’

पहिरोका कारण खाद्य वस्तुको आपूर्तिमा असर नदेखिएको होलसेल व्यापारीहरु बताउँछन् ।

होलसेल व्यापारीहरुको संस्था नेपाल खाद्य किराना व्यवसायी संघका अनुसार बितेको एक साता बाटो अवरोधका घटनाका कारण मूल्य र आपूर्तिमा असर देखिएको छैन । तर, सम्भावित असरलाई मध्यनजर गर्दै खाद्यन्नको आपूर्तिमा सजगता अपनाउन थालिएको संघका महासचिव ओमप्रकाश बंशलले बताए । उनी भन्छन्, ‘तर, दैनिक जसो पहिरोले बाटो अबरुद्ध भइरहे यसबाट बजार प्रभावित बन्न सक्छ ।’ सम्भावित असर न्युनीकरणका लागि सानो गाडीमा वैकल्पिक बाटोबाट खाद्यान्नको आपूर्ति थालिएको, सडक खुलेको बेला प्राथमिकताका साथ खाद्यान्न ढुवानी बढाइएको उनले बताए ।

पहिरोका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने असर कम गर्न पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयकी सहसचिव एवं प्रवक्ता राधिका अर्यालका अनुसार मनसुन र यसका कारण हुनसक्ने पहिरोका कारण अहिलेसम्म आपूर्ति शृंखलामा समस्या परेको छैन ।

देशभरबाट आपूर्ति शृखंलाबारे नियमित सूचना संकलन गरिरहेको अर्यालले बताइन् । सम्भावित जोखिमलाई न्यूनिकरण गर्न लागि भन्दै मन्त्रालयले इन्धन र खाद्यन्नको पर्यप्त मौज्दातका लागि मातहतका कार्यालयलाई निर्देशन दिइएको अर्यालले बताइन् ।

‘अहिलेसम्म गरिएको मनिटरिङमा समस्या देखिएको रिपोर्टिङ भएको छैन’, अर्यालले भनिन् ‘इन्धन र खाद्यान्न मौज्दातका लागि निगम र खाद्य व्यवस्था कम्पनीलाई निर्देशन दिइसकेका छौं ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?