
१८ असार, विराटनगर । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाएका छन् ।
सोमबार दोस्रो पटक साम्पाङले नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन् ।
धरान इटहरीबीचको सीमा विवाद नयाँ भने होइन । यसअघि १० वैशाखमा पानीपियामा धरानले लगाएको बोर्ड युवा संघ इटहरीले हटाएको थियो । त्यसपछि साम्य भएको विवाद सोमबार धरानका मेयरले बोर्ड राखेपछि पुन: सुरु भएको हो । दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । तर नयाँ जनप्रतिनिधि आएपछि दुई पालिकाबीचको सीमा विवाद सुरु भएको हो ।
इटहरी र धरानबीचमा चारकोसे जंगल र पानीको स्रोत छ । धरानले बोर्ड राखेको स्थान चारकोसे झाडी प्रारम्भ भएको क्षेत्र हो ।
२०१० साल भन्दा अगाडिदेखि इटहरी– धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ । यसअघि धरानले बोर्ड राखेपछि पौडेलले सीमा निर्धारण गर्दा ऐतिहासिक तथ्यलाई ख्याल गर्नुपर्ने बताएका थिए ।
सोमबार धरानले राखेको बोर्ड मेयरको निर्देशनमा हटाइएको इटहरीका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले बताए ।
पानीपियामा बJर्ड राख्नु अघि इलाका प्रहरी कार्यालय इटहरी र धरानले सेउती खोलाको वारिपारि राखेको सीमा प्रारम्भको बोर्ड पनि साम्पाङले नगरप्रहरी लगाएर हटाएका थिए ।
धरानले बोर्ड राखेको क्षेत्र इटहरी उपमहानगरपालिकाको २० नम्बर वडामा पर्छ । पानीपिया भन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध भएको दाबी गर्दै आएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले धरानका मेयरले आफूखुसी बोर्ड राखेको बताए । विवाद सामधानका लागि वार्ताका लागि पत्र पठाएपनि कुनै जवाफ नआएको उनले बताए ।
‘वैशाखमा बोर्ड राखेपछि हामीले हटाएर वार्ताका लागि पत्र पठायौं, उहाँले कुनै जवाफ पर्काउनु भएन, फोन गर्दा उठाउनु हुन्न’, उनले भने, ‘आज फेरि बोर्ड राखेपछि नगरले निर्णय गरेर हटायौं ।’
प्रतिक्रिया 4