
१८ असार, काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणमा पूर्व निर्वाचन आयुक्त समेत रहेका सुधीरकुमार शाह एउटा यस्तो पात्र हुन्, सारा मिसिल र निर्णयहरू पल्टाउँदा पनि उनको नाम भेटिंदैन । २०४९ सालमा सरकारको नाममा रहेको जग्गा राणा परिवारको नाममा दर्ता हुँदा उनी मालपोत कार्यालय, भक्तपुरका प्रमुख थिए ।
ललितानिवासको जग्गा लेखापढी गर्ने डिल्लीबजार मालपोत कार्यालयसँग उनको कुनै साइनो थिएन । तर जग्गा फिर्ता गराउने दौडधुप र पर्दापछाडिका चलखेलमा उनी निकै सक्रिय रहेको त्यतिबेलाका जानकारहरू बताउँछन् ।
ललितानिवासको जग्गासँग सम्बन्धित केही राणा परिवारका नातेदार पर्ने उनले भक्तपुरमा बसेर डिल्लीबजार मालपोत कार्यालयबाट कामतमाम गर्न भूमिका खेलेका थिए । डिल्लीबजार मालपोत कार्यालयले २५ कात्तिक र २३ पुस २०४९ सालमा ११२ रोपनी ४ आना सरकारी जग्गा राणा परिवारको नाममा दर्ता गरेको थियो ।
दुई चरणमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका राणा परिवारले निर्णय भएलगत्तै संलग्न कर्मचारी र बिचौलियाको परिवारलाई जग्गा बाँडेको देखिन्छ । १ मंसीर २०४९ मा उर्मिला शाह र भुवनकुमार चापागाईंले संयुक्त रूपमा ६४ आना जग्गा लिए । २९ जेठ २०५० मा २६ आना जग्गा उर्मिला शाह र सोदाकुमारी चापागाईले संयुक्त रूपमा थप जग्गा पाए । उर्मिला सुधीरकुमार शाहकी पत्नी हुन् ।
बालुवाटारको जग्गा राणा परिवारको नाममा फिर्ता दिने काममा सुधीरकुमार शाहको साथमा योजना आयोगका शाखा अधिकृत गेहनाथ भण्डारी पनि संलग्न थिए । उर्मिला शाहसँग संयुक्त रूपमा जग्गा लिएकी भुवनकुमारी गेहनाथकी पत्नी हुन् भने सोदाकुमारी सासू । गेहनाथले पत्नी र सासूको नाममा जग्गा राखेका थिए ।
उर्मिला शाहले अख्तियारमा बयानमा भनेकी थिइन्, ‘मैले जग्गा खरिद गर्दा मेरो श्रीमान् सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत पदमा हुनुहुन्थ्यो । उक्त जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो ।’ अहिले ७५ वर्षमा पुगेकी सोदाकुमारी चापागाईले छोरी र ज्वाईंले भने अनुसार कागजातमा आफूले हस्ताक्षर गरेको बाँकी केही थाहा नभएको बयान दिएकी थिइन् ।
पर्खाल भत्काएर जग्गा बिक्री…
निर्वाचन गराउन अक्षम भएको ठहर सहित १८ असोज २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्थ गरे । राजाले ‘स्वच्छ छवि भएका प्रधानमन्त्री चयन गर्ने’ घोषणा अनुसार, लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । चन्द सरकार पुगनपुग एक वर्ष टिकेर असोज २०६० मा ढल्यो । त्यतिबेला सुधीरकुमार शाह प्रधानमन्त्री चन्दका निजी सचिव नियुक्त भए ।
झण्डै एक दशकअघि ललितानिवासको सरकारी जग्गा राणा परिवारको नाममा दर्ता गर्दा त्यसको कतिपय भाग हालको प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्र समेत थियो । राणा परिवारबाट घुसबापत गेहनाथ र सुधीरकुमार शाहको परिवारले लिएको जग्गा पनि प्रधानमन्त्री निवास बालुवाटारभित्रै परेको रहेछ ।
ललितानिवासको जग्गाबारे अध्ययन गरेका पूर्वसचिव शारदाप्रसाद त्रितालका अनुसार, २०४९ सालमा जग्गा फिर्ता दिंदा ३ रोपनी १० आना जग्गा प्रधानमन्त्री निवासभित्र थियो भने २ रोपनी १४ आना जग्गा प्रधानन्यायाधीश निवासभित्र परेको भेटिएको थियो । भीआईपीको निवासभित्र परेको जग्गा न उपयोग हुन्थ्यो, न अरूले नै किन्थे । प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त भएको अवसरमा शाहले निर्देशन दिएर कम्पाण्ड नै सार्न लगाएका थिए ।
‘हो, त्यही बेला शाहले बालुवाटारस्थित प्रधानमन्त्री निवासभित्र परेको जग बाहिर निकाल्न कम्पाउण्ड नै भत्काउन लगाएका थिए’ ललिता निवासको अनियमिततावारे जानकार अख्तियारस्रोतले भन्यो, ‘पर्खाल भत्काइएपछि उनको पत्नीको नाममा रहेको जग्गा बाहिरपट्टि प¥यो । कागजात हेर्दा त्यसलगत्तै उनले जग्गा बिक्री गरेको देखिन्छ ।’
पञ्चायतकालीन नेता एवं पूर्वमन्त्री नवराज सुवेदी प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेट्न २०६० सालमा बालुवाटारस्थित उनको सरकारी निवासमा पुगेका रहेछन् । त्यतिबेला निवासको कम्पाउण्ड धमाधम भत्काइएको देखेपछि उनले चन्दलाई त्यसबारे जिज्ञासा राखेका रहेछन् ।
‘यहाँ भित्र व्यक्तिको जग्गा प¥यो भनेर धमाधम भत्काउन लागेका छन्, पछि नापजाँच गरेर फेरि पर्खाल उठाउने रे’ चन्दको भनाइ उद्धृत गर्दै सुवेदीले अनलाइनखबरसँग भने, ‘उहाँलाई पनि त्यतिबेला केही थाहा नभए जस्तो देखियो, अहिले पनि यत्रो ठूलो षडयन्त्र रहेछ ।’ सुवेदीलाई अख्तियारले सरकारी साक्षीको रूपमा विशेष अदालतमा उभ्याएको छ । उनले विशेष अदालतमा बकपत्र समेत गरिसकेका छन् ।
पर्खाल सारेको केही समयपछि चन्द प्रधानमन्त्रीबाट हटे, निजी सचिव सुधीरकुमार पनि अन्यत्र सरुवा भए । अनि २०६० साल फागुनको अन्तिम साताबाट सुधीरकुमार शाह र गेहनाथ भण्डारीले परिवार र नोतदारको नाममा राखेको जग्गा बेच्न थाले ।
२९ फागुन २०६० मा उनीहरूले आठ कित्ता जग्गा माधवी सुवेदी र उमाकुमारी ढकाल्नीलाई बेचेका थिए । २०६० साल चैत २ मा फेरि १० आना जग्गा बेचे । भुवनकुमारी चापागाई अधिकृत वारेस बनेको सो जग्गा माधवी सुवेदी र उमाकुमारी ढकाल्नीलाई बेचिएको थियो । संयुक्त लालपुर्जा रहेको करिब ८० आना जग्गा दुई पटकमा बेचिएको थियो ।
माधवी रामकुमार सुवेदी र उमाकुमारी शोभाकान्त ढकालकी पत्नी हुन् । ललितानिवासवारे अध्ययन गर्न गठन भएको शारदाप्रसाद त्रिताल नेतृृत्वको समितिले रामकुमार र शोभाकान्तलाई भूमाफिया भनी किटान गरेको छ । त्यतिबेला बालुवाटारभित्रका सबैजसो जग्गा सुवेदी र ढकालले किनेको अभिलेखबाट देखिन्छ ।
दुई वर्षअघि हामीले सुधीरकुमार शाहलाई जग्गा प्राप्तिबारे सोधेका थियौं । उनले आफूले जग्गा किनेको दाबी गर्दै प्रक्रियासम्मत रूपमा बेचेको दाबी गरेका थिए । ‘एकजना मानिसले सस्तो जग्गा पाइएको छ भनेकाले किनेको हो, बकसपत्र पाएको होइन’ उनले भनेका थिए, ‘म प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव थिएँ । प्रधानमन्त्री निवासको पर्खाल सार्ने काम निजी सचिवालयले नभई शहरी विकास विभागले गर्छ । पूर्व प्रमको पालामा पर्खाल सार्ने काम भएकै छैन ।’
प्रतिक्रिया 4