
१८ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल तथा डिजल/मट्टीतेलमा पहिलो वर्गको चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर ७.५० रुपैयाँ, दोस्रो वर्गको सुर्खेत र दाङमा ६ रुपैयाँ तथा तेस्रो वर्गको काठमाडौं, पोखरा र दिपायलका लागि प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको छ ।
यसअनुसार भारतसँगको सीमावर्ती क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजल र मट्टीतेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
यस्तो मूल्य निगमको डिपोबाट १५ किलोमिटरसम्मको क्षेत्रमा लागू हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो ।
विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्याँसको मूल्य भने स्थिर छ ।
‘नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले यो मूल्य समायोजन गरेको जानकारी गराइन्छ’, निगमले विज्ञप्तिमा भनेको छ । यो समायोजनपछि निगमको पाक्षिक नाफा कति कायम हुन्छ भन्ने खुलाइएको छैन ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4