+

साफमा भारतको दबदबा कायमै, नेपाल लगायत देशले के सिक्ने ?

२०८० असार  २० गते २०:०७ २०८० असार २० गते २०:०७
साफमा भारतको दबदबा कायमै, नेपाल लगायत देशले के सिक्ने ?

२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि फेरि पनि भारतले जित्यो । तर यसपटक भारतलाई उपाधि जित्न सहज भने भएन ।

मंगलबार बेंगलुरुस्थित घरेलु मैदान श्री कान्तिराव स्टेडियममा कुवेतलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै भारतले कीर्तिमानी नवौँ पटक साफको उपाधि जितेको हो ।

साफलाई प्रतिस्पर्धात्मक बनाउन र दक्षिण एशियाली टिमको स्तर पनि बढाउन भन्दै यसपटक साफमा कुवेतसँगै लेवनानलाई आमन्त्रित गरिएको थियो । बलिया टोलीको आगमनले प्रतिस्पर्धात्मक बने पनि यो साफमा पनि आफ्नो दबदबा कायम राख्दै भारतले उपाधि जितेर आफू दक्षिण एसियाको पावर हाउस नै रहेको प्रमाणित गर्‍यो ।

त्यति मात्र होइन भारतले एसियन कप अघि राम्रो तयारी गर्ने अवसर पनि पायो । साफअघि भारतले इन्टरकन्टिनेन्टल कप घरेलु मैदानमै जितेको थियो ।

लगातार दुई उपाधि जित्ने क्रममा भारतले लेबनानलाई २ र कुवेतलाई १ पटक हरायो भने दुवैसँग एक-एक पटक बराबरी खेल्यो । यसले भारतलाई आफ्नो स्तर जाँच्न र माथिल्लो स्तरमा गएर खेल्न अझ सहयोग पुग्नेछ ।

सन् २००५ यता लगातार नवौं पटक साफको फाइनल खेल्दा भारतले छैटौं पटक उपाधि जितेको हो ।

सन् १९९३ मा पहिलो पटक सार्क गोल्डकप हुँदा राउण्ड रोविन लिगमा खेलाइएको थियो र त्यसमा शीर्ष स्थानमा रहेर भारत च्याम्पियन बन्यो । त्यसपछि भारतले १९९७ र १९९९ मा उपाधि जित्यो । हरेक संस्करणमा उपाधि दाबेदार रहने गरेको भारत सन् २००३ मा बंगलादेशले उपाधि जित्दा मात्र फाइनल पुग्न सकेको थिएन ।

भारतले २००५, २००९, २०११, २०१५ र पछिल्लो पटक २०२१ मा उपाधि जितेको थियो । यो बीचमा माल्दलिभ्सले २००८ र २०१८ मा तथा अफगानिस्तानले २०१३ मा उपाधि जितेको थियो ।

अहिलेसम्म १४ पटक साफ हुँदा भारत बाहेक माल्दिभ्सले २ तथा श्रीलंका, बंगलादेश र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् । नेपाल, पाकिस्तान र भुटानले अहिलेसम्म उपाधि जितेको छैन ।

भारतले लगातार दुई प्रतियोगिताको उपाधि जित्दा खेलाडी, टिम, कोचिङ स्टाफ, म्यानेजमेन्ट सबैको भूमिका रह्यो । यस्तै भारतले अपराजित रहँदै दुई उपाधि जित्दा लगातार ११ खेलमा अपराजित छ ।

लगानी र घरेलु लिग

लगातारको तयारी, फुटबलमा भएको लगानी, ठूलो टिमसँग खेलेको अनुभव, घरेलु लिग (आईएसएल र आई लिग) का कारण पछिल्लो समय भारतले फुटबलको स्तर सुधारेको छ ।

भारतीय फुटबल महासंघ (एआईएएफएफ) ले जनवरी २०२३ मा आगामी २५ वर्षका लागि योजना बनाउँदै ‘भिजन ४७’ गरेको थियो । जसमा विभिन्न चरणमा लक्ष्य तय गरिएको छ । जहाँ फुटबलको विकासका लागि चरणबद्दध योजना बनाएको छ ।

सन् २०४७ सम्म भारतले एसियाको टप फोर टिम बन्ने र एसियाको पावरहाउस बन्ने लक्ष्य राखेको छ । यस्तै डोमेस्टिक लेभलमा एक खेलाडीले हरेक सिजन ५५ खेल खेल्ने व्यवस्था मिलाउने लक्ष्य छ ।

त्यसअघि भारतले २०२६ सम्मको लागि पहिलो चरणको योजना बनाएको छ । जसमा पुरुषतर्फ एसियाको टप १० र महिलातर्फ एसियाको टप ८ भित्र पर्ने लक्ष्य राखेको छ ।

आउने साढे दुई दशकसम्मको लागि लक्ष्य लिएर अघि बढेको भारतले त्यसको सुरुवात साफ र इन्टरकन्टिनेन्टल कप जितेर सुरुवात गरिसकेको छ ।

यस्तै भारतले पुरुषतर्फ पाँच लेभलको लिग र महिलातर्फ चार लेभलको लिग गर्ने तयारी गरेको छ र यसको सुरुवात पनि भइसकेको छ । भारतको घरेलु लिगमा अहिले ठूलो लगानी छ कर्पोरेट हाउसहरुको बाक्लो उपस्थिति छ । यस्तै खेलाडीले पनि करोड भन्दामाथि कमाइ गरिरहेका छन् ।

दक्षिण एसियाका अन्य देशमा घरेलु फुटबल संरचना र लिगको स्तर कमजोर बनिरहँदा भारतले भने यसको ठिक विपरीत प्रगति गरिरहेको छ अन्य देश भन्दा एक कदम अगाढि बढिसकेको छ ।

 टिम एकता

भारतीय टिममा अहिले गजज्बको एकता देखिएको छ । त्यो पनि भारतले उपाधि जित्नुको कारण हो । भारतले खेलमा दबाबमा परे पनि गोल व्यहोरे पनि नआत्तिकन खेलेको थियो । नेपाल विरुद्ध समूह चरणमा खेल्दा पहिलो हाफमा नेपालले भारतलाई दबाबमा राखेको थियो । तर दोस्रो हाफमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेर खेल जित्यो ।

यस्तै फाइनलमा कुवेत विरुद्ध भारत सुरुमै पछि परेको थियो । तर भारतले नआत्तिकन पुनरागमन गर्दै बराबरी गोल फर्कायो र पेनाल्टीसुटआउटमा हरायो ।

त्यसअघि लेबनानलाई पनि सेमिफाइनलमा भारतले पेनाल्टीमै पराजित गरेको थियो ।

त्यसअघि समूह चरणमा कुवेतविरुद्ध जित नजिक पुगेर पनि भारतले आत्मघाती गोल गर्दा भारतले कुवेतसँग १-१ को बराबरी खेल्दै अंक बाँड्नुपरेको थियो । जसले गर्दा भारत समूह उपविजेता बन्यो र सेमिफाइनलमा लेबनानसँग खेल्नुपर्‍यो

। त्यस खेलमा भारतका अनवर अलीले इन्जुरी टाइममा आत्मघाती गोल गरेका थिए । त्यसअघि सुनिल क्षेत्रीको गोलमा भारतले पहिलो हाफमा अग्रता बनाएको थियो ।

खेल  बराबरीपछि कप्तान सुनिलले दिएको प्रतिक्रिया गज्जबको थियो । सुनिलले त्यो गोल अनवरलले मात्र नभई भारतीय टिमले खाएको प्रतिक्रिया दिएका थिए ।

फाइनलसम्म आइपुग्दा भारतले हरेक खेलमा पहिलो रोजाइ परिवर्तन गरेको थियो । कुनै पनि खेलमा उही खेलाडी नखेलाई रोटेसन गरेको थियो । जसले गर्दा धेरै भन्दा धेरै खेलाडीले खेल्ने अवसर पनि पाए ।

सुनिल क्षेत्रीको प्रभाव

अगष्टमा ३९ वर्ष लाग्ने कप्तान सुनिल यो उमेरमा पनि उत्तिकै प्रभावशाली छन् । भारतले फाइनलसम्म ८ गोल गर्दा सुनिलले एक्लै ५ गोल गरे । यो साफमा भएकरो एक मात्र ह्याट्रिक सुनिलले नै गरेका थिए । उनले समूह चरणमा पहिलो खेलमै पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका थिए । यस्तै नेपाल र कुवेत विरुद्ध पनि समूह चरणमा गोल गरे ।

सेमिफाइनल र फाइनलमा पेनाल्टीसुटआउटमा उनले भारतको लागि पहिलो गोल गरेका थिए । सुनिल बाहेक भारतका लागि उदान्त सिंह, महेश सिंह र लालिन्जुएला भाङ्गटेले समान एक गोल गरे ।

टिमको नेतृत्वसँगै सुनिलले अग्रपंक्ति पनि राम्रोसँग सम्हाले । विपक्षी डिफेण्डरका लागि खतराको रुपमा देखिएका सुनिलले साफमा दुई मुख्य व्यक्तिगत अवार्ड जिते । उनले ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जिते भने मोस्ट भ्यालुएवल प्लेअरको अवार्ड पनि जिते ।

सुनिलले सन् २०११ र २०११ को साफमा पनि दुवै अवार्ड जितेका थिए २०१५ मा उत्कृष्ट खेलाडी बनेका थिए ।

यस साफमा ५ गोल गरेपछि  उनले साफमा सर्वाधिक २३ गोल गर्ने माल्दिभ्सका पूर्वकप्तान अली अस्फाकको कीर्तिमान समेत बराबरी गरे । उनी सामु यो कीर्तिमान तोड्ने अवसर भए पनि सेमिफाइनल र फाइनलमा गोल गर्न सकेनन् ।

एसियन कपको लागि तयारी

साफ च्याम्पियनसिप जितेपछि भारतलाई फिफा विश्वकप २०२६ को एसिया छनोटमा पनि धेरै फाइदा हुनेछ । छनोटको ड्र मा भारत पट २ मा पर्नेछ । जसले गर्दा भारतले समूह चरणमा एक मात्र ठूलो टिमसँग खेल्नुपर्नेछ ।

त्यसअघि भारतले आउने वर्ष जनवरी-फेब्रुअरीमा कतारमा एसियन कप खेल्नेछ । जसमा भारत अष्ट्रेलिया, उज्वेकिस्तान र सिरियासँगै समूह बी मा छ । अहिलेको सफलताले भारतलाई एसियन कपका लागि पनि राम्रो तयारी भएको छ ।

सन् १९९४ मा उपविजेता बनेको भारतले लगातार दोस्रो पटक र समग्रमा पाँचौ पटक एसिया कप खेल्न लागेको हो ।

नेपाल लगायत देशले सिक्नुपर्ने कुरा

नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । झन् आमन्त्रित टिम आउँदा भारत बाहेकका देशलाई उपाधि जित्न कठिन भएको छ ।

२०२१ मा माल्दिभ्समा फाइनल पुग्नु नै साफमा नेपालको अहिलेसम्मको ठूलो प्रदर्शन हो ।

दक्षिण एसियामा भारत बाहेक अन्य देशको लिग नै स्थिर छैन र आन्तरिक रुपमा पनि धेरै समस्याहरु छन् । अब भारतबाट सिकेर घरेलु संरचना बलियो बनाउने लिगलाई व्यवस्थित गर्ने काम गर्नुपर्छ ।

भारतको भारतको शीर्ष दुई लिग इन्डियन सुपर लिग (आईएसएल) र आई लिगले गर्दा त्यहाँको खेलाडीको स्तर वृद्धि हुँदैछ । भारतीय लिग धेरै अघि बढिसकेको छ । अधिकांश टोलीमा विदेशी प्रशिक्षक छन् ।

यस्तो स्थितिमा नेपाल लगायतका देशले जसरी खेल्दै आएका छन् त्यसरी नै खेलेर हुँदैन । नेपालले आफ्नो स्तर वृद्धि गर्नुपर्छ । त्यसका लागि घरेलु संरचना र लिग राम्रो हुनुपर्छ । राष्ट्रिय टिम बलियो बनाउन आधार तय गर्नुपर्छ ।

भारतीय फुटबल टिम साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय