
२० असार, काठमाडौं । साझा यातायातले बिहीबार (भोलि) देखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ । साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो ।
साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ । यसअघि साझाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पदा क्षेत्रलाई लक्षित गरेर ‘हप अन हप अफ’ बस सेवा थालेको थियो भने पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्वर–जोरपाटी (दक्षिणढोका)सम्मको बिजुली बस सेवा पनि आरम्भ गरेको थियो ।
चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । ३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।
यही बजेटबाट थप ६०–८० बस अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट खरिद गर्न अध्ययन टोली गठन गरिसकेको साझा यातायात संघीय सरकारसँग चार्जिङको लागि डिपोको लागि जग्गा माग गरिरहेको छ ।
प्रतिक्रिया 4