+
+

सदन खुलाउने पहलमा सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते ११:३०
सभामुख देवराज घिमिरे

२२ असार, काठमाडौं । संसदमा जारी अवरोध खुलाउने पहलका लागि सभामुख देवराज घिमिरेले बिहानैदेखि भेटघाट र संवाद सुरु गरेका छन् ।

उनले शुक्रबार बिहान आफ्नै निवासमा संसदमा रहेका सबै दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर छलफल गरे । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार संसद अवरोध निरन्तर हुँदा जनतामा राम्रो सन्देश नजाने भनी घिमिरेले दलहरुको ध्यानाकर्षण गराएका छन् ।

नयाँ संसदले एउटा पनि कानुन नबनाएको भनेर आम नागरिकले प्रश्न गरिरहेको उल्लेख गर्दै उनले मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्दा संसद माथि नै प्रश्नहरु उठ्न थालेको बताएका छन् ।

सभामुख घिमिरे शीर्ष नेताहरुसँग पनि संवादमा छन् । आफू संसदमा अवरोध नरहोस् भन्नेमा रहेको भन्दै सभामुख घिमिरेले निकास दिन शीर्ष नेताहरुलाई भनेको उनको सचिवालयले जनाएको छ ।

शीर्ष नेताहरुको संवाद सकिएपछि फेरि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी सभामुख घिमिरेको छ । सभामुख घिमिरेले दिउँसो साढे १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद बैठक चल्न दिएको छैन ।

मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने

प्रतिनिधिसभाले शुक्रबार मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सम्भावित कार्यसूची तय गरेको छ ।

सरकारले मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएर त्यस अनुसार कामकारबाही अगाडि बढाएको थियो । तर, संवैधानिक व्यवस्था अनुसार अध्यादेशलाई प्रतिस्थापन विधेयक ६० दिन भित्र पारित हुन नसक्दा अध्यादेश निष्कृय भएको छ ।

अध्यादेश निष्कृय भएपछिको कानुनी शून्यतालाई लामो समय रहन नदिनका लागि प्रतिनिधिसभामा बिचाारधीन विधेयकलाई अगाडि बढाउने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

नयाँ विधेयक ल्याउने कि संसदमा बिचाराधीन विधेयक अगाडि बढाउने भनेर बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा समेत छलफल भएको थियो ।

६० दिन भित्र संसदले कानुन नबनाउँदा अध्यादेश निष्कृय हुने संसदमा दर्ता भएको विधेयक निष्कृय नहुने कानुनविदहरुको राय र विगतका अभ्यास समेतका आधारमा संसदमा बिचाराधीन विधेयक नै अगाडि बढाउने विकल्पमा अगाडि बढिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरु बताउँछन् ।

सरकारसँगको समन्वयमै संसद सचिवालयले शुक्रबार मिटरब्याज सम्बन्धी विधेयकमाथि दफावार छलफल गर्ने, प्राप्त संशोधनहरु उपर छलफल गर्ने र पारित गर्ने कार्यसूची तय गरेको छ । तय भएको कार्यसूची अनुसार अगाडि बढे शुक्रबार नै मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?