+
+

शरणार्थी प्रकरणमा जोडिएका नयाँ नामहरुमाथि अनुसन्धान सुरु भइसक्यो : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १९:१५

२२ असार, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा बाहिर चर्चा गरिएका नामहरुप्रति छानबिन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको बताए ।

‘यो अनुसन्धानका क्रममा बाहिर नाम आएका व्यक्तिहरुमाथि पनि छानबिन भइरहेको छ, त्यसमा तथ्यबाट थप नामहरु आए तीमाथि पनि अनुसन्धान हुन्छ’, कठायतले भने ।

उनले पछिल्लो तीन महिनामा नेपाल प्रहरीले राष्ट्रिय रुपमा चर्चित ५ वटा मुद्दाको सफल अनुसन्धान गरेको समेत बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, विद्युतीय सट्टेबाजी, सहकारी ठगी र मिटरब्याजी विरुद्ध प्रहरीले पछिल्लो समय उल्लेखनीय हुने गरी अनुसन्धान गरेको छ ।’

पछिल्लो तीन महिनामा प्रहरीले ३ हजार ५६२ जना फरार आरोपीलाई पक्राउ गरेको बताउँदै उनले भने, ‘यो अवधिमा प्रदेश प्रहरी कार्यालयबाट पनि रचनात्मक कार्यहरु भएका छन् ।’

कठायतका अनुसार उपत्यका प्रहरीले ‘सुरक्षित उपत्यका अभियान’, कोशी प्रहरीले ‘पीडित पुनः भेटघाट कार्यक्रम’, मधेशले ‘अल्पसंख्यकसँग प्रहरी’ र बागमतीले ‘स्मार्ट प्रहरी कन्ट्रोल रुम’ अभियान चलाइरहेको छ ।

उनका अनुसार गण्डकी प्रदेश प्रहरीले ‘कम्युनिटी इन्भाइरोमेन्ट पुलिसिङ (सीईपी) र हिरासत व्यवस्थापन अभियान’ चलाइरहेको छ भने लुम्बिनीमा आत्महत्या न्यूनीकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिकता सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिममा लागूऔषध विरुद्ध महाअभियान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?