+
+

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ

रासस रासस
२०८० असार २३ गते १३:०४

२३ असार, झापा । हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।

छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा छ लाखदेखि आठ लाख रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको ६ ।
‘चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको थियो’, गिरीले भने, ‘दुई शल्यक्रिया भइसकेको छ, पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ ।’

स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बुको यसअघि नै निधन भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४ वर्षीया हजुरआमाको संरक्षणमा बस्दै आएकी छन् ।

‘घरको आर्थिक अवस्था दयनीय छ’, लिङ्देनले भने, ‘घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ, त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइ रहनुभएको छ ।’
अस्पतालमा औषधिसहित हालसम्ममा रु चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

नगरपालिकाको उत्तरी जङ्गल आसपासको ग्रामीण क्षेत्र मानव–हात्ती द्वन्द्वबाट अत्यधिक प्रभावित मानिन्छ । जुकेखाडी, दहिझोडालगायतका सामुदायिक वन क्षेत्र नजिक रहेका कारण गाउँमा बर्सेनि हात्तीको आक्रमणमा जनधनको क्षति हुने गरेको छ ।

घाइते इक्साका ठूलोबुवा धनबहादुर लिम्बुका अनुसार घटना भएको राति छिमेकी भाञ्जेदाइको घरमा भाउजु र सानो नानी मात्र रहेका कारण साथी बस्नका लागि इक्सा गएकी थिइन् । राति सुतिरहेकै अवस्थामा हात्तीले घर भत्काएर इक्सालाई झम्टेको थियो । हात्तीले सुँढ प्रयोग गरेर इक्साको कान लुछ्नुका साथै दाह्रा धसेर कम्मरमा प्वाल पारेको थियो । उक्त अवस्थामा इक्साकी भाउजु र सानी बच्चीले भागेर ज्यान जोगाएका थिए ।

युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताए ।

‘हात्तीको आक्रमण र चोटको अवस्था हेर्दा इक्साको ज्यान धन्न बचेछ भन्नुपर्छ’, सिटौलाले भने, ‘आमाबुवा नभएकी इक्साको उपचारमा आर्थिक अभाव भएपछि हाम्रो संस्थाले सहयोगका लागि अपिल गरेको हो ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?