+
+

आहा देवघाट !

भरतबन्धु थापा भरतबन्धु थापा
२०८० असार २३ गते १८:४७

२३ असार, चितवन । नारायणगढदेखि करिव ६ किलोमिटर उत्तरमा त्रिशुली र कालिगण्डकी नदीको संगमस्थलमा रहेको देवघाटधाम हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूणए देवघाटधाम शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँबाट नदी, पहाडका हरिया सुन्दर दृश्य र जैविक विविधता अवलोकन गर्न सकिन्छ ।

देवघाट धाम तनहुँको देवघाट गाउँपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र चितवको भरतपुर महानगरपालिकाको संगमस्थल पनि हो । देवघाटमा माघे सक्रातिका समयमा ठूलो मेला लाग्ने गर्छ ।

देवघाटमा संस्कृत पाठशाला, पीठाधीश, विभिन्न देवदेवीका मन्दिर तथा बृद्धाश्रम समेत छन् । देवघाट आउने भक्तजनले चितवन र तनहुँ, जिल्ला जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टिको क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरको दर्शन पनि गर्छन् ।

देवघाटको झोलुंगेपुल

माघे संक्रान्तिमा ठूलो मेला लाग्ने भए पनि देवघाटमा सधैंजसो भक्तजनको घुइँचो लाग्छ । वैशाख संक्रान्ति, माघेसंक्रान्ति, ठूलो एकादशी, बालाचतुदर्शी, ग्रहण लागेको समय र साउन महिनामा पनि भत्तजनको बाक्लो भिड लाग्छ ।

देवघाटमा नुहाएमा मोक्ष पाइन्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरुमा छ । देवघाटमा दर्जनौं मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम पनि छन् । यो क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा प्रख्यात छन्, परापूर्वकालमा समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती छ ।

यहाँको चक्रेश्वर मन्दिरमा ठूलो शिला स्थापित छ । बद्रीनाथ मन्दिर,केदारनाथ मन्दिर, वागिश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तहसम्मको पढाइ हुने गर्छ ।

महांकालको मुर्ति

यहीँको हरिहर सन्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्मको अध्ययन हुने गरेको छ । गलेश्वर आश्रम पनि छ । यस्तै, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साँढेवगर, लक्ष्मीवराह भगवान, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराण मन्दिर, शङ्कराचार्य मन्दिर आदि थुप्रै मठ मन्दिरहरु पनि रहेका छन् ।

देवघाटमा रहेका केही धार्मिक पर्यटकीय स्थलहरु :

वशिष्ठ गुफा र सीता गुफा : गलेश्वर आश्रमको पश्चिम कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ ।

वशिष्ठ गुफा

यहाँ वशिष्ठको मूर्ति छ । वशिष्ठ ऋषिको गुफा रहेको मुन्तिर सीतागुफा रहेको छ । रामचन्द्र वनबास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । भगवान रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफा भनेर चिनिएको छ ।

चक्रेश्वर मन्दिर : गलेश्वर आश्रम परिसरबाट पूर्वउच्च स्थानमा रहेको प्राचीन छ ऐतिहासिक चक्रेश्वर मन्दिर । यहाँ चक्रैचक्र भएको ठूलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए ।

एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरेकाले उनकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको हो । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेषहरू रहेका छन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर रहेको मान्यता छ ।

केदारनाथ मन्दिर : झोलुङ्गे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो यो मन्दिरको पहिलो तलामा शिवपञ्चायन देवताका मूर्ति स्थापना गरिएको छ । माथिल्लो तलामा गङ्गाजी र त्यहाँबाटै जलधारा हुने व्यवस्था गरिएको छ ।

बागीश्वरी मन्दिर : देवघाट र नारायणगढको मध्यमार्गमा रहेको जङ्गलमा ऐतिहासिक बागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको दुईवटा बाघका कलात्मक मूर्ति छ । अन्य शिलामूर्ति भग्नावशेषका रूपमा रहेका छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौ शताब्दीतिरको भएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

देवघाट त्रिशुली नदी ।

बद्रीमन्दिर : झोलुङ्गे पुलबाट पूर्वतर्फ बद्रीनाथ भगवानको विशाल मन्दिर छ ।

मौलाकालिका मन्दिर : गैँडाकोटको डाँडामा रहेको यो मन्दिर पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा सैनिकले शिलाको स्थापना गरी कालिकाको पूजा गर्दै आएको मान्यता रहेको छ ।

महेश सन्यास आश्रम : वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्न आश्रमको स्थापना गरिएको हो । २०५० सालमा डाक्टर स्वामी रामानन्द गिरिले स्थापना गरेको यो आश्रममा संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म संस्कृत विषयको पढाइ हुने गरेको छ । प्राचीन गुरुकुलको सम्झना दिलाउने गरी सय जनासम्म छात्रले दीक्षित हुँदैछन् । जुन पढाइ निशुल्क रुपमा हुन्छ ।

हरिहर सन्यास आश्रम : एक हजार भक्तजन अट्न सक्ने गरी निर्माण गरिएको यो आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन हुँदै आएको छ । आवासीय सुविधासहित वटुकहरूले यहाँ निःशुलल्क अध्ययन गर्छन् ।

हरिहर आश्रम
सिद्धेश्वर महादेव

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?