
९० वर्ष उमेरकी एकजना वृद्धाले हालै आफ्नो जागिरबाट अवकाश लिइन् । उनले आफ्नो जीवनकालमा ७४ वर्ष जागिर गरिन् र त्यस अवधिमा एकदिन पनि उनले बिदा लिइनन् ।
समर्पण र इमानदारीको मानक बनेकी अमेरिकी महिला मेल्बा मेबेनको कथा हो यो । अमेरिकाको टेक्ससकी बासिन्दा मेबेनले एउटा डिपार्टमेन्टल स्टोरको जागिरबाट हालै अवकाश लिएकी छिन् ।
मेबेलनले ७४ वर्षसम्म सो पसलमा काम गरिन् । ९० वर्षको उमेरमा जागिर छाड्ने बेलासम्म उनले आफ्नो जागिरे जीवनमा एकदिन पनि छुट्टी लिइनन् ।
उनले सन् १९५६ मा डेलार्डको रिटेल स्टोरका लागि काम सुरु गरेकी थिइन् । त्यसबेला उनी १७ वर्षकी थिइन् । त्यसअघि उनले एउटा लिफ्ट गर्लको रुपमा करिअरको सुरुआत गरेकी थिइन् । पछि उनलाई कस्मेटिक विभागमा सरुवा गरियो ।
अहिले एउटा प्रभावशाली करिअरपश्चात् ९० वर्षको उमेरमा उनी अवकाश हुँदा मेबेनलाई भब्य सम्मान गरिएको छ ।
मेल्बाका सहकर्मी तथा ग्राहकहरुका अनुसार उनले सात दशकभन्दा लामो समयसम्म काम गर्दा हरेक दिन मुस्कानसहितको सेवा प्रदान गरिरहिन् ।
९० वर्षकी हुँदासम्म पनि उनले एकदिन पनि बिरामी बिदा लिइनन् । डिलार्डका स्टोर म्यानेजर जेम्स सेन्जका अनुसार मेल्बाले धेरैलाई गहिरो प्रभाव छाडेकी छिन् ।
फक्स न्यूजसागको कुराकानीमा उनले भनेका छन्- ‘मेल्बाले हरेक चिज, हरेक अपेक्षा तथा हरेक ग्राहकको गुणवत्तामा ध्यान राख्थिन् । आफ्नो लामो करिअरमा उनले धेरै मानिसलाई प्रशिक्षित गरेकी छिन् र अगाडि बढ्नका लागि सिकाएकी छिन् ।’
उनले प्रश्न गर्दै अघि भनेका छन्, -के ९० वर्षको उमेरसम्म पनि कोही मानिसले यसरी मेल्बाले जस्तै काम गर्न सम्भव होला ? मेल्बा वास्तवमा जीवनभरको सिकाइ हामीलाई सुम्पिएर यहाँबाट जाँदैछिन् । मेल्बा निकै दयालु र मिलनसार थिइन् । उनका धेरै साथीहरु थिए ।
आफ्नो बिदाइ कार्यक्रममा बोल्दै मेल्बाले भनेकी छिन्, ‘मलाई ती महान महिलाहरुसँग काम गर्दा निकै खुसी लागेको छ जो बोल्न, हाँस्न तथा खानपानमा रुचि राख्दछन् ।’
मेल्बाका छोरा टेरी मेबेनका अनुसार आफ्नी आमा हरेक दिन काममा गएको याद उनको मानसपटलमा सधैं रहेको छ । आफू कामप्रतिको निष्ठाबाट निकै प्रभावित रहेको उनी बताउँछन् ।
सानो छँदा आमाले काममा जाँदा सँगै लैजाने गरेको स्मरण गर्दै उनले आफू एक किसिमले डिलार्डमै हुर्किएको बताउँछन् ।
१० बजे स्टोर खुल्ने भए पनि आमा ९ बजे नै त्यहाँ पुग्ने र सधैं स्टोरमा पुग्ने पहिलो व्यक्ति बन्ने गरेको टेरीको सम्भना छ ।
काममा निकै अनुशासित मेल्बाले दिउँसोको खाना खानका लागि पनि केवल २५ मिनेटमात्रै समय लिन्थिन् र पुनः कार्यकक्षमा फर्किन्थिन् । बेलुकी पनि समयमै घर आउँथिन् । आमाको दैनिकी निकै नियमबद्ध र अनुशासित रहेको टेरी बताउँछन् ।
प्रतिक्रिया 4