+
+

सदन खुलाउन प्रधानमन्त्रीले थाले सम्वाद

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते ११:५०

२४ असार, काठमाडौं । सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी छन् । स्रोतले भन्यो, ‘शीर्ष नेताबीचको छलफल सदनको अवरोध खुलाउने विषयमा केन्द्रित हुनेछ ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल सुरू गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा अहिलेसम्म कायम रहेकाले आजको छलफलबाट निकास निस्किने सम्भावना भने देखिएको छैन ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले हामी आज पनि त्यसै अनुसार प्रस्तुत हुन्छौं ।’ एमालेको अवरोधका कारण आइतबारको राष्ट्रिय सभा बैठक असार २५ गतेसम्म स्थगित भइसकेको छ ।

सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता एमाले, रास्वपा र राप्रपाले सदनमा अवरोध गर्दै आएका छन् ।

गत शुक्रबार बस्ने तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?