
२४ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा आइतबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि पक्राउ परेका छन् ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन् ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।
मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा, शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । सीआईबीले यो प्रकरणमा अहिले सरकारी लिखत किर्ते र संगठित अपराधको कसूर अन्तरगत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया 4