
काठमाडौं । काठमाडौंका बालेन शाहसहित केही मेयरहरु यतिबेला चर्चाको केन्द्रमा छन् । बालेन, हर्क साम्पाङसहितका मेयरहरुले गरेको कामले चर्चा बटुलिरहेको छ । यस्तोमा उनीहरु अब सामाजिक सञ्जालमा मात्र चर्चाका पात्र बनेनन् । बालेनलाई लिएर फिल्म बनाउने होड पनि चलेको छ ।
गत महिना राजु गिरीले बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरे । स्क्रिप्टको काम भइरहेको यो फिल्मको छायांकन चाँडै सुरु गर्ने तयारीमा उनी छन् ।
यस्तोमा थपिएका छन् ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनाल । असार १० गते दीपेन्द्रले चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै खनालले फिल्म बनाउन लागेको जानकारी दिए । ‘अहिले स्क्रिप्टमा काम भइरहेको छ । विस्तृत कुरा पछि थाहा हुन्छ । अहिलेलाई टाइटल मात्र दर्ता भएको हो,’ उनले भने ।
बालेनको नाम नलिए पनि दीपेन्द्रले कुनै एउटा मेयर लक्षित फिल्म बन्न लागेको बताए । तर स्रोतका अनुसार दीपेन्द्र बालेनको कथावस्तुमा फिल्म बनाउने तयारीमा छन् । उनको निर्माण कम्पनी डीएस डिजिटलको ब्यानरभन्दा बाहिरको कम्पनीले यो फिल्म बनाउने तयारी गरेको दीपेन्द्रले बताए ।
यो फिल्मको निर्माणमा दीपेन्द्र र सुरेन्द्र पाण्डेले सहकार्य गर्दैछन् । चलचित्र विकास बोर्डका अनुसार दीपेन्द्रले यसअघि दर्ता गरेको फिल्म ‘लकडाउन’को नाम परिवर्तन गरेर ‘मेयर’ राखेका हुन् ।
प्रतिक्रिया 4