+
+

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

अच्युत पुरी अच्युत पुरी
२०८० असार २६ गते १५:०२

२६ असार, काठमाडौं । १ वैशाख २०७६, नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो ।

सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट यी गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।

५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७/९८ देखि निरन्तर उडानमा थिए । उनीसँग ७ हजार घण्टा हवाई उडानको अनुभव थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट हेलिकप्टर १० बजेर ५ मिनेट जाँदा उडेको थियो । हेलिकप्टर अन्तिम पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो । टावरसँग सम्पर्क टुटेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्धार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतर्फ खटाएको थियो । स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो ।

१ वैशाख २०७६ मा लुक्ला विमानस्थलमा भएको समिट एयरको दुर्घटना । क्याप्टेन गुरुङ क्षतिग्रस्त मनाङ एयरको हेलिकप्टर उडानको तयारीमा थिए ।

माउन्टेन फ्लाइटमा गएका पर्यटक सवार

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए ।

सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?