
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोगको महामारी नियन्त्रण तथा रोकथाम गर्न स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
मंगलबार एक कार्यक्रम गरी विभागले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्र र सहरी स्वास्थ्य क्लिनिकका इन्चार्जहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य विभागले डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने र सचेतना जगाउने कार्यक्रमसमेत गरिने जनाएको छ ।
यही असरा २७ र २८ गते वडाका महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी र सरोकारवालाहरुका लागि पनि अभिमुखीकरण कार्यक्रम गरेर २९ र ३० गते लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान चलाइने स्वाथ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।
साथै साउन ४ गतेबाट वर्षभरि नै हरेक बुधबार स्वाथ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, नगरप्रहरी र विभिन्न संघसंस्थासँग मिलेर डेंगु नियन्त्रणको लागि लार्भा नष्ट अभियान चलाइने भएको छ ।
प्रतिक्रिया 4