
२७ असार, पोखरा । पोखराको हङकङ बजारका करिब ४ सय व्यवसायी विगत तीन महिनादेखि आन्दोलनमा छन् । कृषि सामग्री कम्पनी स्वामित्वको करिब ७ सय रोपनी जग्गामा बनाइएको हङकङ बजारमा व्यवसाय गरिरहेका उनीहरु भाडा वृद्धि हुने भएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरु कहिले महानगर घेराउ गर्न पुग्छन् त कहिले कृषि सामग्री कम्पनीको पोखरा कार्यालय ।
२०६९ फागुनमा खुलेको हङकङ बजारमा पोखराका फुटपाथ तथा खुला क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई व्यवस्थापन गरिएको थियो । त्यतिबेला व्यवसायी नन्दप्रसाद तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर स्टल बनाई भाडा उठाउँदै आएका थिए ।
तर तिवारीसँगको ठेक्का सम्झौता २०७९ माघमा २९ गते सकिएपछि कृषि सामग्री कम्पनीले उक्त जग्गा भाडाका लागि टेण्डर आह्वान गरेपछि विवाद सुरु भएको हो । व्यवसायी तिवारीसँग मासिक २ लाख ४४४ हजार रुपैयाँ भाडा लिँदै आएको कम्पनीले गत चैतमा उक्त जग्गाको मासिक भाडा १२ लाख १५ हजार तोकेर टेण्डर आह्वान गरेको छ ।
हङकङ बजारमा २ वटा स्टलको मासिक ६ हजार ४०० भाडा तिर्दै आएका खुमन गिरी कम्पनीले जग्गाको भाडा अचाक्ली बढाएपछि आफूहरुको स्टलको भाडा पनि बढ्ने भएकाले आन्दोलन गर्नुपरेको बताउँछन् ।
‘झाडी फाँडेर हामीले यो हङकङ बजार बनाएका थियौं । अहिले जग्गा भाडा बढेपछि हामीले कसरी स्टल भाडा तिर्ने ?’ गिरीले प्रश्न गरे । यद्यपि उक्त जग्गाको टेण्डर प्रक्रिया अहिलेसम्म पूरा भएको छैन ।
व्यवसायीले आफूहरु सिधै कृषि सामग्री कम्पनीलाई भाडा तिर्ने भन्दै ठेकेदारी प्रथा अन्त्य गर्न माग गरेका छन् । पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरुले ठेकेदारलाई स्टल भाडा नतिर्ने बताउँदै आएका छन् ।
‘बजारमा ९ वटा गल्ली छ । ९ वटा गल्लीले पालैपालो निरन्तर धर्ना दिँदै आएका छौं’, हङकङ बजार व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका गिरी भन्छन्, ‘कम्पनीलाई भाडा दिन्छौं, ठेकेदारलाई दिँदैनौं ।’
हङकङ बजारका व्यवसायीले बुधबार पनि पोखरा महानगर घेराउ गरेका छन् । भेटमा पोखरा महानगर प्रमुख धनराज आचार्यले व्यवसायीको माग पूरा गर्न समन्वय गरिदिने आश्वासन दिएका छन् । उनले ठेक्का प्रक्रियामा भाग लिएका ठेकेदार कम्पनीसँग पनि छलफल गर्ने आश्वासन दिए ।
१५ दिनभित्र टेन्डर प्रक्रिया टुंगिन्छ : कृषि सामग्री कम्पनी
कृषि सामग्री कम्पनीका अनुसार उक्त जग्गाको नयाँ टेण्डर प्रक्रिया अबको १५ दिनभित्र टुंगिन्छ । टेण्डर प्रक्रियामा भाग लिएकामध्ये गीता जोशी, नरसिंह इन्जिनियरिङ र गुडलक कम्पनी प्रारम्भिक छनोटमा परेका थिए । त्यसमध्ये गीता र नरसिंहले ठेक्का सम्झौताका लागि तोकिएको म्यादभित्र उपस्थित नभएपछि धरौटी जफत भइसकेको छ ।
‘तेस्रो (गुडलक कम्पनी) लाई हामीले सम्झौताका लागि बोलाएका छौं । उहाँ उपस्थित भएपछि टेन्डर प्रक्रिया अघि बढ्छ’, कम्पनीका योजना महाशाखाका विष्णु केसीले भने ।
हङकङ बजारका व्यवसायीले भाडा महंगो भएको भनेर आन्दोलन गरिरहे पनि कृषि सामग्री कम्पनीले भने त्यसबारे केही बोलेको छैन । उसले आफ्नो नयाँ टेण्डर प्रक्रिया कानुन अनुसार भएको भन्दै अन्य विषयलाई बेवास्ता गरेको छ । ‘सबै टेन्डर प्रक्रिया नियमअनुसार नै भएको हो । अब १०/१५ दिनमा टुंगिन्छ’, कम्पनीका योजना महाशाखाका केसीले भने ।
प्रतिक्रिया 4