+
+

कांग्रेसमा नीति महाधिवेशनको साटो महासमिति बैठक !

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते २०:५४

२७ असार, काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँगै सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

विधानअनुसार, हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवाले एक वर्षपछि (आज) २७ असारमा दिउँसो १ बजे बोलाएका थिए ।

बैठकअघि एजेण्डाबारे परामर्श गर्न पदाधिकारी नेताहरुलाई आफ्नो निवास धुम्बाराही बोलाएका थिए । त्यो परामर्शका आधारमा महामन्त्रीहरुसँग छलफल गरेर एजेण्डा तय गर्ने र बैठकमा पेश गर्ने तयारी थियो ।

तर परामर्श बैठकका लागि नेताहरु धुम्बाराही पुग्ने क्रम चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको निधन भएको खबर आयो । ‘गठबन्धन दलको नेता शोकमा रहेका बेला हामी चाहिं पार्टी कार्यालय जम्मा भएर बैठक गर्नु उपयुक्त हुन्न भनेर स्थगित गरेका हौं’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

मन्त्रीहरु भोलि राष्ट्रियसभा र पर्सि प्रतिनिधिसभामा व्यस्त हुने भएकाले बैठक राखिएन । शनिबार बैठक राख्ने प्रचलन छैन, त्यसरी सार्दै जाँदा २ साउनमा पुग्यो । अघिल्लो केन्द्रीय समिति बैठक गत वर्ष २७ असारमा सुरु भएर २ साउनमै सकिएको थियो ।

नेताहरुका अनुसार, अब २ साउनको बिहान सभापतिले नेताहरुसँग परामर्श गरेर बैठकको एजेण्डा तय गर्ने छन्, जसमा नीति महाधिवेशन, सदस्यता वितरण, विभाग तथा भ्रातृ संगठनको गठन, निर्वाचन समिति आदि पर्नेछ ।

महासमिति बैठकको सम्भावना

सम्भावित एजेण्डाहरुमध्ये नीति महाधिवेशनबारे बढी चासो दिइएको छ । किनकि १४औं महाधिवेशनले घोषणा गरेको नीति महाधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । नेताहरुका अनुसार, विधानको व्यवस्था र अहिलेसम्मको अवस्था हेर्दा आगामी भदौ अन्तिम वा असोज पहिला साता महासमिति बैठक नै हुनसक्छ ।

२०७८ मंसिरमा भएको १४औं महाधिवेशनको क्रममा कांग्रेसले नेतृत्व मात्र चयन गरेर छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसबेला कार्यकाल सकिन लागेको नेतृत्वले बनाएको नीति पास गरेर नयाँ नेतृत्व चुन्नु उपयुक्त नभएको कांग्रेसको निष्कर्ष थियो । त्यसैले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने र तत्काल नीति महाधिवेशन गरेर ५ वर्षका लागि नीति बनाउने सहमति भएको थियो ।

तर १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्ष भइसक्यो, नीति महाधिवेशन भएन । विधानअनुसार महासमिति बैठक गर्न समेत ढिला भइसक्यो । किनकि विधानको दफा २० मा महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक गर्ने भनिएको छ ।

अर्कातिर, नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषय कांग्रेसले व्याख्या गरिसकेको छैन । नेतृत्व चयन बाहेक नीतिगत निर्णय गर्नेमा नेताहरु प्रष्ट छन् । महासमिति बैठक पनि सहभागी संख्या बाहेक खास फरक छैन । त्यसैले अब नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने सम्भावना बढेको नेताहरु बताउँछन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार महाधिवेशनको हलले नीति महाधिवेशन गर्ने भने पनि यसबारे विधानमा केही बोलिएको छैन । ‘अब गर्दा नयाँ अभ्यास सुरु गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बरु विधानमा महासमिति बैठकको व्यवस्था छ । सहभागी संख्याबाहेक अरु फरक नभएकाले यसमा सहमति खोज्न सक्छौं ।’ उनका अनुसार नीति महाधिवेशन गर्ने हो भने करिब ५ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुन्छन् भने महासमिति बैठक गर्ने हो भने सहभागिता संख्या २६–२७ सय मात्र हुनसक्छ ।

संस्थापन इतर समूहका एक पदाधिकारीले पनि छलफलका क्रममा नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने सहमति जुट्नसक्ने बताए । उनले भने, ‘महाधिवेशनको हलले गरेको निर्णयलाई के गर्ने चाहिं भन्नुपर्छ । तर यो सहमति हुनसक्छ ।’

नेताहरुका अनुसार यसबारे २ साउनमा बैठकको एजेण्डा तय गर्ने क्रममा बोलाउने परामर्श बैठकमा पनि छलफल हुनसक्छ, केन्द्रीय कार्यसम्पादन समितिले पनि निर्णय गर्नसक्छ । तर जुन बैठक भएपनि भदौ अन्तिम वा असोज पहिलो साता हुने उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?