+
+

प्रतिष्ठान र विश्वविद्यालयको घाउलाई गेटा अस्पतालले निको पार्नुपर्छ

अहिलेको पहिलो प्राथमिकता भनेको सुुदूरपश्चिममा गेटा अस्पताल सञ्चालन गरेर भविष्यमा मेडिकल कलेजको मार्गप्रशस्त गर्नु अति उत्तम हुन्छ, चाहे त्यो प्रतिष्ठान बनाएर होस् या मेडिकल विश्वविद्यालय बनाएर ।

डा. देवेन्द्र आचार्य डा. देवेन्द्र आचार्य
२०८० असार २८ गते ७:५०

कैलालीको अत्तरिया र धनगढीको बीचमा बडेमानको भौतिक संरचना बेवारिसे अवस्थामा देखिन्छ । यो नेपाल सरकारले ३५ अर्बभन्दा बढी खर्च गरेर गेटा मेडिकल कलेजका लागि भनेर बनाएको भौतिक संरचना हो । सुदूरपश्चिमवासीले भरपर्दो र सुलभ स्वास्थ्य सेवा नपाइरहेको बेला यो बेवारिसे भौतिक संरचनाले गिज्याइरहेको छ । कहिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, कहिले प्रतिष्ठान त कहिले गेटा मेडिकल कलेज बनाउने भन्ने बहस र खिचातानी जारी छ ।

गत २०७९ माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्‍यो । प्रधानमन्त्री निर्वाचित भएको महिना दिनमै आफ्नो पहिलो सुुदूरपश्चिम भ्रमणको क्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले गेटामा बनेको संरचनामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने घोषणा गरे ।

२०८० जेठ ५ गते राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिएको थियो । तर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम विपरीत बजेट भाषणमा भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १०० शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख छ । त्यसको विरोधमा सुदूरपश्चिमवासी आन्दोलित पनि भए ।

तर यो संरचनामा सबैभन्दा पहिले अस्पताल सञ्चालन हुनुपर्दछ । अस्पताल बनाइसकेर त्यसलाई प्रतिष्ठान बनाउने कि विश्वविद्यालय भनेर बहस चलाऔं । तर, अस्पताल सञ्चालन हुनुभन्दा अगाडि नै प्रतिष्ठान कि विश्वविद्यालय भन्ने व्यर्थ बहसले सुदूरपश्चिमवासी छिटो स्वास्थ्य सुविधा पाउने अवसरबाट टाढिंदै गएका छन् । सरकारले अर्बौं खर्च भएर तयारी अवस्थामा रहेको गेटाको भौतिक संरचनालाई लत्याएर डडेलधुुरामा मेडिकल कलेज सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेकाले त्यो शंकामा झन् बल पुगेको छ ।

सुदूरपश्चिममा सुविधायुक्त अस्पताल नहुँदा त्यहाँका बासिन्दालाई नेपालगञ्ज, काठमाडौं वा भारत गएर उपचार गराउनुपर्ने बाध्यता छ । सुदूरपश्चिमवासीको यो पीडामा राजनीतिक खिचातानीले झन् पीडा थपिदिएको छ ।

हिलेको सुदूरपश्चिमवासीको आवश्यकता भनेको सुरुमा सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याएर गेटा मेडिकल कलेजको आन्दोलन र बहसलाई बिरामीहरूको सेवामा परिवर्तन गर्नुपर्छ

जुम्लामा डा. गोविन्द केसीले अनशन बस्दै गर्दा जुम्लावासीको साथ सहयोग प्राप्त भयो । फलस्वरूप उहाँको जुम्ला अनशनले गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो । जुम्लामा आज एमबीबीएस र एमडी पढाइ हुन्छ । तर, गोविन्द केसी धनगढीमा अनशन बस्दा त्यहाँका स्थानीय बुुद्धिजीवी, समाजसेवी, डाक्टरहरूले जुुम्लाको जस्तो साथ दिएनन् । फलस्वरूप उहाँको अनशन पनि सफल भएन । यदि त्यो अनशन सफल भएको भए सम्भवतः हालसम्म गेटा अस्पताल सञ्चालन भइसकेको हुनेथियो ।

गेटामा अस्पताल सञ्चालन हुन नदिनुमा मेडिकल माफियाहरूको पनि चलखेल हुनसक्ने कतिपयले आशंका गर्छन् । उनीहरू सुदूरपश्चिमवासीलाई घण्टौं परका अस्पतालमा धाउन बाध्य पार्ने र कमाउने धन्दामा पो लागेका छन् कि भन्ने आशंका निराधार छैन ।

गेटामाथि विभिन्न समयमा गरिएका चलखेलले आफ्नै भूमिमा बनेको अस्पतालमा सेवा गर्न इच्छुक डाक्टरहरूलाई पनि निराश बनाइदिएको छ । यो सन्दर्भमा नेपालगञ्ज मेडिकल कलेजमा काम गरेका डा. सुमित पाण्डेको सम्झना आउँछ । उहाँ भन्नुहुन्थ्यो, ‘गेटा मेडिकल कलेज बन्यो भने कोहलपुरको सट्टा त्यहीं गएर काम गर्ने हो । घरपायक पनि हुन्थ्यो ।’ तर उहाँको त्यो चाहना पूरा हुन सकेन । हाल उहाँ बेलायत जान बाध्य हुनुभयो ।

डा. देवेन्द्र आचार्य

नेपालमा भएका विश्वविद्यालयको अवस्था कस्तो छ भनिरहनु पर्दैन । सुदूरपश्चिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा पनि विद्यार्थी र दक्ष जनशक्तिको अभाव छ । भएका विश्वविद्यालय संकटमा परिरहेका बेला नयाँ-नयाँ विश्वविद्यालय थप्नुको औचित्य हुँदैन । अर्कोतर्फ वर्षौंदेखि सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई विश्वविद्यालय नबनाएर नयाँलाई बनाउने निर्णय पनि सुहाउँदैन ।

आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै नमूना स्वायत्त निकाय हुन सफल भएका छन् । देशमा यी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सयौं स्वास्थ्यकर्मी उत्पादन हुनुका साथै बिरामीहरूले गुणस्तरीय उपचार सेवा पाइरहेका छन् । देशकै पहिलो टिचिङ अस्पताल महाराजगञ्ज अनि देशकै ठूूलो मेडिकल एकेडेमी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल विश्वविद्यालय हैनन् । तर भर्खर खुल्न लागेको अस्पताललाई विश्वविद्यालय बनाउनु कति जायज होला ?

इतिहास हेर्ने हो भने सन् १९९३ मा सञ्चालनमा आएको पूर्वाञ्चल विश्वविद्यालयले १९ वर्षपछि बल्ल मेडिकल कलेजको अनुुमति पायो र हाल आफ्नै अस्पताल सञ्चालनमा छ । त्यसैगरी सन् १९९१ मा सञ्चालनमा आएको पोखरा विश्वविद्यालयले स्थापनाको ५ वर्षपछि मेडिकल कलेज सञ्चालनका निम्ति आफ्नै अस्पताल सञ्चालनमा ल्यायो ।

देशकै कान्छो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना भयो र जुम्ला जिल्ला अस्पताललाई आफ्नो मातहतमा ल्यायो । त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेको सुदूरपश्चिममा गेटा अस्पताल सञ्चालन गरेर भविष्यमा मेडिकल कलेजको मार्गप्रशस्त गर्नु अति उत्तम हुन्छ, चाहे त्यो प्रतिष्ठान बनाएर होस् या मेडिकल विश्वविद्यालय बनाएर ।

आज पनि सुदूरपश्चिमका जिल्लाका जनता गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाहिर नै छन् । यस्तो अवस्थामा यदि गेटा अस्पताल सञ्चालनमा ल्याउन सकियो भने सुदूरपश्चिमका बिरामीहरूले कम्तीमा डाक्टर भेट्न पाउँछन् । प्राइभेट अस्पतालमा महँगो रकम खर्चेर लाइन लाग्नुपर्ने बाध्यता अथवा उपचार गर्नकै लागि नेपालगञ्ज, काठमाडौं अथवा भारत जानुपर्ने सिलसिला अन्त्य हुनेथियो । त्यसैले अहिलेको सुदूरपश्चिमवासीको आवश्यकता भनेको सुरुमा सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याएर गेटा मेडिकल कलेजको आन्दोलन र बहसलाई बिरामीहरूको सेवामा परिवर्तन गर्नुपर्छ ।

(डा. आचार्य कोहलपुर मेडिकल कलेजमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?