+
+

समकक्षता प्रमाणपत्रका लागि विद्यार्थीले भोग्छन् हदैसम्मको हैरानी

विदेशका विश्वविद्यालय पढेका विद्यार्थीलाई समकक्षता प्रमाणपत्र दिन त्रिविको पाठ्यक्रम विकास केन्द्रले वर्षौं झुलाइरहेको छ । ‘कतिपयको कागजातमा शंका लागेर छानबिन गर्दा जेन्यूइनले पनि दुःख पाइरहेको’ त्रिवि पदाधिकारी नै स्वीकार गर्छन् ।

नुनुता राई नुनुता राई
२०८० असार २८ गते २०:२४
समकक्षता प्रमाणपत्रका लागि धाइरहेका तीन विद्यार्थीहरू ।

२८ असार, काठमाडौं । अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पीएचडी गरिरहेका लक्ष्मण काफ्लेलाई त्रिविले एक वर्षसम्म पनि समकक्षता प्रमाणपत्र नदिएपछि छोडेर गएको बताउँछन् । हाल उनी पूर्ण छात्रवृत्तिमा ‘जियोटेक्निकल एन्ड जियोइन्भारोमेन्टल इन्जिनियरिङ’ मा पीएचडी गरिरहेका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि चीनको सिङगुआ विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका काफ्ले समकक्षता प्रमाणपत्र लिन एक वर्ष त्रिवि पाठ्यक्रम विकास केन्द्र धाउँदा पनि नपाएको बताउँछन् ।

उनी सिङगुआ विश्वविद्यालयका २०१९-२०२२ ब्याचका विद्यार्थी हुन् । विश्वविद्यालयबाट जून २०२२ मा पढाइ सकेको करिब २० दिनपछि समकक्षता प्रमाणपत्रको लागि त्रिवि पाठ्यक्रम विकास केन्द्रमा अनलाइन निवेदन दिएका थिए ।

त्रिविकै सूचना अनुसार, निवेदन आईडी नम्बर लिएर १ नम्बर झ्यालमा गएर रुजु गराए । अनलाइन आवेदन दिंदा त्यहाँ ‘आवेदनको प्रक्रिया कहाँ पुग्यो भनेर तीन दिनभित्र कैफियतमा देखिने’ उल्लेख भए अनुसार कैफियत हेर्दै बसे । कागज अपुग भएमा रिमार्कमा जानकारी आउने उल्लेख थियो । त्यो पनि केही आएन ।

दुई महिनासम्म कुनै पनि खालको प्रतिक्रिया नपाएपछि लक्ष्मण आफैं बुझ्न गए । त्यसबेला थेसिस सहित सबै कागजातको ‘हार्ड कपी’ बुझाउन भनियो । त्यही अनुसार सबै कागजात बुझाएको एक महिनापछि फेरि इन्जिनियरिङ अध्ययन संस्थानको डीनको कार्यालयबाट फोन गरेर अनुसन्धान पेपर नभेटिएकोले प्रतिलिपि लिएर डीन कार्यालयमा बुझाउन भनियो । लक्ष्मणले पेपर सोही दिन बुझाए ।
त्यसपछि समकक्षता पाउने आशामा त्रिवि पाठ्यक्रम विकास केन्द्र पुगेका लक्ष्मणलाई विश्वविद्यालयको छाप सहितको सक्कली थेसिस र भिसा बुझाउन भनियो । माग भए अनुसार सबै कागजात उनले एक हप्ताभित्र बुझाए ।

त्यसको अर्को एक महिनासम्म पनि कुनै अर्को जानकारी पाउन नसकेपछि उनले पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा.डा.पारसनाथ यादवसँगै बुझ्न खोजे । त्यसबेला प्रमुख यादवले ‘कोर्स पिरियड अवधिभर चाइनामा नै बसेको हुनुपर्छ तपाईंको त्यस्तो देखिएन, यहाँबाट नै थेसिस बुझाएको देखियो त्यसैले समकक्षता दिन मिल्दैन’ भने ।

लक्ष्मणले कोर्स अवधिभर विश्वविद्यालयमा नै रहेको, थेसिस र रिसर्च मात्रै नेपालमा आएर गरेको बताएपछि विश्वविद्यालयको पत्र लिएर आउन प्रमुख यादवले सुझाव दिए । त्यसपछि लक्ष्मणले चाइनास्थित विश्वविद्यालयको रेक्टर कार्यालयलाई इमेल गरे ।

विश्वविद्यालयको रेक्टर कार्यालयले करिब एक महिनाको बीचमा उनी ‘हाम्रै विद्यार्थी हुन् र कोर्स अवधिभर चाइनामा नै बसेको र थेसिस रिसर्च मात्रै नेपालमा गरेको हो’ भनेर त्रिविलाई पत्र पठायो । सो पत्रपछि पनि कुनै प्रतिक्रिया नपाएपछि फेरि उनी त्रिवि पाठ्यक्रम विकास केन्द्र पुगे ।

त्यसबेला बल्ल केन्द्रले समकक्षता दिन सकिन्छ कि सकिंदैन भनेर लक्ष्मणको कागजात इन्जिनियरिङ अध्ययन संस्थानलाई पठाएको जानकारी दियो । त्यहाँ पठाइएको हो भनेको एक महिनासम्म पनि कुनै जानकारी नआएपछि उनी पुल्चोक क्याम्पसको डीन कार्यालय पुग्दा सहायक डीनले दुई हप्ताअघि नै उनको विषयमा निर्णय गरेर नै पठाइसकिएको जानकारी दिए ।

एमआईटीमा पीएचडीका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका लक्ष्मणलाई एनओसी बनाउनको लागि समकक्षता प्रमाणपत्र पाउन जरूरी थियो । त्यसपछि फेरि उनी त्रिवि पाठ्यक्रम विकास केन्द्र पुगे । उनले पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा.डा.पारसनाथ यादवलाई भेटेर अवसर र समकक्षता नपाउँदाको समस्या बुझाउन खोजे ।

उनले यादवलाई भने ‘सर मैले मेरो यही थेसिसको आधारमा पीएचडीका लागि एमआईटीमा पूर्ण छात्रवृत्ति पाएको छु । त्यसैले अलि चाँडो निर्णय गरेर सहयोग गर्दिनुहोला ।’ लक्ष्मणले यत्ति भनिनसक्दै प्रमुख यादवले झर्किएर ‘तपाईंले एमआईटी भनेर हुन्छ, यहाँ टियूको चल्छ’ भनेर हिंडे ।

त्यसपछि समकक्षता प्रमाणपत्र पाउने सम्भावना कम देखेर उनी अरू नै उपाय अपनाउनतिर लागे । त्यसपछि स्नातकपछि पीएचडी गर्न जान लागेको एनओसी बनाए । एक महिनाअघि मात्रै अमेरिका पुगेका लक्ष्मण भन्छन्, ‘प्रतिष्ठित विश्वविद्यालयले उत्कृष्ट भनेर मेरो थेसिस राखेको छ । त्यसैको आधारमा अर्को प्रतिष्ठित विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिएको छ । तर, आफ्नै देशको विश्वविद्यालयले भने यो हदसम्म दुःख दियो ।’

समकक्षता लिन जाँदा कर्मचारीबाट दुर्व्यवहार, अशिष्ट व्यवहार हुने गरेको गुनासो विद्यार्थीको छ । यस विषयमा त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्की भन्छन्, ‘फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारीलाई कामको लोड पर्दा इरिटेसन हुनसक्छ र कतिपयको स्वभावजन्य पनि होला । मुख्य त थोरै कर्मचारीले धेरै काम गर्नुपर्दाको परिणाम हो, यो ।’

उनले एक वर्षको अवधिमा समकक्षता प्रमाणपत्रको लागि २१ पटक पाठ्यक्रम विकास केन्द्र धाएको र पटक-पटक त्यहाँका कर्मचारी र प्रमुख यादवको दुर्व्यवहार भोगेको बताए । उनी भन्छन्, ‘अब चाहिंदैन भनेर हिंडेको हो म त । नेपाल सरकारले बाहेक अरूले मेरो डिग्रीको महत्व बुझ्छन् ।’

थप अध्ययन तथा सरकारी सेवामा प्रवेश गर्न त्रिभुवन विश्वविद्यालय भन्दा बाहेकका स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा पढेकाले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाणपत्र लिनुपर्ने हुन्छ । तर यसरी विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका विद्यार्थीले समकक्षता प्रमाणपत्र पाउन अपमान, दुर्व्यवहार भोग्नुपर्ने उनीहरू बताउँछन् ।

लक्ष्मणको जस्तै समस्या झेलेकी आस्था दाहालसँग कुराकानी गरेर अनलाइनखबरले १८ असार २०८० मा ‘समकक्षता प्रमाणपत्र माग्दा आस्थाले खेपेको खप्की’ शीर्षकमा समाचार लेखेको थियो । उक्त समाचारको खण्डन गर्दै पाठ्यक्रम विकास केन्द्रले विज्ञप्ति नै सार्वजनिक गरेको थियो । तर, त्रिविबाट आस्था र लक्ष्मणको जस्तै समस्या भोग्नेहरू अनलाइनखबरको सम्पर्कमा आइरहेका छन् ।

तीमध्ये अर्का हुन् जितेन्द्र श्रेष्ठ । हाल उनी हार्वर्ड युनिभर्सिटीमा क्यान्सरमा पोस्ट डक गरिरहेका छन् । कोरियाको ‘मोक्पो नेशनल युनिभर्सिटी’बाट फार्मेसीमा पीएचडी गरेका श्रेष्ठले ९ महिनाअघि समकक्षता प्रमाणपत्रको लागि आवेदन दिएका थिए ।

एक वर्षअघि पोस्ट डक गर्न हार्वर्ड पुगेका जितेन्द्र आफैंले अनलाइन आवेदन दिएपश्चात् साथी सौरभ झा मार्फत आईडी नम्बर रुजु गराउने, कर्मचारीले भने अनुसार थेसिसको हार्ड कपी बुझाउने, तोकिएको शुल्क बुझाउने, प्लेगरिज्म जाँचको लागि पेनड्राइभमा थेसिस बुझाउने र आवश्यक २५०० शुल्क बुझाए ।

त्रिवि सम्बन्धन प्राप्त कलेज शि-गान इन्टरनेशनल कलेज अफ साइन्स एन्ड टेक्नोलोजीबाट माइक्रोवायोलोजीमा स्नातकोत्तर गरेका श्रेष्ठको कागजात ७ महिनाअघि इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) मा पठाइएको जानकारी दिइएको थियो । उक्त जानकारीपश्चात् पनि साथी सौरभ झा पटक-पटक बुझ्न जाँदा ‘बोर्डको बैठकले निर्णय गर्नुपर्छ तर चाँडै हुन्छ’ भन्ने जवाफ मात्रै दिने गरेको बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘साथी पटक-पटक जाँदा प्रमुख सरले चाँडै हुन्छ भन्नुहुनेरहेछ तर अहिलेसम्म पाइएको छैन । साथी दिक्क मानेर अब त जानै छोडिसक्यो ।’ उनी भन्छन्, ‘नेपाल र्फकनुपर्छ भन्ने सोचले अप्लाई गरेको हो । विश्वको प्रतिष्ठित विश्वविद्यालयहरूले हाम्रो थेसिस, रिसर्च रिकग्नाइज गर्ने आफ्नै विश्वविद्यालयले चाहिं नगरेपछि निराश त त्यसै भइन्छ नि !’

राज्यको विना लगानी विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट थेसिस, रिसर्च गरेर समकक्षता प्रमाणपत्र माग्दा पनि अनेक बहानामा अपमानित गरिरहेको उनको भनाइ छ । त्रिविको यो व्यवहारले देशमा केही गर्छु भन्ने सोचेर फर्किएका नागरिकलाई निराश बनाइरहेको उनको भनाइ छ ।

६ वर्षदेखि त्रिवि पाठ्यक्रम विकास केन्द्र धाइरहेका राजेन्द्र भने समकक्षता नपाएसम्म धाउने बताउँछन् । राजेन्द्र सापकोटाले १७ जेठ २०७४ मा समकक्षता प्रमाणपत्रको लागि आवेदन दिएका थिए । द ग्लोबल ओपन युनिभर्सिटी नागाल्याण्डबाट व्यवस्थापनमा एमफिल गरेका सापकोटाले यसबीचमा पटक-पटक त्रिवि पाठ्यक्रम केन्द्र पुगेका छन् ।

सन् २०१० मा ‘मास्टर अफ फिलोसफी’ शीर्षकमा एमफिल गरेका राजेन्द्रले समकक्षताको लागि कागजात बुझाएको एक महिनाभित्रै डीन कार्यालयले निर्णय गरेर पठाएको उनको भनाइ छ । त्यसपछि बुझ्न जाँदा बोर्ड बैठकले निर्णय गरेपछि मात्रै दिइने भन्ने उत्तर पाए । त्यसको करिब एक वर्षपछि एमफिल उपाधिको लागि न्यूनतम मापदण्ड तथा कार्यविधि, २०७३ अनुसार समकक्षता नदिने निर्णय गरिएको जानकारी पाए ।

कार्यविधिमा ‘एमफिल कार्यक्रम दूर शिक्षा तथा खुला सिकाइ विधिबाट सञ्चालन गर्न पाइने छैन’ भन्ने उल्लेख छ । तर राजेन्द्रले भने सँगै -एउटै ब्याच) पढेका अरू विद्यार्थीले समकक्षता पाएकोले आफूले पनि पाउनुपर्ने दाबी छ ।

कार्यविधिले व्यवस्था गरे अनुसार दूर शिक्षा तथा खुला सिकाइ विधिबाट पढेको भनेर समकक्षता दिन रोक लगाएको त्रिविले २०७७ साल चैतमा ‘प्रत्यक्ष तथा अनलाइन मिश्रति भर्ना कार्यक्रम’ का लागि सूचना जारी गर्दै ८ चैत २०७७ देखि १५ वैशाख २०७८ सम्म भर्ना समयावधि रहेको उल्लेख गरेको थियो ।

भर्ना समयावधिको दुई दिनपछि पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै ‘त्रिभुवन विश्वविद्यालयद्वारा जारी उपाधि मान्यता एवं समकक्षता निर्धारण कार्यविधि २०७८ बमोजिम उपाधि मान्यता र समकक्षता निर्धारण समितिको ३० फागुन २०७८ को निर्णयानुसार त्रिविमा सञ्चालित विषयसँग मिल्ने विषयको समकक्षता तथा सोसँग क्रेडिट आवर, अध्ययन अवधि ७५ प्रतिशत वा सोभन्दा बढी मिलेका वा नयाँ विषयलाई सम्बन्धित विषय भनी कम अवधि भएकोमा अवधि खोली मान्यता दिने…’ सूचना सार्वजनिक गरेको थियो ।

यो सूचना देखेपछि राजेन्द्र तुरुन्तै पाठ्यक्रम विकास केन्द्र पुगे । केन्द्रमा पुग्दा त्यहाँका कर्मचारीले अनलाइन आवेदन दिन भने । राजेन्द्रले आफ्नो सबै कागजात चार वर्षअघि यहीं बुझाएको आफूसँग नभएको जवाफ दिएपछि त्यहाँका कर्मचारीले ‘यहाँ बुझाएको तपाईंको फाइल हरायो अनलाइन नदिएर हुँदैन’ भन्दै झपारेको उनी बताउँछन् ।

त्यसपछि उनले १३ वैशाख २०७९ मा हेल्लो सरकारको कार्यालयमा गएर उजुरी गरे । हेल्लो सरकारमा उजुरी परेलगत्तै प्रमुख यादवले ‘उहाँको फाइल भेटियो भोलि नै दिन्छु अफिसमा पठाइदिनुहोस्’ भनेपछि हेल्लो सरकारको कार्यालयबाट फोन गरेर राजेन्द्रलाई जानकारी गराइयो ।

सोही अनुसार वैशाख १४ गते केन्द्रमा पुगेर उनले कर्मचारी सुरेन्द्र जोशीलाई भेटे । जोशीले ‘तपाईंको हुन्छ सर नआत्तिनुस्’ भनेको उनी सम्झन्छन् । त्यसपछि पटक-पटक भेट्न गए तर उनले प्रमाणपत्र पाएनन् ।

२०७९ मंसिरमा जोशीले केन्द्रका प्रमुख यादवलाई भेट्न सुझाए । सोही अनुसार प्रमुख यादवलाई भेट्न जाँदा कार्यरत कार्यालयको हाजिरी मागियो । राजेन्द्र भन्छन्, ‘तपाईंको हाजिरी छैन ? सरकारी जागिर भएको मान्छे हाजिरी ल्याउनुहोस् भन्नुभयो ।’

राजेन्द्रले त्यसबेला जागिर खान सुरु नगरेको भनेपछि ‘त्यसो भए निवेदन दिनुहोस् भन्नुभयो र मैले दिएँ ।’ त्यसपछि बोर्ड बैठकले निर्णय गरेपछि दिइने भनियो । निवेदन दिएको करिब एक हप्तापछि राजेन्द्रले केन्द्रका प्रमुख यादवलाई मोबाइलमा म्यासेज गरेर बोर्डको निर्णयबारे बुझ्न खोज्दा बोर्डले नदिने निर्णय गरेको भन्ने जवाफ पाए ।

राजेन्द्र आफूलाई समकक्षता नदिइनु न्यायसंगत नभएको भन्दै अझै पनि केन्द्र धाइरहेका छन् । उनी भन्छन्, ‘मसँगै पढेको साथीहरूले पाएको नजिरको आधारमा पनि पाउनुपर्छ ।’ समकक्षता प्रमाणपत्र नपाएकै कारण यो अवधिमा थप उच्च शिक्षा अध्ययन गर्न तथा विश्वविद्यालय अध्यापन गर्न नपाएको उनी बताउँछन् ।

उनलाई शारीरिक रूपमा अपांगता भएको कारण हेपेर समकक्षता नदिएको उनको अनुभूति छ । उनी भन्छन्, ‘मलाई त्यहाँका कर्मचारी तथा ती प्रमुख यादवले कतिसम्म दुर्व्यवहार गरे भन्ने म शब्दमा व्यक्त गर्न सक्दिनँ । म अपांगता भएकोले बढी हेपेका हुन् भन्ने बुझेको छु ।’

उनी भन्छन्, ‘मैले दुःख गरेर पढेको प्रमाणपत्रको समकक्षता पाउनु मेरो अधिकार हो त्यसैले अझै पनि धाउँछु । कहाँ-कहाँ जानुपर्ने त्यहाँ-त्यहाँ जान्छु ।’ उनी लो भिजन -कम देख्ने) समस्याको अपांगता भएका हुन् । उनले सोमबार पनि जवाफ माग्न त्रिवि पुगेको तर चित्तबुझ्दो जवाफ नपाएको बताए ।

विद्यार्थीको गुनासो र प्रमुख प्रा.डा. पारसनाथ यादवमाथि लागेको आरोपबारे प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन नसकेपछि अनलाइनखबरले शिक्षाध्यक्षसँग यस सम्बन्धी प्रतिक्रिया लिएको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा.शिव भुसाल भने, प्रक्रिया नपुगेको विद्यार्थीले मात्रै समकक्षता नपाएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय चर्चामा आएको विद्यार्थीको प्रक्रिया पुगेको छैन । उहाँ आफैंले पनि चार हजार बुझाउनुपर्ने ठाउँमा एक हजार बुझाएको र थप नतिर्ने भन्नुभएको छ ।’

आस्था दाहालको समस्या सञ्चारमाध्यममा आएपछि त्रिविमाथि चर्को आलोचना हुन थालेको र आफूले गएर सोधखोज गरेको भुसाल बताउँछन् । उनी भन्छन्, ‘विश्वको कुनै पनि विश्वविद्यालय अक्सफोर्ड अथवा क्याम्बि्रज पढें भनेर मात्रै हुँदैन प्रक्रिया पुर्‍याउनुपर्छ ।’

तर अनलाइनखबरसँग पछिल्लो समय सम्पर्कमा आएका विद्यार्थीका विषयमा कुरा बुझ्न खोज्दा कतिपय शंका लागेकाहरूको अथवा कतिपयको भने एमफिल तथा पीएचडी दूर शिक्षा तथा अनलाइनबाट पढेकालाई नदिने भन्ने विश्वविद्यालय अनुदान आयोगको निर्णय भएकोले नपाएको हुनसक्ने बताउँछन् ।

तर एउटा विश्वविद्यालयमा उही समय पढेको कसैले पाउने र कसैले नपाउने भन्ने हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो हुँदैन विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले रोक भनेपछि रोक्नुपर्ने हुन्छ । त्यस्तो गर्दा छानबिन गरेर दिनुपर्ने हुन्छ । यदि उहाँको ब्याचका अरूले पाएका छन् भने छानबिनपछि उहाँले पनि पाउनुहुन्छ । छानबिन गर्दा ढिलो भएको हुनसक्छ ।’

सबै विद्यार्थीलाई समस्या नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सबैमा यो समस्या छैन । धेरैले लिएर गइरहनुभएको छ । तर कतिपय विद्यार्थीको कागजातमा शंका लागेर छानबिन गर्दा जेन्यूइनले पनि दुःख पाइरहेको पक्कै हो ।’ उनी भन्छन्, ‘म चाहिं अक्सफोर्ड, क्याम्बि्रज, अमेरिका, अस्ट्रेलियाबाट पढें मलाई त्रिविले हेप्ने भन्ने मनोविज्ञान छ । तर चापका कारण हाम्रो बाध्यता पनि छ त्यसले समस्या देखिएको हो ।’

समकक्षता लिन जाँदा कर्मचारीबाट दुर्व्यवहार, अशिष्ट व्यवहार हुने गरेको गुनासो विद्यार्थीको छ । यस विषयमा त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्की भन्छन्, ‘फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारीलाई कामको लोड पर्दा इरिटेसन हुनसक्छ र कतिपयको स्वभावजन्य पनि होला । मुख्य त थोरै कर्मचारीले धेरै काम गर्नुपर्दाको परिणाम हो, यो ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?