
फैलिरहेछन् हावामा फूलको पराग,
घरको बगैंचाबाट बिस्तरासम्म,
एक जोर आँखा बसेर इन्द्रेणीमा,
दृष्टिको तीर फ्याँकिरहेछन्
क्षितिजको बाटो हुँदै
खुला आकाशतिर
खोज्न युद्धमा छुटेको सिपाहीलाई।
खोजिरहेछ चिम्टो अगेनोमा,
समात्न थप एक मकै,
प्रत्येक छाकमा,
आज आगो दुःखी छ
एक ग्राहकको अभावमा
एक लाकुरीको काठ,
काखीको स्पर्शको अभावमा
बाध्य छ जोरिन अगेनोमा ।
अब भान्सामा दिनको थप दश मिनेट,
कहिल्यै थपिने छैन हावामा,
मकै पड्किएको आवाज र बास्ना,
आगोको राप,
पड्किने छ त केवल उसको आशा।
मसानघाटको मानबहादुर महसुस गर्नेछ
थप एक भारी दाउरा बारेको व्यापार-घाटा,
नदीले छुटाउनेछ बगाउन
थप एक अस्तु ।
एक हरियो बाँसले
अब मृत्युदण्ड भोग्नुपर्दैन
मसानघाटमा थप एक मिनेट
मौनधारण गर्नुपर्दैन
थप एक माना मकै र धानलाई
बुर्का बन्नुपर्दैन
थप एकका सिक्काहरू
टिला बन्नु पर्दैन
थप एक मिटर कोरालाई बाटो बन्नुपर्दैन।
उसको जीवनको गणितका हिसाबहरूमा,
थप एक मात्र हात लाग्ने छैन
ऊ चल राशि बनेपछि,
उसको देशमा सिपाही भनेपछि बुझिनेछ,
एक सृष्टिको सम्झना।
प्रतिक्रिया 4