
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषा अनुसार स्वास्थ्य भन्नाले कुनै किसिमको रोग वा दुर्बलता नहुनु मात्र नभई पूर्ण रूपले शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुलाई बुझाउँछ । यद्यपि एक्काइसौं शताब्दीका उपलब्धिहरू सँगै बढ्दो क्रममा भौतिक आवश्यकताको पूर्तिसँगै व्यस्त जीवनमा मानसिक चाप सामान्य दैनिकी बनिसकेको छ ।
दिमागी सन्तुलन नबिग्रनुलाई मात्र मानसिक स्वस्थताको रूपमा हेरिने आजको परिभाषालाई डब्लुएचओले खण्डन गर्दै भनेको छ- ‘एक यस्तो दिमागी अवस्था जहाँ व्यक्तिहरू सकारात्मक भावले आफ्नो दक्षताको अनुभूति गर्ने, सहजै दैनिक जीवनका सामान्य तनाव सामना एवं व्यवस्थापन गरी कुनै पनि कामलाई फलदायी बनाउने र साथ–साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दछन् ।’ यसले विश्वभरि मानसिक स्वास्थ्यको परिभाषामा एकरूपता ल्याएको छ ।
मानसिक स्वस्थता र आन्तरिक मूल्य
मानसिक स्वस्थता आन्तरिक सन्तुलनको गतिशील अवस्था हो, जसले समाजको मूल्यमान्यता अनुरूप क्षमताको प्रयोग गर्न सक्षम बनाउँछ । जसका कारण हामी के सोच्छौं, कस्तो महसुस गर्छौं, कस्तो प्रतिक्रिया अथवा कार्य गर्छौं, साथसाथै निर्णय लिने दक्षता, पारिवारिक र सामाजिक सम्बन्ध र हाम्रो समाजको बौद्धिकताको आकार निर्धारण गर्ने गर्छ ।
यदि यसो हुन नसकेको खण्डमा शारीरिक स्वास्थ्य, सम्बन्ध, शिक्षा, जीवनशैलीमा खलल पुगी सोच, महसुस र व्यवहारमा नकारात्मक परिवर्तन आउँछ ।
मानसिक स्वास्थ्यका निर्धारक

डब्लुएचओका अनुसार व्यक्ति समाज अनुसार फरक परिस्थितिहरू जस्तै ः जन्म, रहनसहन, जीवनशैली अनुसार मानसिक स्वास्थ्यको निर्धारकहरूलाई जटिल अन्तरक्रियाहरूको उपज मानिएको छ ।
व्यक्तिगत निर्धारक
अशिक्षा, अस्वस्थकर खाना, अनिद्रा, धुम्रपान, मद्यपान, शारीरिक संरचना साथै पुराना रोगहरू जस्ता कारणलाई लिइएको छ ।
पारिवारिक एवं सामाजिक निर्धारक
भावनात्मक एवं शारीरिक दुव्र्यवहार, यौन हिंसा र दुव्र्यवहार, धम्की, त्रास, बेरोजगारी, कामको तनाव, शहरी जीवन, जातीय अल्पसंख्यक, एक्कासी कसैको माया गुमाउनु जस्ता कारणलाई लिइएको छ ।
संरचनात्मक निर्धारक
आर्थिक, सामाजिक र लैङ्गिक असमानता, अन्याय, भेदभाव, सामाजिक बहिष्कार, द्वन्द्व विस्थापन र सेवाका कमजोर पहुँच जस्ता कारणलाई लिइएको छ ।
मानसिक स्वास्थ्य र विश्वव्यापी खतरा
विश्वव्यापी रूपमा बढ्दो व्यक्तिगत तनाव, कामको चाप, काम र व्यक्तिगत जीवनको बढ्दो असन्तुलन साथै, मानसिक रोग बारे जनचेतनाको कमिले गर्दा विश्वसामु आउन सक्ने सम्भावित खतराहरू आर्थिक गिरावट, सामाजिक ध्रुवीकरण, विस्थापन, सार्वजनिक स्वास्थ्य आपतकाल, व्यापक मानवीय आपतकाल लगायत हुन् ।
मानसिक स्वास्थ्यको वर्तमान अवस्था
सन् २०१९ मा डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क अनुसार हाल विश्वमा ९७ करोड मानिसहरू पागलपन, डिपे्रसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटी जस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । जुन विश्वको कुल १३ प्रतिशत जनसंख्या हो । यो संख्यामा पुरुषहरू भन्दा महिलाको संख्या ४.८ प्रतिशतले धेरै पाइएको छ ।
साथै सोही तथ्याङ्क अनुसार ७० लाख व्यक्ति मानसिक असन्तुलन, २८ करोड ३० लाख मद्यपान, ३ करोड ६० लाख जनसंख्या लागूऔषध दुव्र्यसनको शिकार भएको पाइएको छ ।
मानसिक रोग पछाडिको परिदृश्य
मानसिक रोग सँगैको एक्लोपनको विडम्बना साथै गम्भीर किसिमका मानसिक रोगका बिरामीहरू स्वस्थ व्यक्तिहरूको तुलनामा औसत १० देखि २० वर्ष चाँडै मर्ने गरेको पाइन्छ । यस पछाडिका सम्भावित कारण रोगको बोझ, औषधिको साइड इफेक्ट, मोटोपन, ग्लुकोज, इनटोलोरेन्स, बोसो व्यवस्थापन, धुम्रपान, मद्यपान, अस्वस्थकर खानपिन र शारीरिक निष्क्रियता रहेका छन् ।
मानसिक रोगबाट बच्ने उपाय
बर्तमान खोज अनुसन्धानहरूले सुझाएका व्यक्तिगत तथा सामाजिक तवरबाट अवलम्बन गर्न सकिने केही उपाय
- सरल एवं प्राकृतिक जीवनशैली अपनाउने
- स्वस्थकर भोजनमा जोड दिने
- सकारात्मक सोचाइको विकास गर्ने
- तनाव व्यवस्थापन विधि (योग, मेडिटेसन) अपनाउने
- वर्तमानमा रमाउन र जिउन सिक्ने
- शारीरिक व्यायाम साथै सक्रियता बढाउने
- शारीरिक स्वास्थ्यको ख्याल राख्ने
- मानसिक रोगबारे शिक्षा एवम् जानकारी लिने
एक स्वस्थ र समृद्ध समाजको कल्पना तब मात्र गर्न सकिन्छ जब हरेक व्यक्ति शारीरिक र मानसिक रूपले स्वस्थ रहन्छ । मानसिक स्वास्थ्य आन्तरिक सन्तुलनको एक गतिशील अवस्था हो जसका कारण शरीर र मस्तिष्कबीच सामञ्जस्य कायम रही व्यक्तिहरूले विश्वव्यापी मूल्य र मान्यता अनुरूप आफ्नो क्षमता प्रयोग गर्न सक्षम बनाउँछ । जसका कारण हाम्रो समाजको बौद्धिक स्तरको आकार निर्धारण हुन्छ ।
डब्लुएचओको प्रकाशित तथ्यांक हेर्दा आगामी सम्भावित तथ्यांक अझ विकराल रूपमा आउने देखिन्छ । जसका कारण विश्वमा आर्थिक एवम् सामाजिक रूपमा ठूलो खलल पुर्याउने खतराको सम्भावना देखिन्छ ।
सरकारी तहबाट नीतिगत सुधार गर्नुपर्छ भने सरोकारवाला निकायहरूले मानसिक रोगबारे जनचेतना जगाउँदै व्यक्तिगत र सामाजिक जीवन व्यबहारमा परिवर्तन गरी मानसिक रोगको खतराबाट बच्न सकिन्छ ।
लेखक फर्मासिस्ट हुन् ।
प्रतिक्रिया 4