
नेवार समुदायमा हरेक शुभ कार्य वा शुभ अवसरमा सगुन दिने परम्परा छ । सगुन भन्नाले कुनै शुभ कार्य गर्नुअघि खुवाइने पेय हो । कुनै काम सफल भएपछि वा सुरु गर्नुअघि ठूलाले सानालाई आशीर्वादस्वरुप सगुन खुवाउने गरिन्छ ।
जन्मदेखि मृत्युसम्मका गतिविधिमा खुवाइने सगुन मुख्यगरी दुई प्रकारका हुन्छन्, दही र अण्डा सगुन ।
दही सगुन
कुनै पनि शुभ कार्यअघि वा पछि पूजा सामग्री एवं दही सहित दिइने दही सगुन हो । यसलाई नेपालभाषामा धौं सगं भनिन्छ । यसमा अक्षता, लाबा, अबिर, टीका, फूल, धूपबत्ती, सुकुन्दा र दही हुन्छ । घरको मूली अर्थात् ज्येष्ठ महिलाले पहिला सगुन लिने व्यक्तिलाई पूजा गर्ने चलन छ भने त्यसपछि सगुन लिने व्यक्तिलाई पूजा गर्न लगाइन्छ । पूजापछि सगुन लिने व्यक्तिलाई दही टीका, फूल र नयाँ लुगा वा कपडामा फूल, फलफूल, मिठाई राखी दिइने चलन छ ।
अण्डा सगुन
अण्डा सगुनलाई नेपाल भाषामा ख्ये स्वगं भनिन्छ । दही सगुन दिइसकेपछि अण्डा सगुन दिने चलन छ । अण्डा सगुनमा बारा, अण्डा, माछा, मासु वा अदुवा र सोमरस (रक्सी) ग्रहण गर्छ । यो अण्डा सगुन वास्तवमा शरीर रक्षा र उन्नति-प्रगतिका हेतुले प्रदान गरिने सगुनका रुपमा मानिन्छ । अवसर हेरी कुनै बेला दही सगुन र कुनै बेला अण्डा सगुन मात्र पनि दिने चलन छ ।
के–के हुन्छ सगुनमा ?
धार्मिक मान्यताअनुसार मानिसको शरीर पञ्चतत्वबाट बनेको हुन्छ । यसमा अण्डा पृथ्वी तत्व, माछा जल तत्व, मासु र अदुवा (मासुको सट्टा प्रयोग गरिन्छ) वायु तत्व, बारा आकाश तत्व र सोमरसले शक्ति अर्थात् अग्नि यी पञ्चतत्व हुन्छ । सगुनमा अण्डा, माछा, मासु र बारा थपिंदैन तर सोमरस भने दुईपटक थपिन्छ ।
किन दिइन्छ सगुन ?
नेवारी संस्कृतिमा शारीरिक तन्दुरुस्ती, सुस्वास्थ्य र अकाल मृत्यु जोगाउने कामना गर्दै सगुन दिने चलन छ । वनमा पशुजस्तै, पानीमा माछाजस्तै, आकाशमा पन्छीजस्तै सगुन लिने व्यक्ति पनि जहाँ गए पनि सुरक्षित र स्वस्थ होस् वा कुनै पनि अनर्थ नहोस् भन्ने कामना गरिन्छ ।
शरीरमा ब्रह्मा, विष्णु, महेश्वर, तेत्तीस कोटि देवतासँगै र भगवती मानव शरीर तथा आत्मामा बास बस्ने र शास्त्रअनुसार शरीरमा कुनै पनि नराम्रो ग्रह भएमा छोड्ने वा बस्ने सम्भावना भएमा टाढा हुने जनविश्वास छ ।
कुन–कुन बेला दिइन्छ सगुन ?
जन्मिएपछि अन्नप्राशन, जन्मोत्सव, छेवर (वसुका), व्रतबन्ध, बेलविवाह (इही), गुफा राख्ने (सूर्य दर्शन), विवाह तथा भीम रथारोहणमा, आमाबुवाको मुख हेर्ने औंसीमा, लाखबत्ती बाल्ने बेला, परीक्षामा उत्तीर्ण हुँदा, राम्रो जागिर पाउँदा, पदोन्नति हुँदा, विदेश भ्रमणमा जाँदा, गृहप्रवेश गर्दा, घरपूजा गर्दा, ठूल्ठूला दुर्घटनामा परेर मृत्युको मुखबाट जोगिंदा सगुन दिने चलन छ । यी सबैमा प्राय: दुवै प्रकारका सगुन दिइन्छ । यसैगरी चाडपर्वमा पनि सगुन अनिवार्य हुन्छ ।
(संस्कृतिविद् धौभडेलसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4