१ साउन, काठमाडौं । लगातार पाँचौँ र समग्रमा आठौं पटक विम्बल्डन जित्ने नोभाक जोकोभिचको सपना पूरा नभएपछि उनका समर्थक निराश छन् ।
यो निराशा खेल हेर्न कोर्ट पुगेका दर्शकमा पनि थियो । तर दर्शकको बीचमा एउटा यस्ता बालक पनि थिए, जो मुस्कुराइरहेका थिए ।
जोकोभिचले कोर्टमा उपस्थित समर्थकलाई सम्बोधन गरिरहँदा मुस्कुराउने बालक जोकोभिचका छोरा थिए, आफ्नो हौसला बढाउन कोर्टमा अएका छोरा मुस्कुराइरहेको देखेपछि जोकोभिचले मन थाम्न सकेनन् ।
हाँसिरहेको छोरालाई देखाउँदै उनले भने, ‘यो खुसीको कुरा हो कि मेरो छोरा यहाँ छ र अहिले पनि मुस्कुराइरहेको छ ।’
जोकोभिचको यति भन्दै गर्दा छोरा र समर्थकले ताली बजाइरहेका थिए । तर जोकोभिचले थप बोल्न सकेनन् । उनको गला अवरुद्ध भयो । उनले टाउको निहुराएर र देब्रे हातले आँखा छोपे ।
कोर्टमा तालीको गडगडहट झनै बढ्यो । जोकोभिचले सम्हालिँदै थपे, ‘मलाई माफ गर्नुहोला, आई लभ यू, मलाई साथ दिनुभएकोमा धन्यवाद ।’
स्पेनका २० वर्षे कारल्स अल्कारेजसँग १-६, ७-६, ६-१, ३-६, ६-४ ले हारेपछि नोभाक जोकोभिचको २४औं ग्राण्ड स्लाम जित्ने सपना पूरा भएन ।
३६ वर्षका जोकोभिच टेनिस इतिहासमै सर्वाधिक २४ वटा ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गर्न एउटा उपाधिबाट मात्र टाढा छन् । अस्ट्रेलियन मार्गरेट कोर्टले २४ वटा ग्राण्डस्लाम उपाधि जितेकी छिन् ।
गत जेठमा तेस्रो पटक फ्रेञ्च ओपन जितेका सर्बियन जोकोभिचले सर्वाधिक ट्रफी जित्ने राफायल नाडाललाई पछि पारेका थिए ।
प्रतिक्रिया 4