
काठमाडौं । रोयल्टी संकलन समाजले आमसञ्चार तथा सार्वजनिक थलोमा गीत बजाएबापत रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार थाल्ने भएको छ । समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले केही निकायले रोयल्टी नतिर्न आनकानी गरेकाले स्रष्टाको हक खोज्दै आफूहरु अदालत जान लागेको बताए ।
केही रेडियोसम्बद्ध संस्था र केही निकायले रोयल्टीको पारदर्शिताको प्रश्न उठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर रोयल्टी नतिर्नेबारे लबिङ गरिरहेको जानकारी प्राप्त भएको अधिकारीले जनाएका छन् । ‘कुनै न कुनै बहानामा रोयल्टी नतिर्ने प्रयास हो यो । हामी यसविरुद्ध कानुनी उपचार खोज्छौं,’ उनले भने ।
उनले रोयल्टी नतिर्ने लबिङविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रोश व्यस्त गरेका छन् । ‘स्रष्टाको बौद्धिक सम्पत्तिबिना आफ्नो रेडियोमा गीत बजाएर स्रष्टा मार्ने लाउकेहरु हो । एमआरसीएसएन (रोयल्टी संकलन प्लेटफर्म) स्रष्टाको हितको लागि खुलेको हो । स्रष्टा मार्न होइन । अब तिमीहरुसँगको लडाइँ नयाँ बाटोमा जान्छ,’ उनले लेखेका छन् ।
रोयल्टी नतिरी रेडियोमा गीत बजाउन नपाइने उनको तर्क छ ।
उनले स्रष्टाको हितका लागि आफूहरु पछि नहट्ने समेत बताए । उनले रोयल्टी संकलन समाज अपारदर्शी भयो भन्नु कुनै न कुनै बहानामा रोयल्टी नतिर्ने नियत रहेको बताए । कानुनी उपचार खोज्ने समाजको अभिव्यक्तिलाई नेपाल संगीतकार समाजले पनि समर्थन जनाएको छ ।
प्रतिक्रिया 4