+
+

कांग्रेस बैठक एजेन्डामा छिर्ला कि देउवालाई धन्यवाद दिएर उठ्ला ?

देउवा पक्ष भन्छ– चुनावमा पहिलो दल भयौं । राष्ट्रपति र धेरै मुख्यमन्त्री बनायौं । धेरै उपलब्धि भएका छन् । इतर पक्ष भन्छ– गठबन्धनको बलमा मुश्किलले पहिलो दल बन्यौं । ठूलो शक्ति भएर पनि आम मुद्दाबाट विमुख भयौं ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन १ गते २०:३९

१ साउन, काठमाडौं । विधानतः दुई महिनापिच्छे बस्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि भोलि मंगलबार सुरु हुँदैछ । यति ढिलो भइसक्दा पनि कांग्रेस कुनै हतारमा देखिन्न ।

उच्च तहका केही नेताहरु सभापति शेरबहादुर देउवालाई एजेन्डाहरुको नेतृत्व गर्न चुकेको भन्दै प्रश्नैप्रश्न तेर्स्याउन चाहन्छन् । तर कांग्रेसमा अंकको सामू एजेन्डा गौण बन्न थालेको धेरै भइसक्यो । त्यसैले पोहोर मंसिरको चुनावमा पहिलो ठूलो दल बनाउन सफल नेतृत्व गरेको भन्दै देउवालाई बहुमतले धन्यवाद दिएर मूल मुद्दाबाट विषयान्तर गरिदिने ‘खतरा’ पनि छ ।

त्यसो भयो भने कांग्रेसको सर्वोच्च निकाय अर्थात् केन्द्रीय कार्यसमिति धेरैपछि बसेर पनि कर्मकाण्डी बन्न सक्नेछ । संस्थापन पक्षका एक केन्द्रीय सदस्य भन्छन्, ‘नागरिकका ज्वलन्त मुद्दा समाउनु साटो त्यसबाट भागेर एक अर्काप्रति धारे हात लगाउने, आरोप प्रत्यारोपमा बैठक सकिने सम्भावना धेरै छ ।’

हुन पनि बैठक बस्नुअघि नै पार्टीका समूहहरुभित्र वाद–प्रतिवादका बनिबनाउ तर्क पहिल्यै तयार छन् । देउवा पक्षका लागि अहिले जे भइरहेको छ, हुनुपर्ने त्यही हो । उनीहरु ठान्छन्– देउवाको नेतृत्वमा कांग्रेस समस्याविहीन पार्टी हो । कम्युनिस्ट फुटेपछि हामीलाई फाइदै फाइदा ।

‘तीनै तहमा कांग्रेस पहिलो पार्टी बनेको छ । राष्ट्रपति कांग्रेसबाट बनेको स्थिति छ । मुख्यमन्त्री हाम्रै धेरै छन्’, संस्थापनइतरका अर्का नेता आकलन गर्छन्, ‘उहाँहरुले यस्ता तर्कहरु दिएर यी अनेक सफलताहरुका लागि सभापतिलाई धन्यवाद दिने निर्णय गर्न बल गर्न पनि सक्नुहुन्छ ।’

तर इतर पक्ष भने पहिलो दल बन्न सक्दा पनि खुसी छैन । कांग्रेसले नेपाली समाजमा वितरण गर्दै आएको आशा, भरोसा र कायम गर्दै आएको विश्वसनीयता खस्कँदै गएकोमा त्यो पक्ष चिन्तित छ । पार्टीको समग्र संस्कार नसुधारीकन तत्काल बनिने ठूलो दलले कालान्तरमा कुनै उपलब्धि नहुने संस्थापन इतर पक्षको बुझाइ छ ।

त्यो पक्ष भन्छ– संख्यामा पहिलो दल भए पनि कार्यकर्तापंक्ति एकदमै निराश छ । गठबन्धनको बलमा मात्रै कांग्रेस प्रमुख दल बनेकाले माथि–माथि गनिने टाउकाहरुको संख्या र जमिनी यथार्थ भिन्न छ । चुनाव जितेर पनि आत्मविश्वास गुमाएको पार्टीलाई बौराउने छलफल कांग्रेस बैठकमा नहुने सम्भावना त्यो पक्षले देखेको छ ।

‘नागरिकलाई हाम्रो आरोप प्रत्यारोपको के सरोकार ? आम व्यक्तिमा सर्वे गरेर कसैले हेरे पनि कांग्रेसको मूल नेतृत्व हो नि । तर, संख्याको बलमा नागरिकका मुद्दा ओझेल पार्ने गरेर सभापतिको ढाकछोप गरिन्छ’, संस्थापनइतरका नेता भन्छन् ।

संसदीय भूमिकामा कमजोर देखिएको विषय पनि बैठकमा उठ्ने भएको छ । बैठक अघि पार्टीको तयारी नभएको प्रति चिन्ता व्यक्त हुँदै आएको छ । केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडा भन्छन्, ‘हाम्रो संसदमा भूमिका बलियो देखिएन । तयारी नै हुँदैन । सभापतिलाई संसदमा देख्नै पाइँदैन । महामन्त्री १ दिन आए १५ दिन हराउनुहुन्छ ।’ संसदमा प्रभावकारिताको सन्दर्भमा बैठकमा धारणा आउने उनले बताए ।

गठबन्धनबाट पहिलो दल हुन सफल रहे पनि कांग्रेसका नेता कार्यकर्तामा निराशा व्यक्त हुँदै आएको छ । मूलतः उपनिर्वाचनपछि पार्टी खस्केको विश्लेषण गरिएको छ । ‘उपनिर्वाचनमा राष्ट्रपतिको क्षेत्रमा नै हा¥यौं, त्यसको गम्भीर समीक्षा हुनुपर्दछ’, संस्थापनइतरका एक नेता भन्छन्, ‘सक्षम व्यक्तिलाई पार्टीमा किन राख्न सकेनौं ? बैठकमा खुला छलफल हुनुपर्दछ ।’

यसरी बैठक औपचारिकतामा सीमित नहोस् भनेर आन्तरिक तयारी चलिरहेको कांग्रेस सूत्रहरु बताउँछन् ।

सभापति शेरबहादुर देउवा अनुकूलको संख्या केन्द्रीय समितिमा रहेकाले पार्टी रुपान्तरणको एजेण्डा उठाए पनि त्यसले मूर्त रुप नपाउने नेताहरु आशंका गर्छन् । केन्द्रीय कार्यसमिति बैठकलाई सभापति अनुकूलको बनाउने गरी संस्थापन पक्षले आन्तरिक तयारी समेत गरिसकेको छ ।

बैठकमा प्रस्तुत हुनुपूर्व तयारीमा छलफल गर्नका लागि संस्थापन पक्षले प्रदेशगत केन्द्रीय सदस्यहरुको बैठक गरेको छ । सातै प्रदेशमा समन्वय गर्ने गरी सात जना नेतालाई जिम्मेवारी दिइएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । त्यस अनुसार जिम्मेवारी पाएका नेताहरुले प्रदेशगत केन्द्रीय सदस्यहरुको बैठक गरिसकेका छन् ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले पार्टी बैठकमा सभापति देउवाको प्रतिरक्षा गर्ने गरी विचार राख्ने आन्तरिक तयारी गरेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयलाई सकभर नउठाउने सहमति जस्तै बनेको छ । खाँणको प्रसंगमा धारणा राख्नु परे निलम्बन गर्न नहुने तर्क संस्थापन पक्षले राख्ने भएको छ ।

‘सभापतिलाई सजिलो हुने गरि अघि बढ्नुपर्ने कुरा भएको छ । खाँणको विषय पार्टी बैठकमा चासो दिएर उठाउन आवश्यक छैन । हामीले बचाएर बच्ने होइन । अदालतले थुनामा पठाएको छ । हामी किन बोल्ने ?’, संस्थापन पक्षका केन्द्रीय सदस्य भन्छन् ।

पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने दुईथरी विचार पार्टीमा प्रकट भइरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ परेको खाँण पुर्पक्षका लागि थुनामा छन् । सभापति देउवा उनी निकट खाँणलाई निलम्बन गर्न नहुनेमा अडिग छन् । सभापतिको इच्छा अनुसार नै उनी पक्षीय केन्द्रीय सदस्यले बैठकमा धारणा राख्ने भएका छन् ।

‘भ्रष्टाचार मुद्धामा अघि पक्राउ गरेका र अदालतले दोषी ठहर गरेका समेतलाई पार्टीले निलम्बन गरेको छैन’, देउवा पक्षीय शीर्ष तहका नेता भन्छन्, ‘भ्रष्टाचारमा मुछिएका नेतालाई जिम्मेवारीबाट हटाइएको छैन । अरुलाई निलम्बन नहुने बालकृष्णलाई किन हुने ? हामी त्यही कुरा उठाउँछौं ।’

पार्टी केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनको प्रस्ताव नआउनेमा सभापति देउवा पक्ष ढुक्क जस्तै छ । सोमबार बसेको शीर्ष नेताको बैठकले खाँणको प्रकरण छलफलको एजेण्डा नबनाउने निर्णय गरेको छ । समसामयिक अन्तर्गत केन्द्रीय सदस्यहरुले खाँणको विषय पनि केन्द्रीय समितिमा उठाउने भएका छन् ।

समसामयिक विषयमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरु उक्त प्रकरणमा बोल्न खुला रहेको सहमहामन्त्री फरमुल्लाह मन्सुर बताउँछन् । देउवा पक्षीय मन्सुर भन्छन्, ‘प्रजातान्त्रिक पार्टी हो । सबैको कुरा सुनेर पार्टीले मन्थन गरेर निर्णय गर्छ । शीर्ष तहको बैठकमा छलफल गरिने एजेण्डामा पहिलो स्थानमा समसामयिक विषयलाई राखेको छ ।

दुई महामन्त्रीको भूमिकालाई लिएर उनीहरु प्रति खनिने संकेत संस्थापन पक्षका नेताहरुले गरेका छन् । सभापतिलाई खुल्याएर पार्टी रुपान्तरण नहुने भन्दै देउवाको बचाउमा संस्थापन पक्षका नेताहरु बैठकमा प्रस्तुत हुने भएका छन् । ‘पार्टीभित्रको कुरा भित्र नगरेर बाहिर बाहिर बोल्ने कुराले पार्टी हित गर्दैन’, देउवा पक्षीय नेता भन्छन्, ‘देउवाको विरोध गर्ने महामन्त्रीले पार्टीमा के गर्नुभयो ? त्यो कुरा उठ्छ ।’

महामन्त्रीद्वयले २१ र २२ असारमा बोलाएको जिल्ला सभापतिहरुको भेलाप्रति पनि देउवा पक्षले आलोचना गर्ने भएको छ । सभापति देउवासँगको छलफलपछि उक्त भेला गरिएको महामन्त्रीद्वयले दाबी गर्दै आएका छन् ।

संस्थापनइतरका केन्द्रीय सदस्यहरु भने भने खाँणको निलम्बन, भ्रष्टाचार, सभापतिको विधान अनुसार कार्यशैली नभएको लगायतका विषयलाई प्राथमिकतामा राख्ने भएका छन् । पदाधिकारी बैठक तथा संस्थापन पक्ष भ्रष्टाचारको दोषी माथि पार्टी कठोर हुनुपर्ने पक्षमा छ । विगतको उदाहरण देखाएर अनियमितताका प्रकरणलाई ढाकछोप गर्ने प्रयत्न मान्य नहुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

‘भ्रष्टाचारीको रक्षकको रुपमा जुन खालले हामीलाई एक पछि अर्को गरी दोषारोपण गरिने प्रयत्न भइरहेको छ’, नेता केसीले भने, ‘विगतमा भ्रष्टाचारीलाई निलम्बन नगरेको खराब परम्परा छ । कांग्रेस खराब परम्परालाई निरन्तरता दिने कि असललाई ?’

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका नेताले निलम्बनको पक्षमा धारणा राख्दै आएका छन् ।

नीति महाधिवेशन गर्ने वा महासमिति बैठकमा पनि पार्टीभित्र फरक फरक मत देखिएको छ । संस्थापन पक्षका कतिपय नेताहरु महासमिति बैठकको वकालत गर्न लागेका छन् । महासमिति बैठकमा नै नीति माथि छलफल गर्न सकिने भएकाले दुवैको काम यसैपटक सक्नुपर्ने तर्क कतिपय नेताको छ । यसै विषयले पनि बैठकमा विवाद ल्याउनसक्ने नेताहरु आकलन गर्छन् ।

महाधिवेशन नभएको वर्षमा महासमिति बैठक बस्नुपर्ने विधानको व्यवस्था छ । महाधिवेशन गरिएको वर्ष बाहेकका वर्षमा महासमिति बैठक बस्ने भनिए पनि विगतमा (देउवाको पहिलो कार्यकाल र सुशील कोइरालाको समयमा) पूरा कार्यकालमा एकपटक मात्रै बस्दै आएको थियो ।

महासमिति बैठकबाट नै नीति महाधिवेशन गर्न सकिने विकल्प रहेको केन्द्रीय सदस्य श्याम घिमिरे बताउँछन् । ‘बहुमत साथीहरुको धारणा अनुसार कुन गर्ने टुंगिन्छ, केही फरक पर्दैन’, घिमिरेले भने ।

गठबन्धनकै कारणले कांग्रेस पहिलो शक्ति भएकाले सभापति देउवाको कदमको एक पक्षले बचाउ गर्ने भएको छ । अर्को पक्ष, गठबन्धनले पार्टी कमजोर भएको दलिल पेश गर्ने तयारीमा छ ।

बैठक पूर्व एजेण्डा तय गर्न बोलाइएको वर्तमान र पूर्व पदाधिकारीको बैठकले छलफलका लागि १० प्रस्ताव तय गरेको छ ।

महामन्त्री शर्माका अनुसार समसामयिक, सांगठनिक कार्ययोजना र कार्य तालिका छलफलको प्रस्ताव बनेको छ । कार्यसम्पादन समितिको निर्णय अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समितिको प्रतिवेदन पेश, संसदमा सम्पादन भएका कामको प्रतिवेदन, सरकारको कामका लगायत छन् ।

यिनै प्रस्तावको वरिपरि बैठक घुम्ने भए पनि विगतदेखि नै देखिएको गुटगत टकरावको छाया यो केन्द्रीय कार्यसमिति बैठकमा अझै प्रष्ट प्रतिविम्बित हुने सम्भावना देखिएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?