+
+

फिर्केखोला खोज्दै पोखरा महानगर

विकास रोकामगर विकास रोकामगर
२०८० साउन २ गते १६:३६
फिर्के खोलामाथि बनेको लायन्स क्लबको संरचना ।

२ साउन, पोखरा । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको पुरानो आकार खोज्ने भएको छ । प्राविधिक वासुदेवको पौडेल नेतृत्वको टोलीले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने महानगरले जानकारी दिएको छ ।

महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन गर्न टोली गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । ‘भोलिबाटै उहाँहरु २ टिम भएर फिल्डमा खटिनुहुन्छ । भूगोल र अवस्था हेरेर टिम बढाउन पनि सकिन्छ,’ उनले भने ।

महानगरका अनुसार हाललाई मापदण्ड नभई खोलाको सीमांकनमात्रै गर्न लागिएको हो । मापदण्डबारे विवाद रहेकाले सुरुमा खोलाको पुरानो आकारको मात्रै खोजी गरिने स्वकीय सचिव लामाले जानकारी दिए । उनले भने, ‘मापदण्डको विषयमा महानगरबाट निर्णय नभएकाले अहिले खोलाको वास्तविक आकारमात्रै नाप्ने हो ।’

फिर्के सीमांकन टोलीका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने जानकारी दिए । उनले बुधबार खोलामा गएर नाप्न सुरु गरेपछिमात्रै लाग्ने समय र जनशक्तिबारे थाहा हुने बताए ।

‘बर्खामासमा काम गर्न गाह्रो हुन्छ, कतिबेला पानी पर्छ, खोलाले ठूलो आकार लिन्छ भन्ने थाहै हुँदैन,’ पौडेलले अनलाइनखबरसँग भने, ‘कतै ४० मिटर, कतै १० मिटर भन्ने जानकारीमा आएको छ । खोलाको चौडाइ नापेपछिमात्रै वास्तविक आकार थाहा होला !’

जानकारहरुका अनुसार ४० मिटरसम्म फैलिएको यो खोला अतिक्रमण गरेर खोलामाथि नै संरचना ठड्याउँदा कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै लायन्स क्लब र एउटा धार्मिक समितिले भवन बनाएर व्यापारिक प्रयोजनका लागि सञ्चालन गरिरहेका छन् ।

पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पर्स्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोला लामो समयदेखि मापदण्ड १० मिटर कायम छ । तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ ।

फिर्केखोलाको मापदण्ड ५ मिटर आधार मानेर निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा रेखांकन प्रतिवेदन तयार पारिएको थियो । उक्त प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो ।

फिर्केको १० मिटर मापदण्ड भए पनि तत्कालीन समयमा ५ मिटरलाई नै आधार बनाइएको थियो । जसमा फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो ।

पटकपटक राजनीतिकरण हुँदै आएको फिर्के खोलाको मापदण्ड तोक्न ०७४ मै अभियान थालिएको थियो । अभियानको सुरुआत गर्दै तत्कालीन मेयर जिसीले मापदण्ड मिचेका संरचना पत्ता लगाएर मिचेकालाई बिदाइ र नमिचेकालाई बधाई दिने उद्घोष गरेका थिए ।

मेयर जिसीले समेत फिर्के अतिक्रमण रोक्न सकेनन्, बरु ०७६ को उपनिर्वाचनमा फिर्केको मापदण्ड घटाउने गरी राजनीतिक सौदाबाजी गरिदिए । कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त पदमा भएको उपनिर्वाचनमा नेकपा एमालेले१० मिटरको मापदण्डलाई नियमविपरीत १ मिटरमा झार्ने लिखित सम्झौता नै गरेका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिल कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्के खोलाको मापदण्ड घटाउने सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । तत्कालीन समयमा महानगरका मेयर जिसीको प्रतिनिधिका रुपमा वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्तारक्षर गरेका थिए । गोप्य राखिएको उक्त सम्झौता बाहिरिएसँगै मेयर जिसीको चर्को आलोचना भएको थियो । पछि अधिकृत शर्माले ‘साँझको बेला हस्ताक्षर गरेकाले गल्ती भएको’ भन्दै माफी नै मागेका थिए ।

हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर मिसिँदा दुर्गन्धित बनेको छ ।

महानगरका मेयर धनराज आचार्य जिल्ला कारागारलगायतका सरकारी तथा व्यक्तिगत कार्यालयलेसमेत फिर्केमा सीधै सेप्टिक ट्यांकीको ढल मिसाएको बताए । उनले खोलामा मिसाइएको ढल हटाउन पत्राचार गरिसकेको र नहटाए कारबाही गरिने जानकारी दिए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?