
९ साउन, काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ ।
ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले चाहिँ प्रहरीको गाडी बिग्रिएकाले हिँडाएर लगिएको दाबी गरे । उनले भने, ‘प्रहरीको गाडी पुरानो छ, बाटोमा बिग्रिएकाले हुनसक्छ ।’
तर, प्रहरी वृत्त, लैनचौरका एक अधिकृतले ‘माथिको आदेश’ अनुसार नै हत्कडी लगाएर सडकमा हिँडाएको अनलाइनखबरलाई बताए ।
एसएसपी कार्कीले केहीअघि बैंकिङ कसूरका एक आरोपीलाई पनि हिँडाएर टेकुस्थित प्रहरी हिरासतसम्म लगेका थिए । कपिलवस्तुमा एसपी छँदा उनले ठगी आरोपका ईश्वरीप्रसाद पोखरेल भनिने गोपाल कामीलाई हत्कडीसहित बजारमा डुलाएका थिए ।
कामी हालै काठमाडौंमा फेरि ठगी आरोपमा पक्राउ परेपछि उनले सुध्रिएला बनेर हत्कडीसहित डुलाएपनि नसुध्रिएको बताएका थिए ।
प्रहरीले सानुभाइसँगै टोखाका बिक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो ।
सानुभाइसँगै बिक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

को हुन् सानुभाइ ?
प्रहरीका अनुसार, हत्कडीसहित प्रहरीले डुलाएका गुरुङ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार, २५ पुस २०७२ मा उनी नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।
उनै गुरुङले १५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।
तर, पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’, एसएसपी कार्कीले भने, ‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’
तर, गुरुङले भने शेयरको पैसा माग्न गएको दाबी गर्ने गरेका छन् ।
प्रतिक्रिया 4