
काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको १३ औं दिनको पुण्यतिथिमा सेलिब्रिटी र फ्यानले उनलाई सम्झिएका छन् । उनको सम्झनामा बुधबार बेलुका बौद्धनाथ स्तुपामा मैनबत्ती प्रज्वलन गरियो, जहाँ उनको परिवार, कलाकार र सर्वसाधारणले सारुकलाई सम्झिंदै श्रद्धासुमन व्यक्त गरे ।
उनका बुवाआमा, कलाकारहरु रेनशा बान्तवा राई, साम्राज्ञी शाह, बेनिशा हमाल, सुष्मा कार्की, नितेशजंग कुँवर, मलिना जोशी, श्रद्धा क्षेत्री, भ्लगर सिसन बानियाँ, निर्माता प्रज्वल राणा, बैंकर अनिलकेशरी शाह, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ लगायतले मैनबत्ती बाल्दै सारुकलाई स्मरण गरे । उपस्थित कलाकारको आँखा रसाएका देखिन्थे ।
सारुक निकट गायक नितेश भावुक सुनिए । उनले सारुकको बौद्धिकताको प्रशंसा समेत गरे । पूर्वमिस नेपाल, मोडलहरु समेत बौद्ध स्तुपामा उपस्थित थिए । सारुकले मुस्कान छरिरहेको एक ठूलो तस्वीरमा माल्यार्पण र बत्ती बाल्दै सबै जनाले प्रार्थना गरे । सारुक असार २१ गते रातोपुलको शहीद मार्गस्थित घरमा मृत भेटिएका थिए ।
उनको मृत्युबारे छानबिन गर्न व्यापक माग उठेपछि प्रहरीले निकटस्थहरुलाई बोलाएर सोधपुछ गरिरहेको छ । सारुकको मोबाइल पनि प्रहरीले लिएको छ र यसको नतिजा आउन दुई साता लाग्ने जनाइएको छ । प्रहरीले ‘ह्यासट्याग’ मायाका निर्माता, निर्देशक र साथीभाइलाई सोधपुछ गरिसकेको छ ।
प्रतिक्रिया 4