
‘इन्जिनियर्स डे’कै दिन बुधबार काठमाडौं महानगरपालिकाले प्रतिष्ठित समाजसेवी भद्राकुमारी घलेको नाममा स्थापित प्रतिष्ठानमा डोजर चलायो। संयोगवश पंक्तिकार सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको प्रतिष्ठानको भवन भत्काइरहेकै समय सोही स्थानमा पुगेको थियो। राजनीतिक तथा सामाजिक प्रतिष्ठा हासिल गरेका व्यक्तिहरूप्रति हाल नेपाली समाजमा गहिरो वितृष्णा र आक्रोश देखिन्छ।
प्रतिष्ठानमा चलेको ‘बालेनको डोजर’ लाई लिएर रमिता हेर्न आएकाहरू महानगरको कर्मलाई लिएर हर्षित सुनिन्थे। इन्जिनियरिङसँग सम्बन्धित यस आलेखलाई काठमाडौं महानगरपालिकाको डोजर प्रसंगबाट सुरु गर्नुका केही कारण छन्।
एकजना वरिष्ठ इन्जिनियरसँग पंक्तिकारले केही दिनअघि यही क्षेत्रसँग सम्बन्धित विषयमा विमर्श गरेको थियो। विज्ञता र प्रतिष्ठा दुवैमा अब्बल उनी राजनीतिज्ञ समेत हुन्। आफ्नो कर्म क्षेत्रलाई आलोचनात्मक रूपले विश्लेषण गर्दै उनले प्रश्न गरे- के इन्जिनियरिङ क्षेत्रले महाकाली, टनकपुर, निजगढ विमानस्थल, फास्ट ट्रयाक, अरुण–३ वा यस्तै अनेकौं परियोजनाबारे कहिल्यै संगठित धारणा सार्वजनिक गरेको छ ?

उनको प्रश्न गहन महत्वको थियो। आम सर्वसाधारणले समेत गम्भीर राष्ट्रघात भएको ठानेका, विगत दशककै अत्यन्त बदनाम घोटाला र भ्रष्टाचारका यी काण्डहरू बारे इन्जिनियरहरूको मातृ संस्था ‘नेपाल इन्जिनियर्स एसोसिएसन’ ले छलफल चलाएको मात्रै थियो भने त्यसले यी गम्भीर घोटालाहरूका बारे नेपाली समाजलाई सचेत र आन्दोलित बनाउन सक्थ्यो।
तर, विडम्बना यस्ता गम्भीर सवालमा इन्जिनियरिङ क्षेत्रले चुप्पी साँध लगाएर बस्नाले कतिपय सन्दर्भको तथ्यमा समाज पुग्न सकेन भने कतिपय जानकारी हासिल गर्न समेत सकेन।
ठीक यसैबेला काठमाडौं महानगरको नेतृत्व इन्जिनियर बालेन शाहको हातमा पुगेको छ। बालेनप्रति मेरा कैयन् विमति छन्, उनलाई लिएर मैले कटु आलोचना समेत गरेको छु। कति सवालमा दृढ समर्थन समेत गरिरहेको छु। तर, हातमा नक्सा बोकेर हिंडेका बालेनले सत्ता र शक्तिको रवाफ देखाएर सार्वजनिक स्थल मिच्नेहरूलाई जसरी सडकमै प्रतिवाद गर्दै अतिक्रमित जग्गा फिर्ता गरिरहेका छन्, उनको यो कार्य नि:सन्देह स्वागतयोग्य छ।
बालेनले अतिक्रमित जग्गा फिर्ता गर्ने जुन आत्मबल देखाएका छन् यसमा उनको इन्जिनियरिङ पृष्ठभूमिको ठूलो हात छ। एकछिन कल्पना गरौं, भ्रष्टाचार विरुद्धको आन्दोलनलाई कुशल इन्जिनियरहरूले नेतृत्व गर्ने हो भने त्यसको परिणाम कस्तो हुन सक्थ्यो ?
जताततै ठेकेदारका बदमासी, आवश्यक मापदण्ड पूरा नगरी राजनीतिक नेतृत्वको आडमा हुने ठगीको यथोचित र तथ्यसंगत हिसाबकिताब नागरिकलाई विज्ञ इन्जिनियरले देखाइदिएको दिन त्यसले सुशासनयुक्त समाजतर्फको यात्रालाई कति सहज पार्ने थियो ?
तर, माथि उल्लिखित प्रसंग जस्तै इन्जिनियरहरू संस्थागत रूपले चुप लाग्ने, सामाजिक दायित्व पूरा नगर्ने र विशुद्ध प्राविधिक पेशाका रूपमा इन्जिनियरिङलाई बुझ्ने जुन त्रुटि भइरहेको छ, त्यसमाथि स्वयं इन्जिनियरहरूले गम्भीर विमर्श गर्न ढिलाइ भइरहेको छ।
इन्जिनियर र यसका नेतृत्वदायी संस्थाहरू साथै राजनीतिक पंक्तिले यो क्षेत्रलाई विशुद्ध प्राविधिक क्षेत्रका रूपमा आत्मसात् गरिरहेको छ। तर, कुनै पनि क्षेत्र विशुद्ध प्राविधिक हुनै सक्दैन, यो अनिवार्यतः राजनीतिक हुने गर्दछ।
प्राविधिक पक्षप्रति रहेको गहिरो रुझानले गर्दा नै हुनुपर्छ जुन तहको राजनीतिक हस्तक्षेप इन्जिनियर मार्फत सम्भव थियो, त्यसमा यो क्षेत्र नराम्ररी चुकेको छ। इन्जिनियरले राजनीतिमा आफ्नो दाबी र सामर्थ्य प्रस्तुत गर्न अब हिच्किचाउनुहुँदैन।
कसरी इन्जिनियरिङ क्षेत्र विशुद्ध प्राविधिक मात्रै होइन, बरु यो गहिरो रूपले राजनीतिक हो भन्ने केही सवाल हेरौं। अहिले नेपाली समाजमा विकासलाई लिएर प्रशस्तै प्रश्न उठिरहेका छन्। गाउँ र शहरका डाँडापाखा राताम्ये बनाउँदै कुदिरहेका डोजरले हाम्रो विकासको रुग्ण र दयनीय काल्पनिकीलाई छताछुल्ल बनाइरहेको छ। उपत्यका वरपर मात्रै हेर्ने हो भने डोजरहरूको लस्कर र प्लटिङको बीभत्स चित्र देखा पर्छ।
भौतिक मात्रै प्रगति र विकास होइन, त्यसको सांस्कृतिक र वातावरणीय आयाम हुन्छ भन्ने महसुस इन्जिनियरिङले जति चाँडो महसुस गर्न सक्छ, त्यति चाँडो हामी विकासका नवीन अवधारणालाई आत्मसात् गर्नेर्छौं। र विकासको समग्र भाष्य नै बदल्ने साथै यसलाई थप न्यायपूर्ण बनाउने राजनीतिक आन्दोलनको नेतृत्व इन्जिनियरिङले गर्न सक्यो भने दशकौं लगाएर हासिल हुने राजनीतिक परिवर्तन छोटो अवधिमै प्राप्त गर्न सम्भव छ।
प्राविधिक रूपमा दक्ष जनशक्तिले राजनीतिक, नैतिक र सांस्कृतिक रूपमा समेत न्यायपूर्ण अवधारणालाई अघि सारेका दिनदेखि समाजले साँचो अर्थमा ऐतिहासिक परिवर्तनतर्फको रुपान्तरणकारी फड्को मार्न सम्भव हुन्छ। गाउँमा बाटो खन्दा वा फ्याक्ट्री बनाउँदा, कुनै भौतिक संरचना बनाउँदा वा भत्काउँदा कसको सम्पत्ति कसरी भत्काउने र कसलाई विकासमा प्राथमिकता दिने भन्ने चेत राजनीतिक र न्यायिक अवधारणासँग प्रत्यक्ष रूपमा जोडिने गर्दछ। त्यसैले यो क्षेत्र जति प्राविधिक हो त्यति नै राजनीतिक पनि।
यसका अलावा इन्जिनियरहरूले सोच्नुपर्ने प्रशस्त विषय छन्। अहिलेको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बायोटेक र इन्फोटेकको हो। विख्यात इतिहासकार युवल नोह हरारी एआईले मानव सभ्यतालाई चुनौती थपेको तर्क गरिरहेका छन्।
डाटा नै पूँजी बनिरहेको छ। तर डाटालाई त्यस रूपमा हेर्न न नेपालका इन्जिनियरहरूले योगदान गरेका छन् न त राजनीतिक विमर्शहरू नै भइरहेका छन्। समाजले इन्जिनियरहरूलाई पहिलो पंक्तिको पेशामा राखेको छ।
यस्तो लाग्छ नेपाली समाजका हरेक परिवार आफ्ना सन्तानलाई या त डाक्टर अथवा इन्जिनियर बनाउन चाहन्छन्। यही सामाजिक तथा सांस्कृतिक चेतनाको उपजका कारण इन्जिनियरिङ क्षेत्रभित्र क्षमता, प्रतिभा र दृढ अठोट भएको ठूलो पंक्ति छ।
त्यसलाई जोगाउने र कुशल रूपले परिचालन गर्ने हो भने नेपाली समाजको भौतिक मात्रै होइन, राजनीतिक, सांस्कृतिक तथा बौद्धिक रुपान्तरणमा इन्जिनियरिङ क्षेत्रले युगान्तकारी भूमिका निर्वाह गर्न सक्छ। तर त्यस दिशामा काम गर्ने इच्छाशक्ति हामीकहाँ निकै कम देखिन्छ।
प्राविधिक रूपमा दक्ष जनशक्तिले राजनीतिक, नैतिक र सांस्कृतिक रूपमा समेत न्यायपूर्ण अवधारणालाई अघि सारेका दिनदेखि समाजले साँचो अर्थमा ऐतिहासिक परिवर्तनतर्फको रुपान्तरणकारी फड्को मार्न सम्भव हुन्छ।
त्यसका लागि सिंगो इन्जिनियरिङ समुदाय र समाजको अन्तरसम्बन्ध बारे गहिरो विमर्श हुन आवश्यक छ। विकास र रुपान्तरणमा समाजका आवश्यकता, अपेक्षा र आकांक्षाबारे बहस जरुरी छ।
(लेखक सिभिल इन्जिनियर हुन्।)
प्रतिक्रिया 4