काठमाडौं । किमोथेरापी गर्नुपर्छ भन्नेबित्तिकै क्यान्सरका बिरामी आत्तिन थाल्छन् । किमोथेरापी गर्दा साइड इफेक्ट हुन्छ भन्ने कुराले उनीहरुलाई तनाव दिइरहेको हुन्छ । जबकि यो थेरापी क्यान्सर रोगीहरूका लागि साथी नै हो भन्दा पनि हुन्छ । त्यसैले यसको साइड इफेक्ट बिर्सेर किमोथेरापीको बारेमा केही कुरा जान्नैपर्छ ।
किमोथेरापी कस्तो उपचार पद्धति हो ? किमोथेरापी गर्न डराउनु पर्छ कि पर्दैन ? यसको साइड इफेक्ट के के छन् ? लगायत विषयमा क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीसँग गरिएको कुराकानी :
किमोथेरापी भनेको के हो ?
क्यान्सरको उपचार पद्धितमध्ये प्रचलित उपचार विधि हो किमोथेरापी । क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नै किमोथेरापी हो ।
किमोथेरापीमा क्यान्सर कोषहरूलाई नष्ट गर्न औषधिको उपयोग गरिन्छ । यसले क्यान्सरको कोषहरूलाई अरू कोषहरूलाई बनाउन, बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ ।
क्यान्सर कुन स्टेजको बिरामीलाई किमो दिइन्छ ?
क्यान्सरका बिरामीलाई यसको अवस्था, स्टेज र क्यान्सरको प्रकार अनुसार किमोथेरापी दिनुपर्ने हुन्छ । कसैलाई शून्य स्टेजमै किमो दिनुपर्छ भने कसैलाई चौथो स्टेजमा मात्रै दिनुपर्ने पनि हुन्छ । प्राय: पहिलो स्टेजमा भन्दा दोस्रो तेस्रो र चौथो स्टेजमा यो थेरापी बढी आवश्यक हुन्छ ।
कुनै क्यान्सरको निदान गर्न, कुनैलाई घटाउन र कुनै बिरामीलाई बढ्न नदिन किमो दिइन्छ । स्तन क्यान्सरको पहिलो स्टेजमा शल्यक्रिया र सेकेर नै क्यान्सर निको हुन सक्छ किमो दिइरहनुपर्दैन । ठूलो आन्द्राको क्यान्सरको सुरुको चरणमा पनि किमो दिनु पर्दैन । यी दुईबाहेक केही क्यान्सरमा भने पहिलो चरणमा पनि किमो दिनुपर्ने हुन सक्छ ।
किमोथेरापी गर्न डराउनु पर्छ कि पर्दैन ?
किमोथेरापीको साइड इफेक्टलाई लिएर बिरामी धेरै डराएको हामीले पाएका छौं । तर किमोथेरापीदेखि धेरै डराउनु पर्दैन । किमोथेरापी भनेको एन्टिबायोटिक, एन्टिभाइरल जस्तै हो । जसरी संक्रमण भएको बेला र भाइरसको संक्रमण भयो भने एन्टिभाइरल, ब्याक्टेरियाको संक्रमण भयो भने एन्टिव्याक्टेरियल दिइन्छ । त्यसरी नै क्यान्सरको बिरामीलाई किमोथेरापी दिने हो ।
क्यान्सर कडा रोग हो । यसमा शरीरका कोषिकाहरु अनियन्त्रित भएर विभाजित हुन्छन्, यो विभाजित हुने प्रक्रियालाई किमोथेरापीले रोक्छ । किमोले अनियन्त्रित विभाजित हुने खराब कोषिकालाई पनि मार्छ र त्योसँगै प्रत्येक दिन विकसित हुने सामान्य कोषिकालाई पनि मार्छ ।
कपालको कोषिका दैनिक विकास हुन्छ । किमोले त्यसलाई मार्छ जसले गर्दा कपाल झर्छ । अर्को हाम्रो पाचनप्रणाली मुखदेखि मलद्वारसम्मको कोषिका पनि दैनिक विकास हुन्छ, त्यसलाई पनि मार्छ जसले गर्दा खाना खाँदा बान्ता हुने, डायरिया हुने, कब्जियत हुने जस्ता समस्या देखिन्छ । सेतो, रातो रगतको कमी हुने । साथै महिलामा महिनावारी सुक्ने, पुरुषमा शुक्रकीट नहुने जस्ता समस्या पनि देखिन्छ । किमोले नयाँ बन्ने कोषिकालाई मार्ने भएकाले यस्ता समस्या देखिएका हुन् ।
यस्ता साइड इफेक्ट कम गर्ने उपाय छैनन् ?
पहिलो किमोको साइड इफेक्ट कम गर्ने उपायहरू खासै थिएनन् । तर अहिले किमोको साइड इफेक्टबाट बच्न विभिन्न औषधिहरू बजारमा छन् । जस्तो किमोथेरापीपछि बान्ता हुने समस्या भएमा बान्ता रोक्ने औषधि खान सकिन्छ । एनिमिया भयो भने रगत दिन सकिन्छ, सेतो रगत कम भयो भने सेतो रगत बढाउने औषधि दिन सकिन्छ । त्यसैले अहिलेको अवस्थामा किमोथेरापी गर्न नै डराउनुपर्ने अवस्था छैन ।
पहिले सेतो रगतको कमी भयो भने बढाउने औषधि थिएन । त्यसै कारण त्यही समस्याले नै मान्छेको मृत्यु समेत हुन्थ्यो । तर अहिले हामीसँग प्राय: सबै प्रकारका साइड इफेक्टको औषधि उपलब्ध छ ।
सबै प्रकारका औषधिको केही न केही साइड इफेक्ट त हुन्छ नै । यो औषधिको अलि धेरै हुन्छ तर सँगै साइड इफेक्ट केही समय अवधि हटेर पनि जान्छ । अहिले त किमोथेरापी बिरामीलाई डे केयरमा राखिन्छ । बिहान आउने किमो लगाउने र जाने । त्यसैले किमो देखी डराउनु पर्दैन ।
किमोको साइड इफेक्ट कति समय रहन्छ ?
किमोका कारण रगत कम हुने साइड इफेक्ट दुईदेखि तीन हप्तासम्म मात्र रहन्छ । कपाल झर्ने समस्या किमोथेरापी सकिएको तीनदेखि ६ महिनासम्म रहन्छ र हट्छ । इन्फर्टिलिटीको समस्या किमो सकिएको एकदेखि दुई वर्षसम्म रहन्छ । केहीमा बिर्सने समस्या देखा पर्छ यो पनि तीन हप्तादेखि ६ महिनासम्म रहन्छ र ६ महिनापछि हट्छ ।
किमोले शरीरको अंगमा असर गर्छ कि ?
किमोथेरापीमा दिइने औषधिको विभिन्न साइड इफेक्ट हुने भएकाले यो दिनुभन्दाअघि बिरामीको शारीरिक अवस्था कस्तो छ भनेर हेरिन्छ । उदाहरणका लागि मिर्गौला, कलेजो र मुटुको जाँच गरिन्छ । जाँच गर्दा यी अंग सामान्य छैन भने पहिले सामान्य अवस्थामा ल्याइन्छ अनि मात्र किमो दिइन्छ ।
अहिले त क्यान्सर मात्र होइन मिर्गौलाको उपचारमा पनि किमोथेरापीको प्रयोग हुन थालेको छ । त्यसैले बिरामी आत्तिनु पर्दैन । साइड इफेक्ट पनि कम हुँदै गएको छ ।
किमो थेरापी कस्तो औषधि हो ? बिरामीले कसरी प्रयोग गर्छन् ?
धेरै किमो औषधि झोलको रूपमा हुन्छ । जसलाई स्लाइनमा मिसाएर दिइन्छ । तर पछिल्लो समय धेरै किमोथेरापी औषधि ट्याब्लेटको रूपमा पनि आएका छन् ।
क्यान्सरको बिरामीलाई सामान्यतया कति पटक किमोथेरापी दिनुपर्छ ?
अहिलेसम्म मेरो अनुभवमा बिरामीलाई ६० पटकसम्म किमो दिइएको छ । विशेषगरी फोक्सोको क्यान्सरमा धेरै लामो समयसम्म किमो दिएको उदाहरण छ । तर सामान्यतया चारदेखि जीवनभर दिनुपर्ने पनि हुन सक्छ ।
कुन क्यान्सर हो र अवस्था कस्तो छ ? त्यसअनुसार किमोको संख्यामा फरक पर्न सक्छ । डिम्बाशयको क्यान्सरमा ६ साइकल किमो दिए पुग्छ, स्तन क्यान्सरमा चारदेखि आठ साइकल दिए हुन्छ । अन्य क्यान्सरमा थपघट हुन सक्छ ।
दीर्घरोगीले किमोथेरापी गर्न मिल्छ कि मिल्दैन ?
यदि कुनै क्यान्सरको बिरामीलाई लामो समयदेखि मधुमेहको समस्या छ भने पनि किमोथेरापी गर्न मिल्छ । तर किमो दिनुभन्दाअघि बिरामीको मधुमेह नियन्त्रणमा छ कि छैन भनेर हेरिन्छ । नियन्त्रणमा छैन भने पहिला मधुमेहलाई नियन्त्रणमा ल्याइन्छ अनि मात्र किमो दिइन्छ । त्यस्तै उच्च रक्तचाप र थाइराइडको समस्यामा पनि नियन्त्रणमा ल्याएर किमो दिन सकिन्छ ।
गर्भवती अवस्थामा क्यान्सर पत्ता लाग्यो भने पहिलो तीन महिना किमो दिंदैनौ । तर यदि तीन महिनाभित्रै किमो गर्नैपर्ने छ भने बच्चा नराख्ने सल्लाह दिइन्छ । त्यसपछि क्यान्सर पत्ता लाग्यो भने त्यो बच्चा राख्दा फाइदा बेफाइदा के हुन्छ, बच्चाको आवश्यकता हेरेर बच्चा राखेर पनि किमो दिइन्छ । बच्चा राख्ने अवस्था सिर्जना भएन भने बच्चा फालेर पनि किमो दिनुपर्ने हुन सक्छ ।
प्रतिक्रिया 4