
४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरण निश्कर्षमा पुर्याउन नसके देश अप्ठेरो अवस्थामा पुग्ने बताएका छन् ।
बुधबार ललितपुरमा लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद कि राष्ट्रप्रेम पुस्तक विमोचन गर्दै उनले अहिले चर्चामा रहेका भ्रष्टाचार र अनियमितता प्रकरण निश्कर्षमा पुर्याउनैपर्ने धारणा राखे ।
‘नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी यिनीहरुलाई निचोडमा पुर्याउन सकेनौँ भने अफ्ठ्यारो परिस्थितिमा हामी पुग्छौँ’ उनले भने ।
नेता कोइरालाले सरकारले हालै राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिने गरी प्रतिनिधिसभामा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकको पनि विरोध गरे ।
‘राजनीतिक मुद्दा वा जुनसुकै भनेपनि अदालतले निर्णय गरिसकेका मुद्दालाई हामीले राजनीतिक मुद्दा हो भनेर छुट दिन थाल्यौं, छोड्न थाल्यौं भने दण्डहीनता यसरी बढ्छ कल्पना गर्न सक्दैनौं’, कोइरालाले भने ।
नेपालमा ०६२÷६३ पछि दण्डहीनता बढ्दै गएको र अहिले चरमसीमामा पुग्न लागेको पनि उनले बताए ।
कोइरालाले नेपालमा पछिल्लो समय लोकरिझ्याइँ बढिरहेको र यो देशका लागि घातक रहेको पनि बताए । ‘पपुलिजमले धेरै कुरा दमन गर्दछ । त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ । तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बनाइसकेको हुन्छ’, नेता कोइरालाले भने, ‘…लोकरिझ्याइँका कुराले गर्दा हामीजस्ता मानिसहरु अलमलमा परिरहेका छौँ । लोकरिझ्याइँमा जसरी उसले प्रस्तुत गरेको हुन्छ त्यही कुरा सत्य हो भन्ने जस्तो अडियन्सलाई लागेको हुन्छ । त्यो भोलिका दिनमा देशको निम्ति घातक हुन्छ ।’
पुस्तकका लेखक युवा नेता लाओस राईले पुस्तक प्रकाशन गरेर आफूले राष्ट्रव्यापी रुपमा राष्ट्रवादको बहस अभियान सुरु गरेको बताए । पुस्तकका सम्पादक युवराज गौतमले राजनीतिलाई समाजसेवा ठान्ने नेताहरुले राष्ट्रवादलाई संकुचित अर्थमा सोच्न नहुने बताए ।
२३६ पेजमा समेटिएको पुस्तकमा राष्ट्रवाद र राष्ट्रप्रेमको विकासक्रम, विश्वमा भएका आन्दोलन, नेपालमा शाह वंशीय राष्ट्रवाद, २००७ साल पछिको विकसित राष्ट्रवाद, वीपी कोइरालाको राष्ट्रवादी चिन्तन साथै पछिल्लो राजनीति परिदृश्यमा देखिएको राष्ट्रवाद र राष्ट्रप्रेमको प्रसंग उल्लेख छ । साथै पुस्तकमा किरात संस्कृतिमा रहेको सायरेम्मा संस्कारलाई राष्ट्रवादसँग जोडिएको छ ।
प्रतिक्रिया 4