
पछाडि फर्कनु सामान्यतया राम्रो मानिन्न । मान्छे अझ भनौं प्रकृतिको स्वभावै हो अगाडि जाने। यही स्वभावकै कारण आज संसारमा प्रतिस्पर्धा छ- प्रगति, विकास र अग्रगमनको ।
यो सामग्री भने झण्डै एक दशक पुरानो हो । कहिलेकाहीं पछाडि फर्केर हेर्नु पनि रमाइलै हुनेरहेछ । रेडियो शैलुङ दोलखामा ‘तार्किक निष्कर्ष’ कार्यक्रम चलाउँथें । उतिबेला रेडियोमा श्रोताका असाध्यै धेरै पत्र आउँथे । अहिले जस्तो सामाजिक सञ्जालको चलनचल्ती थिएन ।
…
झण्डै ३५ अंक प्रसारण भइसक्दा पनि कसैले एउटा पत्रसम्म लेखेनन् कार्यक्रमका लागि। प्रत्येक कार्यक्रमको अन्त्यमा कार्यक्रमका लागि प्रतिक्रिया माग्नका लागि रेडियोको पत्राचार तथा इमेल ठेगाना दिने गरिन्थ्यो। बाटोतिर भेट्दा कार्यक्रम राम्रो छ भन्ने भेटिन्थे कोही कोही। कुनै कुनै बेलामा मनमा आउँथ्यो, यत्ति धेरै दौडधुप गरेर बनाएको कार्यक्रम काम न बेकामको त भएको छैन !
४५ मिनेटको कार्यक्रम, सरदरमा ६ जना वक्ताहरू। एक विषयमा कार्यक्रम अवधिभर पक्ष वा विपक्षमा मात्र रहनुपर्ने। धेरैजना मानिस रहेका कारण एकजना वक्ताले कार्यक्रमलाई जन्ती बहस भन्ने नाम पनि दिएका थिए। विषय खोज्यो उपयुक्त मान्छे पाइन्न। मान्छे भेटियो उनीहरूको समय लिन नै कठिन। समय लियो सबै मानिस एकै समयमा आइदिन्नन्।
अगाडि आउने मान्छे दिक्क मान्न थालिसक्छन्। अर्को पक्ष आइपुगेको हुँदैन। फोन गर्यो आउँदैछु भन्छन्। कति पटक त ल मैले बिर्सेछु सरी है भन्ने जवाफ पनि आउँछ। बल्ल बल्ल समय मिलाएको मानिसलाई आज कार्यक्रम रेकर्ड हुन सकेन भनेर फर्काउनुपर्दाको अप्ठ्यारो आफ्नै ठाउँमा छ।
कार्यक्रमको तयारीका लागि पर्याप्त सामग्री पाइन्न। इन्टरनेटमा खोज्यो अधिकांश सामग्री अंग्रेजी भाषामा हुन्छन्। ती पनि अन्य देशका। स्थानीय सवालसँग तिनको गोरु बेचेको साइनोसम्म पनि हुँदैन। केही सामग्री भेटियो भने तिनकै आधारमा आकलन गरेर विभिन्न विषय बनायो कार्यक्रम चलायो।
विभिन्न सवालमा बहस चलाउने संस्था सामाजिक संवादका लागि सहकार्य (एएसडी)को एउटा कार्यक्रममा पोखरामा थियौं। कार्यक्रममा विभिन्न ठाउँबाट आएका साथीले विभिन्न योजना पेश गरे। मसँग त्यस्तो कुनै योजना थिएन। म त्यहाँ योजनाका साथ गएको पनि थिइनँ। साथीहरूका योजना सुन्दै गर्दा एउटा रेडियो कार्यक्रम नै किन नबनाउने भन्ने लागेर हामी छलफलको एउटा रेडियो कार्यक्रम निर्माण गर्छौं भन्ने प्रस्ताव राख्यौं।
यो प्रस्तावमा हौसला आएन बरु झारा टार्न बनाइएको प्रस्तावका रूपमा लिए सबैले। कार्यक्रम उत्पादनका लागि मसँग त्यस्तो ज्ञान थिएन। समाचार संकलकका रूपमा मैले रेडियो पत्रकारिता सुरु गरेको थिएँ। त्यसमा पनि रेडियो पत्रकारिताका लागि नभई नहुने आधारभूत रेडियो पत्रकारिता तालिम पनि लिएको थिइनँ।
एकजना मानिसलाई ल्याएर अन्तर्वार्ता गर्ने काम त सबैले गरिरहेका नै थिए। त्यो काम गर्दा कुनै पनि नयाँपन ल्याउन सकिने थिएन। सामूहिक रूपमा मानिसहरू बोलाएर गरिने अन्तर्वार्ता पनि केही ठाउँमा गरिएकै थियो। हामीले त्यसभन्दा अगाडि गएर कुनै एक सवालमा पक्ष र विपक्ष नै जम्मा गर्ने योजना निर्माण गरियो।
कार्यक्रम १० अंक जति चलाउन सकिएला त्यसपछि त्यति नै बेला सोचौंला जतिखेर आवश्यक पर्छ भन्ने सोचाइ थियो सुरुमा। पछि गर्दै जाँदा ३० अंक पूरा गरियो। त्यसपछि कार्यक्रम रोकियो नै। कार्यक्रम उत्पादनका लागि सहयोग गर्ने कोही सहयोगी पनि थिएनन्।
एकदिन एउटा फोन आयो। मोबाइलमा नम्बर सेभ थिएन। आवाज युवती अझ भनौं किशोरीको थियो। उनले भनिन् हामी तार्किक निष्कर्ष पुनः सुरु गर्नुपर्छ भनेर यहाँ सहयोग संकलन गर्ने अभियानमा छौं। म के जवाफ दिने के जवाफ नदिने अन्योलमा परें।
स्थानीय ठाउँमा मानिसले एउटा रेडियो कार्यक्रमका लागि सहयोग उठाउँदा त्यसलाई कसरी लेलान् भन्ने थियो। मैले त्यसै भएर म रेडियोसँग कुरा गरेर तपाईंलाई फोन गरौंला भनें। यसमा सहयोग लिने भन्दा पनि टार्ने मनसाय थियो।
फोन गर्ने रामेछापकी सुमी मगर थिइन्। रेडियोका धेरै कार्यक्रम नियमित सुन्ने श्रोता थिइन् उनी। मैले युवाहरूका बारेमा केन्द्रित तन्नेरी पुस्ता चलाउँदा उनका पत्र आउने तथा मेरो मोबाइलमा म्यासेजहरू आउने गर्थे।
कार्यक्रममा एसएमएस प्रतिक्रियाका लागि मेरो मोबाइल नम्बर दिने गरिएको थियो। मैले उनलाई चिनेको त्यतिसम्म मात्रै हो। पैसा उठाउने कुरा सुन्दा म अचम्ममा परें। लाग्यो यो किशोरमनको एउटा रमाइलो पूरा नहुने रहर हो।
गाउँमा छँदा रेडियो धेरै सुनिन्थ्यो कति कार्यक्रमहरू आउँथे र निश्चित समयपछि बन्द हुन्थे। बन्द गर्नु भएन भनेर चिठी पनि लेखियो होला थुप्रै पटक। तर यसरी साथीहरूबीचमा पैसा नै उठाउन भने लागिएन।
गाउँमै एउटा कार्यक्रम आयोजना गर्न पनि पैसा जम्मा हुँदैनथ्यो। पैसा उठाउने कुरा गर्दा मच्चिएर कुरा गर्नेहरू पैसा झिक्ने बेलामा भने विभिन्न बहाना राखेर तर्कने गर्थे। कति पटक त साथीहरूका बीचमा झगडै भएको छ।
पैसा उठाउँछौं भनेको केही दिनपछि फेरि फोन आयो। फोन गर्ने सुमी नै थिइन्। हामीले अलिकति पैसा संकलन गरेर पठाएका छौं। त्यसले तपाईंहरूलाई अलिकति भए पनि सहयोग गर्ला भन्ने आश छ। कुराकानीका क्रममा अँ.. अँ.. हो.. ए.. भन्ने भन्दा बढी कुनै कुरा भनिनँ। के भन्ने के नभन्ने भन्ने कुरा सोच्दा सोच्दै फोनको कुरा सकियो।
एकदिन रिपोर्टिङ सकेर रेडियो पुगेको थिएँ। निर्मला दिदीले तपाईंलाई एउटा चिठी आएको छ भनिन्। मलाई चिठीको बारेमा धेरै उत्सुकता जागेन। कसैले पठायो होला भन्ने सोचें। उनले चिठी रामेछापबाट आएको छ भनेर भनिन्। मलाई चिठी सुमीले पठाएको होला भन्ने थियो। चिठी कहाँ छ भन्ने कुरा भयो। सबैले चिठी देखेकोसम्म बताए। तर कसैले चिठी यही ठाउँमा छ भनेर बताउन सकेनन्।
बल्ल बल्ल चिठी भेटियो। एकापट्टिको भागमा पूरै टिकटले छोपेको थियो। ५ रुपैयाँ जाने ४ वटा र १ रुपैयाँ जाने ५ वटा टिकटका कारण त्यस भागमा थोरै मात्र ठाउँ बाँकी थियो।
चिठीमा रकम पनि छ भन्ने मलाई थाहा थियो। स्टेशन म्यानेजर रामचन्द्र गिरी आफ्नै कार्यकक्षमा थिए। मैले उनलाई चिठी देखाएँ। सँगै कार्यकारी निर्देशक पनि थिए होम पाठक। उनीहरू दुवैलाई यसले उत्साहित पारेको थियो।
खाममा चिठी। चिठी भित्र जतनसाथ बेरिएका नोटहरू २१ ओटा। जम्मा रकम १२८० रुपैयाँ। सबैभन्दा ठूलो नोट १ हजारको थियो। सानो ५ रुपैयाँको। त्यसभन्दा साना त छापिनै छोडिसके क्यार!
चिठी पढें। धेरै कुरा लेखिएको थिएन। गौरीशंकर उच्च माध्यमिक विद्यालयमा पढ्ने साथीहरू बीचमा संकलन गरिएको जानकारी र रकम प्रदान गर्ने २५ जनाको नाम थियो। स्कुले जीवन पैसा नै कहाँ हुन्छ र ? साथीहरू बीचमा १५ देखि १५० रुपैयाँसम्म उठाइएको रहेछ। ‘धेरैले रकम दिने वाचा गरेर पनि दिएनन्’ पत्रमा लेखिएको थियो।
नाप्ने आधार केलाई बनाउने भन्ने कुराले न हो धेरै र थोरै छुट्याउने। यो अत्यन्तै धेरै ठूलो रकम थियो। विद्यार्थीले आफ्नो गाँस काटेर जम्मा गरेको। त्योभन्दा पनि ठूलो कुरा कार्यक्रमको आवश्यकता कसरी महसुस गरिएको रहेछ भनेर थाहा पाउने एउटा माध्यम पनि भयो यो मेरा लागि।
यो पत्रपछि कार्यक्रम पुनः सञ्चालनमा आयो । केही समयपछि मैले रेडियो छाडें। रेडियोसँग काम गर्दाका केही गज्जबका अनुभवमध्ये यो विशेष अनुभव बनेर रहेको छ मेरो जीवनमा । आखिर जीवन भन्नु नै केही आशा, केही अपेक्षा, केही अनुभव र केही सम्झनाहरूको जोड न हो !
प्रतिक्रिया 4