+
+
क्लब ओम्निया प्रकरण :

बाउन्सरले अपशब्द बोलेपछि रिसको झोँकमा हातपात गरेँ : सानुभाइ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १६:०६

१० साउन, काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङले रिसको झोँकमा कुटपिट गरेको स्वीकारेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरुको उपस्थितिमा प्रहरीले लिएको बयानमा उनले १५ असारमा क्लबमा जाने क्रममा रिसेप्सन अगाडि उभिएका सञ्चालक र बाउन्सरहरुले आफू र साथीहरुलाई अपशब्द बोलेर धकेलेको बताएका छन् ।

‘…त्यसरी धकेलेपछि रिसको सुरमा जाहेरवाला राजेन्द्र गुरुङ, सुरेश खड्का र नितेश खड्गी लगायतलाई हातपात लछारपछार गरेर कुटपिट गरेर हामी क्लबबाट भागेका थियौं’, गुरुङले भनेका छन्, ‘यसको १०÷१२ दिन पहिले पनि क्लबमा दुई पक्षबीच झगडा हुँदा सञ्चालक, बाउन्सर र अरु कर्मचारीले मेरो नाम जोडेर प्रहरी आउँदा सोफा पछाडि लुकेर बस्यो भन्दै तथानाम आरोप लगाएर हल्ला मच्चाएका रहेछन् ।’

घटना भएको दिन १५ असारमा आफ्नो जन्मदिन भएकाले साथीहरुसँग ठमेलस्थित चखेवा रेष्टुरेन्टमा बसेर मादक पदार्थ सेवन गरेर रमाइलो गर्न भन्दै क्लबमा गएको उनले बताएका छन् । त्यसक्रममा उक्त कुटपिटको घटना भएको गुरुङले बताएका छन् ।

‘म विगत ९/१० वर्षदेखि नुवाकोटमा बालुवा सम्बन्धी ठेक्कापट्टाको काम गर्दै काठमाडौंमा बस्दै आएको छु, जाहेरवाला मेरो गाउँको पुरानो साथी पनि हुन्’, सानुभाइले भनेका छन्, ‘कारोबार गर्ने क्रममा हिसाबको कारोबार नमिलेर हामीहरु आफ्नो आफ्नो बाटो लागेर व्यवसाय सञ्चालन गर्दै आएका थियौं ।’

सानुभाइ विगतमा गुण्डा नाइके कुमार घैंटेसँग जोडिएका व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा मारिएपछि उनी बलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेका थिए । पछि प्रहरीले हतियार र ज्याकेटसहित पक्राउ गरेको थियो ।

सानुभाइविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दा बुधबार जिल्ला अदालत, काठमाडौंमा सुनुवाइ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?