+
+

साउन अन्तिमदेखि किशोरीलाई स्कुलमै गएर एचपीभी खोप दिने तयारी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० साउन ११ गते २०:०२

११ साउन, काठमाडौं । सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने भएको छ ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ‘पाइलट प्रोजेट’ का रुपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।

‘सम्भावित ठाउँको नाम स्वास्थ्य मन्त्रालयलाई पठाएका छौं । हाम्रो तयारी साउनको अन्तिमबाट सुरू गर्ने भन्ने छ’,  डा. गौतमले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘मन्त्रालयबाट निर्णय भएपछि सबै कुराको जानकारी हुनेछ ।’ उनका अनुसार कुनै एक जिल्ला वा दुई–तीन पालिकाका किशोरीलाई दिने योजना छ ।

‘हामीसँग थोरै मात्र खोप भएकाले धेरै ठाउँका किशोरीलाई दिन सकिने अवस्था छैन । करिब ९ हजार किशोरी लाभान्वित हुनेगरी केही पालिका वा जिल्ला हेरेर एचपीभी खोप दिन सक्छौ’ डा. गौतम भन्छन् ।

किन ढिलाइ ?

अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभीविरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभीविरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो । तर, एक महिनासम्म खोप भण्डारण केन्द्रमा थन्किएर बसेको छ ।

डा. गौतमका अनुसार खोप लगाउन ढिलाइ हुनुका दुई कारण छन् ।

पहिलो पटक ‘पाइलट प्रोजेट’ रुपमा सञ्चालन गर्दा सबै कुराको व्यवस्थापन गर्नुपर्ने र हाल बर्खाको मौसम भएकाले तत्काल नै खोप सम्भव नभएको हो ।

एचपीभीविरुद्धको खोप स्कुलमा केन्द्र बनाएर सञ्चालन गरिने छ । स्कुल बाहिर रहेका किशोरीका हकमा भने नियमित खोप सञ्चालन हुने केन्द्रमा दिने योजना छ ।

‘विद्यालयमा किशोरीलाई मात्रै छुट्टै तरिकाले खोप दिएको हामीसँग अनुभव छैन । अहिले थोरै संख्यामा पाइलट प्रोजेटको रूपमा सञ्चालन गर्न लागेका हौ’, डा. गौतम भन्छन्, ‘भोलिका दिनमा बृहत रूपमा खोप अभियान सञ्चालन गर्न यसले सिकाइ प्रदान गर्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार महाशाखाका अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिका १५ लाखको हाराहारीमा छन् । तर, अहिले २० हजार भाइल खोप मात्रै उपलब्ध छ ।

उक्त उमेर समूहका किशोरीलाई यो खोप दुई मात्रा दिनुपर्ने हुन्छ । खेर जाने खोपको सम्भावित अनुमान गर्दा करिब ९ हजार ५ सय किशोरीलाई मात्र दिन सकिने गौतम बताउँछन् ।

नियमित खोपको रुपमा सञ्चालन गर्ने तयारी

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

यसअनुसार पहिलो चरणमा १५ लाख बालिबालिकालाई एचपीभी खोप दिनुपर्छ । त्यसपछि वार्षिक ५ लाख बालिकालाई खोप दिनुपर्ने महाशाखाको अनुमान छ । सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) लाई आग्रह गरेको छ ।

‘गाभीसँग नियमित रुपमा अनुदानका लागि खोप दिन प्रस्ताव राखेका छौं । उनीहरूको निर्णय कुरेर बसेका छौं । अन्य हामीलाई प्राप्त हुन केही समय अझै लाग्ला’, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतम भन्छन् ।

विश्व बजारको अवस्था हेर्ने हो भने यो खोप कम उत्पादन हुने गरेको छ र, महंगो पनि छ । गाभीले पनि उत्पादन कम्पनीसँग किनेर दिने भएकाले केही वर्ष अझै कुर्नुपर्ने उनी बताउँछन् ।

विश्वभर एचपीभीविरुद्धको खोप गार्डसिल, सर्भारिक्स र सेकोलिन गरी तीनवटा कम्पनीले मात्र उत्पादन गर्दै आएका छन् । नेपालमा ल्याइएको खोप सेकोलिन हो । यो दुई डोज लगाएपछि मात्र पूर्ण मानिन्छ ।

डा. गौतमका अनुसार अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभीविरुद्धको खोप आउने आशा राखिएको छ ।

भयावह बन्दै पाठेघरको क्यान्सर

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।

नेपालमा क्यान्सरबाट मृत्यु हुने बिरामीमा सबैभन्दा धेरै पाठेघरको क्यान्सरबाट हुने बढी रहेको मेडिकल अन्कुलोजिष्ट डा. अरुण शाही बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

‘नेपाल महिलामा पाठेघरको मुखको क्यान्सरकाको अवस्था भयावह बन्दै गएको छ । पाठेघरको मुखको क्यान्सरकै कारण २५–३० वर्षका उमेरका महिलालाई गुमाइरहेका छौं’ डा. शाही भन्छन् ।

एचपीभी भाइरसको संक्रमणका कारण ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने गर्छ । तर, पाठेघरको मुखको क्यान्सर अन्य क्यान्सर जस्तो चाँडै पत्ता लाग्दैन । डा. शाहीका अनुसार संक्रमण सुरू भएको १० देखि १५ वर्षपछि मात्रै पाठेघरको मुखको क्यान्सर फैलिन्छ ।

ग्रामीण भेगका महिलामा बढी संक्रमण

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनु आदि रहेका छन् ।

एचपीभी १०० भन्दा बढी प्रकारका हुन्छन् । तर, त्यसले संक्रमण गराए पनि धेरैजसोमा कुनै लक्षण देखिँदैन ।

‘धेरै महिलाले संक्रमण भएको पनि थाहा नपाउन सक्छन् । उपचार नगरिकन पनि उनीहरूको शरीरमा भएको भाइरस मरिसकेको हुन्छ’, डा. शाही भन्छन् ।

विश्वका अधिकांश देशमा महिलामा स्तनको क्यान्सर देखिने गरे पनि नेपालमा भने पाठेघरको मुखको क्यान्सर देखिने गर्छ ।

चिकित्सकको अनुभवमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी ग्रामीण भेगका महिलामा देखिने गरेको छ । परिवार नियोजनका साधनको न्यून प्रयोग र स्वास्थ्य परीक्षणको दायरामा नआउँदा दुर्गम क्षेत्रका महिला बढी प्रभावित हुने गरेको डा. शाही बताउँछन् ।

३० वर्षमाथिका महिला बढी जोखिममा

चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।

‘सुरुवातको संक्रमण हुँदा शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले लड्न सक्छ । तर, पटक–पटक संक्रमण हुँदा यसले असर गर्ने सम्भावना अत्यधिक हुन्छ । जुन संक्रमणले १० वर्षपछि क्यान्सर भएको थाहा हुन्छ,’ डा. शाही भन्छन् ।

धेरै महिलाको २० वर्षकै उमेरमा विवाह हुने र विवाहपछि यौन क्रियाकलापमा संलग्न हुने हुँदा ३०–३५ वर्ष पुग्दानपुग्दै पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहने चिकित्सकहरुको भनाइ छ ।

त्यस्तै एचआईभी नभएका महिलाहरूको तुलनामा एचआईभी भएका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ६ गुणा बढी हुने गर्छ । पाठेघरको मुखको क्यान्सरका अनुमानित केसहरूमध्ये करिब ५ प्रतिशत एचआईभी संक्रमितलाई हुने गरेको पाइएको छ ।

खोपले कसरी बचाउँछ ?

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

डा. शाहीका अनुसार एचपीभी भाइसरबाट बच्ने मुख्य उपाय एचपीभी विरुद्धको खोप नै हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालबालिकामा यौन सम्पर्क भएको हुँदैन । त्यसकारण पनि बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’, डा. शाही भन्छन्, ‘भाइरस प्रवेश गर्नुभन्दा अगाडि खोप लगाउँदा बढी प्रभावकारी हुन्छ ।’

विभिन्न अध्ययनले खोपको प्रभावकारिता ९ वर्षदेखि २६ वर्ष उमेरका महिलालाई बढी हुने देखाएका छन् । चिकित्सकका अनुसार ९ देखि १५ वर्षसम्मका किशोरीले दुई डोज र १५ देखि २६ वर्षका महिलाले तीन डोज लगाउनुपर्छ ।

‘एचपीभी भाइरस धेरै फैलिसकेको छ । त्यसकारण बच्चाहरू यौनक्रियाका लागि सक्रिय हुनुअघि नै दिने लक्ष्य राख्नुपर्छ । महिलालाई अकालको मृत्युबाट बाँच्नका लागि नै खोप अति जरूरी छ’ डा. शाही थप्छन् ।

एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर मात्र नभएर एचपीभीबाट निम्तिन सक्ने अन्य समस्याबाट पनि जोगाउँछ ।

एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जननेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् ।

‘चौथो स्टेजसम्ममा पनि निदान गर्न सकिन्छ’

कुनै पनि क्यान्सर समयमै पहिचान भए र समयमै उपचार गर्न सके निको हुन सक्छ । तर, धेरैजसो बिरामी क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

एचपीभी भाइरसका धेरै प्रकारहरू छन् । त्यसमध्ये सबैभन्दा ‘उच्च जोखिम’ जेनोटाइप (एचपीभी १६ र १८) ले पाठेघरको मुखको क्यान्सर गराउने क्षमता राख्छ । नेपालमा भने जेनोटाइप एचपीभी १६ ले महिलामा पाठेघरको मुखको क्यान्सर गराउने गरेको छ । नेपालमा आएको खोप एचपीभीको भेरियन्ट १६ र १८ विरुद्धको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनुपर्ने हुन्छ ।

डा. शाहीका अनुसार पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेको महिलाको समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् । तर, धेरै महिला अन्तिम स्टेजमा मात्रै अस्पताल पुग्छन्, जतिबेला पाठेघरको मुखको क्यान्सर फैलिसकेको हुन्छ र, अन्तिम विकल्प रेडियोथेरापी हुन पुग्छ ।

विज्ञका अनुसार एचपीभी भाइरसबाट जोगाउनका लागि ९ देखि १५ वर्षका ९० प्रतिशत बालबालिकालाई खोप लगाउन जरूरी हुन्छ । त्यसपछि २१ देखि ६५ वर्षका महिलालाई स्क्रिनिङ गर्न आवश्यक हुन्छ ।

‘स्क्रिनिङको माध्यमबाट पनि सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । त्यसका लागि भीआईएलाई टेष्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गर्न सकिन्छ’, डा. शाही भन्छन्, ‘अन्य क्यान्सर चौथो तहसम्म पुग्दा उपचार नलाग्ने हुनसक्छ । तर, पाठेघरको मुखको क्यान्सरको चौथो स्टेजमा हुँदा पनि निदान गर्न सकिन्छ ।’

पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी नेपाली महिलामा देखिने स्वास्थ्यसम्बन्धी समस्यामध्ये एक भएकाले सरकारले खोप, स्क्रिनिङबारे जनचेतना फैलाउनुपर्ने डा. शाहीको भनाइ छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?