+
+

हाम्रो पुस्ता नेतृत्व फेर्नै अल्मलियौं, अब युवाले सुधार गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:५५

१२ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अल्मलिएको बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जञ्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याएका हुन् ।

उनले भने, ‘ हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं ।’

‘योङ प्रोफेशनल फेलोसिप नेपाल-२०२३’ ले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए ।

‘हामीले निरंकुशताका अनेक जन्जालहरुलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं,’ उनले भने, ‘यसकारण यो रुमलिएकोलाई युवाहरुले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरुको काँधमा छ । यहाँहरुले भविष्यमा नेतृत्व गर्नुहोस् ।’

नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुव्यर्सन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको सिको गर्दै हुने अपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल रहेको समेत बताए ।

उनले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘विश्वको एउटा कुनामा भएको सकारात्मक र नकारात्मक प्रभाव अर्को कुना तत्क्षण पर्दछ । तसर्थ आजको नवयुवाहरुमा विश्वको कुनैपनि भूभागमा हुने नकारात्मक कार्यको प्रभाव नपरोस् भन्ने कुरामा हामी सचेत हुन जरुरी छ ।

खासगरी लागू पदार्थलगायतका दुव्यर्सन, सामाजिक सञ्जाल र सञ्चार माध्यामबाट सिको गर्दै हुने अपराधिक गतिविधि र मावनता र प्रकृतिबिरोधी क्रियाकलापहरुबाट मुक्त, सुसंस्कृतियुक्त सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल हो भन्ने मलाई लाग्दछ । आजका युवाहरु भोलीको नेतृत्वकर्ता हुन ।

उनीहरुलाई आवश्यक स्रोत, साधन, अवसर र मार्गदर्शन प्रदान गर्नु हाम्रो दायित्व हो । सोही बमोजिम राष्ट्रिय सभाको अध्यक्षको हैसियतले मैले पहलकदमी लिँदै आएको र भविष्यमा समेत युवा पुस्ताको विकासको सवालमा थप क्रियाशील हुने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

युवाहरु हाम्रा यस प्रयासका लाभग्राही मात्र नभई परिवर्तनका सक्रिय संवाहक हुन् भन्ने विश्वास ममा दृढ छ । उनीहरुको ऊर्जा, विचार र अनुरागसँग हाम्रो समाज परिवर्तनको शक्ति रहेको हुन्छ । हामीले चाहेको परिवर्तनको प्रारम्भ हामी आफैंबाट सम्भव छ । उमेर र ओहोदाको बाबजुत हामी प्रत्येकसँग रुपान्तरणको उत्प्रेरक हुने सामथ्र्य छ । विश्वले चाहेको परिवर्तनको संवाहक बन्न यस कार्यक्रम कोशेढुंगा सावित रहनेछ भन्ने मेरो विश्वास छ ।’

अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?