
नेपाल बन्दको दिन थियो। सडक, यातायात, पसल, काम-धाम, दाम सबै बन्द थिए। दुई भरिया, रणबहादुर र वीरबहादुर, भद्रकाली मन्दिर अगाडि थचक्क भुइँमा बसेर गन्थन गरिरहेका थिए।
वीरबहादुर भन्दै थियो, ‘चहलपहल भए, गाडीहरू गुडे पो काम पाइन्थ्यो। कामै नभएसी साह्रै गाह्रो के यो समय काट्न! धन्न, गुनासाका पोकाहरू छन् र, फुकाइयाछ, बसिएछ! गुनासै हुन्थेनन् भने कसरी बाँच्दा होलान् है मान्छेहरू?’
‘त्यही त है! यस्तो तालले आज नि केही कमाई होला जस्तो छैन!’— रणबहादुरले लामो उच्छ्वास सहित लगाएको टोपी शीरबाट झिकेर घुँडामा राख्दै भन्यो।
‘त्यही त! मेरो त भोकले पेटै हुँडल्न थालिसक्यो भन्या!’—वीर बहादुरले ओडारझैं भित्र पसेको पेट मुसार्दै भन्यो।
‘भोक त मलाई नि लागेको छ नि, तर के गर्नु, ढेवा मरू!’—रणबहादुरले मन्दिरभित्र चढाइएका ढुसी लागेका सिक्का-पैसातिर हेर्दै भन्यो।
एकछिनपछि रणबहादुर फेरि बोल्यो—’पेट भर्ने भए मसँग एउटा जुक्ति छ! मान्छस्? विश्वास गर्छस् नि मलाई?’
‘भोको पेट भरिन्छ भने किन नमान्नु!’—एक्कासी उज्यालिएको अनुहारसहित वीरबहादुरले भन्यो।
‘उसो भए मेरो पछिपछि आइज् है त?’—बसेको ठाँउबाट उठ्दै रणबहादुरले भन्यो। वीरबहादुर उसको पछिपछि लाग्यो।
१५ मिनेट लुखुरलुखर हिँडदा पनि केही नदेखेपछि वीरबहादुर झोक्कियो। भन्यो—’कहाँ लान लाइस् ए?’
‘पख् न, अब आइपुग्न लाग्यो!’
केहीबेर हिँडेपछि रणबहादुरले चौरीऔंलाले देखाएर भन्यो—’हामी उऽऽ त्याँ जाने हो, बुझिस्?’
‘त्यो त रक्तदान केन्द्र जस्तो पो छ त?’— एकैछिन रणबहादुरले देखाएकोतिर हेरेपछि अचम्म मान्दै वीरबहादुरले सोध्यो।
‘त्यहीँ त जाने हो नि! आज रगत दिने, फलफूल र जुसले भोक टार्ने हो। तँ रगत दिन तयार छस् नि?’
वीर बहादुरले एकपटक आफूलाई राम्रोसँग नियाल्यो, र भन्यो—’के हामी जस्ता मैला र झुत्रा बूढाहरूको रगत तिनीहरूले लेलान् र? त्यही पनि हामी जस्ताको रगत कसलाई पो काम लाग्ला र खै?’
‘लिने-नलिने त उनीहरूको कुरा भयो। त्यही नि पेट भर्ने यो भन्दा राम्रो उपाय छ तँसँग? छ भने भन्?’—रणबहादुरले खार्यो ।
निरुपाय वीरबहादुरले एक पटक फेरि रक्तदान केन्द्रतिर पुलुक्क हेर्यो र लुसुक्क लाइनमा गएर उभियो। रणबहादुर पछाडि उभ्भिएर मुसुमुसु हाँसिरहेको थियो।
ठीक त्यति नै बेला, पृष्ठभूमिमा कसैको रेडियोमा केही दिनअघि टुँडिखेलमा हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिको समाचार बजिरहेको थियो।
पोखरा-६, बैदाम
हाल क्यानबेरा, अष्ट्रेलिया
प्रतिक्रिया 4