+
+

सूचीकृत कम्पनीको सञ्चालकले सेयर बेच्न नपाउने व्यवस्था अव्यवहारिक : चेम्बर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १५:१२

१४ साउन, काठमाडौं । नेपाल चम्बर आफ कमर्स (चेम्बर)ले सूचीकृत कम्पनीको सञ्चालकले पदमा बहाल रहँदा वा हटेको १ वर्षसम्म सेयर बेच्न नपाउने व्यवस्ता अव्यवहारिक भएको बताएको छ ।

चेम्बरले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाउँदै सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

सञ्चालकमा बहाल हुँदा वा सञ्चालकबाट हटेको एक वर्ष नपुग्दै सेयर बेचेपछि ऊर्जा वयवसायी ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेमाथि अनुसन्धान गर्दै नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवम् संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था व्यवसाय अनुकूल छैन,’ चेम्बरले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

कुनैपनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितीमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरको तर्क छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने दाबी गरे ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समयमा बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले माग गरेको छ । बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको दाबी छ ।

आफूसँग भएको सेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

चेम्बरको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षण प्रति आफू सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?