
१५ साउन, पोखरा । फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि पोखरा महानगरपालिकाले माइकिङ गरेर सडकमा फोहोर नफाल्न आग्रह गरेको छ ।
फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न भन्दै महानगर प्रहरीले फोहोर सडकमा फाले कानुनी कारबाही गर्ने चेतावनी माइकिङमार्फत दिएको छ ।
अस्थायी ल्यान्डफिल साइटका बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न सकेको छैन । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर विसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयबासिन्दाले बुधबारबाट फोहोर फाल्न रोक लगाएका हुन् ।
शनिबार रातिको भारी वर्षाले बाटोमा फ्याँकिएका सबै फोहोर बगाएर दुर्गन्धित बनाएको थियो । फोहोर व्यवस्थापन नगरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि महानगरले आइतबार मुख्य बजार क्षेत्रका सडकमा फालिएका ४ गाडी फोहोर संकलन गरेको थियो ।
संकलित फोहोर भने ल्यान्डफिल साइट पुर्याइएको छैन । स्थानीयबासिन्दाले अवरोध जारी राखेकाले हाललाई संकलित फोहोर गाडीमै राखेर दमकल शाखाको परिसरमा राखिएको महानगरले जनाएको छ । फोहोर कहिलेसम्म गाडीमै रहने हो त्यसको टुंगो छैन ।
महानगर सरसफाइ शाखा प्रमुख कल्पना बराल आफूहरु स्थानीयसँग छलफलमै रहेको जानकारी दिइन् । उनले केही विषय टुंगिन बाँकी रहेको र उक्त विवाद साम्य भएपछि फोहोर ल्यान्डफिल साइट पुग्ने बताइन् ।
पोखरा महानगरले पोखरा ३२, लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।
तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।
स्थानीयले बनाए संघर्ष समिति, अदालतमा रिट
पोखरा ३२, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयले फोहोर फाल्न नदिन संघर्ष समिति बनाएका छन् । स्थानीय इच्छा गुरुङको नेतृत्वमा संघर्ष समिति बनाएर उनीहरुले फोहोर फाल्न नदिने बताएका छन् ।
समितिका संयोजक इच्छाबहादुर गुरुङले घना बस्तीको बीचमा फोहोर फाल्दा दुर्गन्ध फैलिएको र रोगव्याधी देखिन थालेकाले अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने निर्णय भएको जानकारी दिए ।
सम्झौता अवधि सकिँदासम्म निन्तर फोहोर फालिरहेको र फोहोर फाल्ने काम तत्काल रोक्न स्थानीयले महानगरविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । स्थानीय रविन केसी, तिथेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले बिहीबार उच्चमा रिट दायर गर्दै लामे आहालको खाल्टोमा कुनै फोहोर विसर्जन नगर्नु भन्दै अन्तरिम आदेश माग गरेका हुन् ।
रिटमा उनीहरूले फोहोर विसर्जन गर्दा फैलिएको दुर्गन्धले बस्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन् । ‘श्वासप्रश्वासनको रोगदेखि लिएर हैजाजस्तो संक्रामक रोगले यहाँका बासिन्दा पीडित भएका छन्, विद्यालयमा समेत फोहोरको दुर्गन्धले विद्यार्थीको संख्या घटेको छ । घुम्न आउने देशी विदेश पर्यटक शून्य प्रायः भए,’ रिटमा भनिएको छ, ‘यही दुर्गन्धले गर्दा घरपालुवा जनावरमा रोगले आक्रान्त भई मरेका छन् । वन्यजन्तु पशुपंक्षीमा नकरात्मक असर छ । समग्रमा भन्नु पर्दा हाम्रो यो पृथ्वी तलमा रहेको भूस्वर्गजस्तो ठाउँ अहिले नरकमा परिणत भएको छ ।’
रिटमा उनीहरूले महानगरले गरेको सम्झौतापत्र वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ र फोहोर मैला व्यवस्थापन ऐन, २०६८ यसको नियमावलीको विपरीत रहेको उल्लेख गरेका छन् ।
उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ । साउन २१ गते सम्मको म्याद दिएर अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।
मेयर धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।
तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।
प्रतिक्रिया 4