
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिंदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतीमा पानी पुर्याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सकिने उनको भनाइ थियो ।
जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतीमा पुर्याउने काम भइरहे पनि असार पछि रोकिंदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ ध्यान नपुगेको उनले गुनासो गरे ।
बाटो नै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिंड्दाहिंड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तीव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए ।
चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दै पौडेलले तत्काल सडकमा राखिएको ढल व्यवस्थापन गर्न माग गरे । ढल बग्ने गरी ‘खाल्डो खनेर ह्युम पाइप अस्थायी रुपमा राख्ने व्यवस्थापन तत्काल गरियोस्’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । ‘
प्रतिक्रिया 4