+
+

कोशीका मुख्यमन्त्रीको प्रतिप्रश्न : बहुमत पुगेकै छ, विश्वासको मत पाउनेमा शंका छ र ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १८:२१

१६ साउन, विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले सत्तारुढ गठबन्धनमा छलफल गरेर उपयुक्त समयमा विश्वासको मत लिने बताएका छन् ।

मंगलबार मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनसँग प्रदेशसभाको बहुमत संख्या रहेकाले विश्वासको मत पाउने दाबी गरे ।

‘संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र लिने हो, हाम्रो सरसल्लाह हुन्छ, छलफल गर्छौं उपयुक्त समय निश्चित गरेर विश्वासको मत लिन्छौं’, उनले भने ।

थापाले मंगलबार नै प्रदेशसभाका ९३ मध्ये ४७ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनले कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ जनाको समर्थन जुटाएका थिए । त्यसका लागि सभामुख रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले मंगलबार नै राजीनामा दिएका थिए ।

विश्वासको मत पाउने सम्भावना छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री थापाले प्रतिप्रश्न गरे, ‘गठबन्धनमा बहुमत पुगेकै छ, यसमा कुनै शंका छ र ?’

९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन अनिवार्य चाहिने अवस्थामा सत्तापक्षकै कुनै प्रदेशसभा सदस्यले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने आशंका पनि गरिएको छ ।

हाल उपसभामुख एमालेकी सिर्जना दनुवार रहेकी छन् । उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका गयानन्द मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ ।

उपसभामुखको राजीनामासम्बन्धी प्रश्नमा मुख्यमन्त्री थापाले भने, ‘आएपछि सोचौला नि, उहाँको राजीनामाको परिकल्पना हामीले गर्ने होइन नि ?’

मुख्यमन्त्री थापाले आफ्नो सरकार ४ वर्षसम्म चल्ने पनि दाबी गरे । विश्वासको मत लिन कठिन रहेको अवस्थामा कतिपयले ३० दिनको सरकारका लागि सभामुखलाई राजीनामा गरायो भनेर टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा थापाले भने, ‘कहाँ ३० दिनको ? यो सरकार ४ वर्षका लागि हो ।’

प्रदेशसभाको अंकगणितका कोशीको राजनीति यो कार्यकालमा सहज नभएको पनि थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?