
घरमा पानी चुहिनु र भित्ता रसाउने समस्या वर्षायाममा धेरै देखिन्छ । लगातार वर्षा हुँदा कौसीमा पानी जम्दा, जस्तापाता भएकझ छानो भए प्वाल परेर, भित्ता चर्किएर, पाइपमा प्वाल परेर घरभित्र पानी पस्न सक्छ ।
यस्तो हुँदा सफा गर्ने, कौसी वा जस्तापातामा भएको प्वाल टाल्ने, पाइप प्वाल परेमा प्लास्टिक वा कपडा कोच्ने गरिन्छ, तर यो अस्थायी मात्रै हुन्छ । यसको दीर्घकालीन समस्या के हुन्छ भनेर धेरै जना घोत्लिरहेका हुन्छन् । यसका लागि केही यस्ता सामग्री छन्, जसको प्रयोग गर्दा घरमा पानी चुहिने समस्याको समाधान हुन्छ ।
ड्याम्प प्रुफिङ स्लेरी : यस्तो समस्या हुन नदिन घरको फिनिसिङ गर्ने बेला प्लास्टर गर्ने डयाम्प प्रुफिङ स्लेरी प्रयोग गर्न सकिन्छ । प्लास्टर गरेको भित्ता दुईचोटि लगाएपछि पुटिङ हालेर कलर लगाउँदा पानी चुहिने वा चर्किने समस्याबाट मुक्त गराउँछ । भित्ता, भुईं, सिलिङ र कौसीमा गर्न सकिन्छ । घरको भित्र कलर लगाउनुअघि गर्नुपर्छ ।
हाइड्रो लक : घरको कुनै भित्ता घाम नलाग्ने ठाउँमा छ र चिसो वा ओसिलो सम्भावना हुन्छ भने यस्तो ठाउँमा प्लास्टर वा कलर लगाउँदा केही समयमा उप्किने र पानी चुहिने जोखिम हुन्छ । भित्तामा प्लास्टर गरिसकेपछि भित्तामा रंगरोगन गर्न अगाडि त्यसमा हाइड्रो लक दुईचोटि र त्यसमाथि पुटिङ दुईचोटि लगाएर अन्तिममा कलर गर्दा भित्ता चर्किने वा कलर उप्किने समस्याबाट मुक्ति दिन्छ ।
वाटर प्रुफिङ कंक्रिट : यो एकप्रकारको सिमेन्ट हो । यसमा पानी मिसाएर मज्जाले घोल्ने र त्यसपछि खस्रो प्लास्टर गरिसकेको भित्तामा लगाउन सकिन्छ । प्राय: बाथरुम, ट्वालेट र सिलिङको भित्ता र भुईंमा लगाउन सकिन्छ ।
वाल फेम वा वाल प्यानल : भित्तामा प्लास्टर गरिसकेपछि वाल फेम वा वाल प्यानल लगाइन्छ । यो नयाँ वा पुरानो दुवै घरको भित्तामा प्रयोग गर्न सकिन्छ । यसमा लगाउने ग्लु छुट्टै हुन्छ । प्लास्टर गरेको भित्तामा वा चर्किएको भित्तामा ग्लु लगाएर टाँस्दा यसले भित्ताबाट पानी लिकेज हुने वा भित्ता ओसिने समस्याबाट जोगाउनुका साथै आकर्षक लुक पनि दिन्छ । यो विभिन्न प्रिन्ट र डिजाइनमा पाइन्छ ।
एन्टिलिकेज स्पे : माथिका चारवटामध्ये सबैभन्दा सजिलो सामान हो यो एन्टिलिकेज स्पे । फिनिसिङ भइसकेपछि घरमा भित्ता चर्किएर पानी चुहिएको वा प्वाल भएर पानी चुहिएको ठाउँमा सफा गरेर स्प्रे गर्दा पानी लिकेज बन्द गर्छ । यो घरमा आफैं प्रयोग गर्न सकिन्छ ।
इन्भिजिवल वाटर प्रुफिङ : फुटेको, चर्केको, छतबाट पानी चुहिने ठाउँमा ब्रसको सहायताले इनभिजिवल वाटर प्रुफिङ लगाउन सकिन्छ । यो ग्लुजस्तै सेतो खालको हुन्छ । यसबाहेक ड्रम, पाइप प्वाल परेमा यसले टाल्न सकिन्छ । यसलाई एन्टिलिकेज एजेन्ट र क्रयाक हिल वेलफिक्स एजेन्ट पनि भनिन्छ ।
वाटर प्रुफिङ टेप : यदि भित्तामा वा कौसीमा सानो प्वाल भएमा यो टेप लगाउन सकिन्छ । तर यो पूरै भित्ता चर्केर परेको छ वा जस्तापाता धेरै ग्याप छ भने यो उपयुक्त हुँदैन । यो पाइप र ट्यांकी टाल्नका लागि उपयुक्त हुन्छ ।
(लेबा भक्तपुरको कमलविनायक चोखातेस्थित श्री गणेश कलर सप्लायर्सका सञ्चालक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4