
काठमाडौं । गायक शिव परियारले आफ्नो नाममा फेक आइडी बनाएर लाइभ गरेको पाइएको भन्दै ठगी धन्दाको पछाडि नलाग्न आग्रह गरेका छन् । आफ्नो नाम र पुरानो लाइभको भिडियो दुरुपयोग भएको भन्दै उनले सतर्क रहन फ्यानलाई सचेत तुल्याएका छन् ।
उनले भेरिफाइड एकाउन्टमा मात्र विश्वास गर्न भनेका छन् । फेसबुकमा बिहीबार आधिकारिक विज्ञप्ति जारी गर्दै उनले कलाकारको भिडियो दुरुपयोग गरेर ‘स्क्याम’ गरिएको जनाएका छन् ।
पछिल्लो केही दिनयता शिवको नाममा खोलिएका केही नक्कली फेसबुक आइडीबाट लाइभ गर्ने क्रम चलेको छ । भिडियोको एकातिर पैसाको बिटो राखिएको देखाइएको छ भने अर्कोतिर शिव बोल्दै गरेको देखिन्छ । यो भिडियो पुरानो भएको र दुरुपयोग भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनका पुराना लाइभ भिडिओ ब्लेन्ड गरी वास्तविक लाइभ जस्तो देखिने गरी सामान्य फेसबुक प्रयोगकर्तालाई ठग्ने कार्य भइरहेको देखिएको छ । शिवले विज्ञप्तिमा भनेका छन्, ‘यस किसिमका गतिविधिमा मेरो पुरानो लाइभ भिडियो प्रयोग गरेको कुरामा घोर विरोध र भर्त्सना गर्दछु । ठगहरू हो, यो कार्य तुरुन्त बन्द गर, अन्यथा कानुनी बाटो रोज्न बाध्य हुनेछु ।’
आफ्ना फ्यानलाई सम्बोधन गर्दै उनले आँखा चिम्लिएर ठगी धन्दाको पछि हातपाउ फालेर नदौडन र नक्कली वा सक्कली एकाउन्ट के हो बुझ्न आग्रह गरेका छन् । फेरि पनि यस्तै प्रकृतिका लाइभ भिडियो आए त्यस्तो फेसबुक अकाउन्टलाई बन्द गर्न रिपोर्ट गर्नुहोस्, सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु,’ शिवले भनेका छन् ।
अर्का गायक हेमन्त शर्माको कमेन्टको रिप्लाई दिंदै शिवले यस कार्यमा गिरोह नै सक्रिय रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4