१८ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ ।
श्रीलंकामा रहँदा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल खेल्यो भने त्यसपछिको श्रीलंकाली टोलीसँग ४ वटा अभ्यास खेल पनि खेल्यो ।
नेपालको राष्ट्रिय क्रिकेट टिमले भारत ए र पाकिस्तान ए सँग खेल्यो । यूएईसँगको खेल जितेको नेपालले यी दुवै टिमसँगको खेल हारे पनि यी खेल सिक्ने अवसर बनेको छ । भारत र पाकिस्तान दुवै टेष्ट खेल्ने राष्ट्र हुन् ।
‘युवा खेलाडीले राम्रो एक्सपोजर पाए । राम्रो बलिङ र तथा ब्याटिङ युनिटसँग खेल्ने अनुभव भयो,’ नेपालका कप्तान रोहितकुमार पौडेलले पत्रकारसित अनुभव बाँडे ।
नेपालले अबको एक महिनापछि एसिया कप खेल्दैछ । अगष्ट ३० (भदौ १३) नेपालले पाकिस्तानसँग उसकै भूमिमा खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले श्रीलंकामा गएर भारतसित अर्को खेल खेल्ने छ ।
यी खेलमा अहिलेको भ्रमणको सिकाइ उपयोग गर्ने योजनामा छन् कप्तान पौडेल । ‘अहिलेको अनुभव एसिया कपमा उपयोगी हुने छ,’ उनले सुनाए ।
निक्कै उच्च लयका साथ आईसीसी विश्वकप लिग टु का १२ खेलमा ११ जित निकालेको नेपालले त्यस लगत्तै भएको एसीसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनाएको हो ।
एसिया कपमा पनि लिग टू र प्रिमियर कपकै जस्तो प्रदर्शनको आशा नेपाली क्रिकेटका समर्थकले राखेका छन् । समर्थकले अपेक्षा राख्नु जायज भए पनि त्यो अपेक्षा व्यावहारिक नभएको कप्तान रोहित बताउँछन् ।
‘एक महिनामा कोही खेलाडी विराट कोहली र बाबर आजम हुँदैन । हामी ठूला टिमसँग खेल्दै विस्तारै सिक्दै छौं’, उनले भने, ‘एशोसियट क्रिकेट र टेष्ट राष्ट्र फरक स्तर हो हामीले एशोसियटमा जितिरहेका छौं भन्दैमा टेष्ट राष्ट्रसँग पनि गएर जितिन्छ नै भन्ने छैन ।’
कुनै बेला नेपालकै जस्तो स्तरमा रहेको अफगानिस्तानले एशोसियट टिमहरुलाई हराउँदै आफ्नो स्तर सुधारेर टेष्ट मान्यता पाएको थियो ।
रोहितले अफगानिस्तान क्रिकेट टिमको उदाहरण दिँदै भने, ‘अफगानस्तानलाई हेर्दा हुन्छ । उनीहरु पनि विस्तारै अघि बढेका हुन् । हामी आश गरिरहेका छौं कि जाने वित्तिकै सबै टिमहरुलाई जित्छौं तर त्यो व्यावहारिक हुँदैन ।’
टेष्ट राष्ट्रसँग खेल्न एशोसियट राष्ट्रको अनुभव पर्याप्त नहुने उनी बताउँछन् ।
एसिया कपको तयारी
नेपाली टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप पछि गरेको हाइ पर्फमेन्स क्याम्प एसिया कपकै तयारीमा केन्द्रीत थियो ।
क्याम्पमा टिममा मुख्य दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने थिएनन् । उनीहरुले क्यानडामा टी–२० लिग खेलिरहेका छन् ।
इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीमा नपरेका करण केसी र आरिफ शेख भने क्याम्पकै लागि श्रीलंका गएका थिए ।
हाइपर्फमेन्स क्याम्पमा विशेषत ब्याटिङमा ध्यान दिएको कप्तान रोहितले बताए । ‘हामीले हाइपर्फमेन्स क्याम्पमा विशेषतः ब्याटिङलाई स्टेपअप गर्न सिक्यौं ।’
एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यसअघि जिम्बाब्बेमा भएको विश्वकपमा नेपाली ब्याटरले सर्ट बल खेल्न सकेका थिएनन् । त्यसैले क्याम्पमा सर्ट बल खेल्न पनि उनीहरुले सिकेका छन् ।
‘सर्ट बल फेस गर्न सिक्यौं’, उनले भने, ‘१०/१२ वटा वर्क गर्यौं । आशा छ अब राम्रो हुन्छ ।’
एशोसियट राष्ट्रका बलरले १२५ देखि १३० स्पिडको बल राम्रोसँग फेस गर्न सके पनि टेष्ट राष्ट्रका बलरले फाल्ने १४/१५० को बल फेस गर्न सक्दैनन् । जुन समस्या नेपाली ब्याटरमा पनि छ ।
यो समस्या र बलिङको केही समस्या पनि सुधार भएको भन्दै रोहितले भने, ‘समग्रमा यो टुर राम्रो भयो । राम्रो बलरहरुसँग अभ्यास गर्न पायौं । युुवा खेलाडीले सिक्ने मौका पाए ।’
प्रतिक्रिया 4