
१९ साउन, काठमाडौं । नेपालमा संगठित रूपमा भइरहेको सुन तस्करीको सूचना राजस्व अनुसन्धान विभागले ५ महिना अघि नै पाएको तर कारबाही नगरेको खुलेको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा खुलेका प्रमाण र उतिबेला विभागमा प्राप्त सूचनालाई केलाएर हेर्दा सुन तस्करीमा संलग्नहरूबारे बेलैमा सूचना भए पनि विभागको हेलचेक्र्याइँका कारण तस्कर समूहले ठूलो परिमाणमा सुन तस्करी गर्न सफल भएको विभागले जनाएको छ ।
सुन तस्करीको प्रकृति र तस्करी पोइन्टबारे विभागमा तारन्तार सुराकी आउँदा विभागको नेतृत्वमा सहसचिव नारायणप्रसाद सापकोटा थिए । सुनबारे प्राप्त सूचनालाई बेवास्ता गरेर विभागलाई नै निष्क्रिय बनाएपछि सो सूचना प्रधानमन्त्रीसम्म पुगेको स्रोत बताउँछ ।
‘खानेपानी तान्ने मोटर, मिक्स्चर, पावर सर्किट लगायत विद्युतीय उपकरणमा राखेर त्रिभुवन विमानस्थल भन्सारबाट सुन भित्रिन्छ भन्ने सूचना विभागमा थियो’ एक अधिकारी भन्छन्, ‘कैयौं पटक हामीले यसबारे विभाग नेतृत्वलाई जानकारी पनि गराएका थियौं । तर, त्यो बेला विभाग प्यारालाइज्ड जस्तै थियो ।’
सुन तस्करी हुनसक्ने पानीको मोटर सहित विभागमा प्राप्त सूचनाको खोजतलास नहुनु र २ साउनमा बरामद भएको एक क्विन्टल सुन तस्करी केलाउँदै जाँदा बरामद भएको प्रमाणले त्यसलाई पुष्टि गरेको विभागले जनाएको छ ।
साउन १३ गते टोखामा विभागले चलाएको अपरेशनमा फेला परेको उपकरणले यसलाई पुष्टि गरेको विभागका अधिकारीहरूले दाबी गरेका छन् ।
‘विभागलाई जुन खालमा मोटर र वित्तीय उपकरणमा सुन आइरहेको छ भनिएको थियो ती सबै उपकरण टोखामा सुन झिकिएको अवस्थामा फेला परेको छ’, ती अधिकारीले भने । विभागले टोखाको सुन गाल्ने फ्याक्ट्रीको मुचुल्का शुक्रबार भइरहेको छ ।
प्रारम्भिक रूपमा खोलिएका आधा दर्जन बढी बाकसमा फेला परेका विद्युतीय पानी तान्ने मोटर र अन्य उपकरण खोक्रा भेटिएका छन् ।
सुन गाल्ने, सुनका बिस्कुट बनाउनेदेखि विमानस्थल भन्सार भएर आयात भएका सयौं बक्सा सामान भेटिएपछि आफ्नो कार्यालयमा भएको सूचनासँग मेल खाएको विभागको भनाइ छ ।
ती अधिकृतका अनुसार नेपालमा सुन आयातको कोटा घटाइँदा पनि बजारमा माघ धानिरहेको र नेपाल–भारत सीमामा नेपाली रुपैयाँ अवमूल्यन हुनुमा पनि सुन तस्करीको कनेक्सन रहेको भन्दै विभागमा उजुरी आएको थियो ।
प्रधानमन्त्रीसम्मै उजुरी पछि २३ माघमा विभागको नेतृत्व गरेका सापकोटालाई हटाएर १२ असारमा प्रधानमन्त्रीले नवराज ढुंगानालाई विभागको नेतृत्वमा पठाएका थिए । ढुंगानाले कार्यभार सम्हालेको १९औं दिनमा विमानस्थलमा एक सय किलो सुन बरामद भएको थियो ।
विभागलाई विभिन्न प्रकृतिमा सुन भित्रिएको सँगै नेपालमा विद्युतीय चुरोट (भेप) को अस्वाभाविक आयातको पनि सूचना पुगेको थियो । विमानस्थल भन्सार र तातोपानी भन्सार भएर भारततर्फ त्यस्ता भेप लगिने गरेको भन्दै सूचना आएको थियो । तर, राजस्वले एक पटक सामान्य अप्रेशन गरेर त्यसलाई टुंग्याएको अधिकारीहरू बताउँछन् ।
फागुन २०७९ को अन्तिम साता नेपालको भैरहवा भन्सार नाका आसपास हुँदै एक ट्रक विद्युतीय चुरोट (भेप) भारत छिरेको सूचना अर्थ मन्त्रालयमा पुगेको थियो । तातोपानी भन्सार कार्यालयबाट छुटेको भनिएको उक्त ट्रक काठमाडौं हुँदै भैरहवाबाट अवैध रूपमा भारत पसेको बताइएको थियो ।
त्यो सूचना पनि राजस्व अनुसन्धानमा पुगेको थियो । तर, वास्ता नगरिएको सोही सूचनासँग मेल खाने गरी विमानस्थलबाट भित्रिएको भेपमै सुन रहेको घटना वैशाख अन्तिम साता बाहिरियो ।
त्रिभुवन विमानस्थलले १० पुसमा बरामद गरेको उक्त भेप लिलामी प्रक्रियामा रहेको बेला कर्मचारीले बिक्री गरेको खुलेपछि त्यसमा साढे ९ किलो सुन रहेको घटना सार्वजनिक भएको थियो ।
भारतमा भेप प्रतिबन्धित छ । त्यहाँको केन्द्रीय राजस्व चुहावट निकाय डिपार्टमेन्ट अफ रेभेन्युले गत वर्ष मात्रै १ अर्ब ३४ करोड भारु भन्दा धेरैको यस्ता अवैध विद्युतीय चुरोट भेप बरामद गरेको थियो । अहिले भइरहेको एक क्विन्टल सुन तस्करीमा पनि भेपमा ल्याइएको विमानस्थलमा भेटिएको सुनको कनेक्सन देखिएको छ ।
तर, विभागका तत्कालीन प्रमुख नारायणप्रसाद सापकोटाले भने भेपको सूचना मात्रै विभागमा आएको र एक पटक नमूना ल्याएर परीक्षण गर्दा सुन नभेटिएको बताए । उनले अन्य उपायबाट सुन तस्करी भएको भन्ने कुनै सूचना आफूले नसुनेको पनि दाबी गरे ।
‘विद्युतीय सामग्रीमा सुन आएको भन्ने सूचना भएको मलाई जानकारीमा थिएन’ सापकोटाले भने, ‘विमानस्थलमै बसेर सुनको अप्रेशन गर्ने म । यस्तो सूचना भएको भए जसरी पनि सुन पहिल्याएरै छोड्थें ।’ सुन प्रकरणमा अहिले भएको अनुसन्धान ठिक रहेको भन्दै उनले यसैलाई जोडेर विगतलाई हेर्न नहुने पनि बताए ।
तर, त्यस बीचमा बरामद भएको भेप, एक क्विन्टल बरामद भएको सुन आयात गर्ने रेडी ट्रेडर्सको स्थापना र सो कम्पनीले आयात गरेको वस्तुको प्रकृतिले भने विभागको यसअघिको भूमिकामा प्रश्न उठाएको छ ।
प्रतिक्रिया 4