
२१ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।
अनुसन्धान गर्दै जाँदा केही विषय पेचिलो बन्दै गएकाले नेपालको कानुन अनुसार प्रहरीलाई अनुसन्धानको जिम्मा लगाउने निर्णय गरेको बताए ।
‘यो बृहतर विषय भएको र यसको अध्ययन अनुसन्धानमा नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यथार्थपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने महशुस गर्यौं’ उनले भने, ‘तीनवटा निकायहरु बसेर संगठित अपराध अन्तर्गत यसलाई अनुसन्धान गर्ने, राजश्व अनुसन्धान सम्बन्धी केसको बेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य, हिरासतमा लिएका व्यक्तिहरु, अहिलेसम्म बरामद भएका सबुत र प्रमाणहरु समेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौं ।’
२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् । पक्राउ परेकाहरु हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।
सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।
तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4