
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्र डुबानमा परेको हो ।
भक्तपुरको सिद्धि स्मृति अस्पताल समेत जलमग्न छ । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जलसतह घट्दो क्रममा रहेको बताए । अहिलेसम्म अप्रिय घटना नभएको पनि उनले बताए ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पनि अहिले पानीको बहाव घट्दो क्रममा रहेको जानकारी दिइन् । ‘पानीको बहाव कम भएकाले डुबान घट्दो क्रममा छ’, उनले भनिन् । अहिले भक्तपुर नगरपालिकाको जनप्रतिनिधिहरुको टोली डुबान प्रभावित क्षेत्रको अनुगमनमा छ ।
प्रतिक्रिया 4